अझै खुलेन जिल्लाको एक मात्र हल

ताप्लेजुङ : विगतमा सञ्चालित सशस्त्र द्वन्द्वकालमा बन्द भएको जिल्लाको एक मात्र पाथीभरा चलचित्र भवन अझै सञ्चालनमा आउन सकेको छैन । सिनेमा भवन सञ्चालन गर्नेबारे जिल्लाका व्यवसायीले उत्साह देखाएका छैनन् । स्थानीय बासिन्दाले चलचित्र हेर्ने इच्छा पूरा गर्न टेलिभिजनकै भर पर्नुपर्ने बाध्यता छ । ०४८ सालदेखि सुरु भएको पाथीभरा चलचित्र हल ०५६ सालमा बन्द भएको थियो ।
सिनेमा हेर्न आउनेलाई सुरक्षाकर्मीले दु:ख दिएपछि र मानिसहरू सदरमुकाम आउने क्रम घटेपछि हल बन्द गरिएको सञ्चालक अमिर मादेनले बताए । अमिर र शिव मादेनको लगानीमा दुई सय सिट क्षमताको हल सञ्चालन गरिएको थियो । त्योबेला एक सय ९० इन्चको पर्दा राखिएको थियो । ‘अहिले एउटा चलचित्र ल्याउन पाँचदेखि सात लाख रुपियाँसम्म लगानी गर्नुपर्छ, ताप्लेजुङमा एउटा फिल्म पाँच दिन चलाउन पनि गाह्रो हुन्छ, लगानी नउठ्ने भएकाले फेरि सञ्चालनमा नल्याएको हो,’ अमिरले भने । उनका अनुसार लाइसेन्स लिनुपर्ने र महँगो कर तिर्नुपर्ने भएकाले हल सञ्चालन गर्न सकिने अवस्था छैन । त्योबेलाको लगानी पनि बिग्रिएको मादेनले बताए । सुरुआत भएकाले मानिसको चाख बढ्दै थियो, लगानी उठ्ने क्रममा थियो, झ्याप्प बन्द गर्नुपर्दा क्षति भएको उनको गुनासो छ । (सौस)

प्रतिक्रिया