अवकाशअघि कारबाहीको फैसला

काभ्रे, २१ भदौ । जागिरको समयावधि सकिन केही दिन बाँकी हुँदा सिडिओ रुद्रनाथ बस्यालले कर्मचारी र नेता कुट्ने समूहलाई कारबाहीको फैसला गरेका छन् ।

उनी जिल्लामै रहँदा कारबाही नगर्न राजनीतिक दबाब आएपछि ०६७ साल चैतको घटनामा किटानी उजुरी दर्ता गरिएको अभियुक्तको सार्वजनिक मुद्दा फैसला हुन सकेको थिएन । जिल्ला विकास समितिका योजना अधिकृत मोहन अधिकारी र एमालेका जिल्ला सचिव टोकबहादुर वाइबालाई सडक अनुगमन गर्न गएको मौका छोपी बाटोमा आक्रमण गरिएको थियो ।
आक्रमणमा कांग्रेस महासमिति सदस्य कुन्साङ लामा, कांग्रेसकै नेता रिमबहादुर लामा, एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य तथा वाइसिएल काभ्रेका पूर्व अध्यक्ष ज्वाला भनिने मिमबहादुर तामाङ, एमालेका संगठित सदस्य धनवीर तामाङ, उनीहरुकै समूहका सदस्य कामीसिं लामा, ज्ञानबहादुरको छोरा नाम थाहा नभएको, लामखुट्टे भनिने विनोद न्यौपाने, कुन्साङ लामाको छोरा राजकुमार लामा, ज्ञानबहादुर लामा, सञ्जय लामालगायत १२ जना सहभागी भएका थिए । सिडिओ बस्यालले तत्कालीन समयमा उपस्थित भइ हाजिर गरेका कुन्साङ लामा, सञ्जय तामाङ, मिमबहादुर तामाङ ‘ज्वाला’ र रिमबहादुर लामालाई एकसय ११ रुपियाँ जरिवना तोकेको छन् भने प्रहरीको फरार सूचीमा रहेका अन्य अभियुक्तलाई पाँच हजार रुपियाँ जरिवाना तोकेका छन् ।
प्रहरीले उतिबेला कुन्साङबाहेक अन्य कसैलाई पक्राउ गर्न सकेको थिएन । बुढाखानी गाविसमा निर्माण भइरहेको सडक अनुगमनका लागि गएको राजनीतिक दलसहितको टोली र कर्मचारीमाथि कटुञ्जे गाविसको चौकी डाँडामा आक्रमण गरी घाइते बनाएका थिए ।
अनुगमनमा गएको जिविसको वा १ झ २६२५ नम्बरको गाडीको साँचो विजय लामा, च्याम्बा लामा र गम्भीर लामाले खोसेका थिए । गाडी खोसेलगत्तै उनीहरुले गाडीको चक्कासमेत खोलेका थिए । अर्का दुई गाडीहरु पनि उनीहरुले नै नियन्त्रणमा लिएका थिए । उता कर्मचारी कुटिएको विरोधमा कर्मचारीले आन्दोलन गरी प्रशासनलाई चेतावनी दिएका थिए । केही दलहरुले आफ्ना मान्छे परेको भन्दै बचाउका लागि प्रशासनलाई दबाब दिएका थिए । दलहरुको विरोधका बाबजुत बस्यालले कर्मचारी कुट्नेमाथि कारवाहीको फैसला गरिदिएका छन् । बस्याल १७ भदौबाट अनिवार्य अवकाश भएका छन् ।

प्रतिक्रिया