सुनको मूल्य ६० हजार

काठमाडौं, २० भदौ । सुनको मूल्यले मंगलबार नयाँ उचाइ छोएको छ । हरेक दिनजसो नयाँ रेकर्ड कायम गर्दै मंगलबारका लागि नेपाल सुनचाँदी व्यवसायी संघले प्रतितोला ६० हजार रुपियाँ मूल्य तोकेको हो ।
यसअघि गत आइतबार सुन एकैदिन तोलामा नौ सय रुपियाँ बढेर ५९ हजार नौ सय रुपियाँमा कारोबार हँदै नयाँ रेकर्ड बनाएको थियो । सोमबार भने सुन तोलामा एक सय २२ रुपियाँ घटेर कारोबार भएको थियो । गतसाताको सुरुमा केही उकालो लागेको सुनको मूल्य साताको मध्यतिर केही घटबढ भएको थियो । त्यस्तै मंगलबार चाँदीको मूल्य पनि तोलामा दस रुपियाँले बढेर एक हजार एक सय ५४ रुपियाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार एक सय ४५ रुपियाँमा कारोबार भएको थियो ।
पछिल्ला दुई सातायता सुनको भाउ लगातार बढिरहेको छ । अमेरिकी केन्द्रीय बैंकका कारण विश्वबजारमा सुनको मूल्य उकालो लागेको सुन कारोबारमा संलग्न एक व्यवसायीले बताए । त्यसको ठूलो असर चाडपर्वको मुखमा रहेको नेपाली र भारतका निम्नमध्यम वर्गमा परेको छ ।
गतसाता अमेरिकी केन्द्रीय बैंकले अमेरिकी लगानीकर्ताका लागि सहायता प्याकेज ल्याउने अनुमानपछि सुनको मूल्य बढ्न थालेको हो । हालै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भअन्तर्गत ओपन मार्केट कमिटीको बैठक बसेको थियो । बैठकमा निर्णय गत बुधबार मात्रै सार्वजनिक भएका थिए । बैठकले धरमरमा रहेको अमेरिकी अर्थतन्त्रलाई माथि उकास्न आवश्यक सबै कदम चालिने निर्णय गरेको थियो । यसले सुनको बजारलाई माथि उकासिरहेको छ । सो निर्णयपछि केन्द्रीय बैंकको सेप्टेम्बर दोस्रो साता बस्ने बैठकले सहायता प्याकेज घोषणा गर्ने अनुमान गरिएको छ । सोही अनुमानप्रति लगानीकर्ता आशावादी भएका कारण पछिल्ला केही दिनयता सुनलगायत अन्य धातुको मूल्य उच्च दरमा बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १६ सय ९७ अमेरिकी डलरमा कारोबार भएको थियो ।
सहायता प्याकेजका कारण मुद्रास्फिति बढ्न जाने र त्यतिबेला डलरको मूल्य घट्ने हुँदा लगानीकर्ता सुनजस्तो भरपर्दो वस्तुमा लगानी गर्न चाहन्छन् । यस्तोमा सुनको माग बढ्न गई मूल्य पनि बढ्न थाल्छ । विश्वकै ठूलो अर्थतन्त्रका रूपमा रहेको अमेरिकाले सहायता प्याकेज घोषणा गरेपछि त्यसको अनुशरण गर्दे चीनलगायतका मुलुकले पनि सहायता प्याकेज घोषणा गर्ने अपेक्षा गरिएको छ । प्रभावित सबै मुलुकले सहायता प्याकेज घोषणा गर्दा मुद्राको मूल्य घट्ने भएकाले लगानीकर्ताहरू सुनतर्फ केन्द्रित भएको ती व्यवसायीले बताए ।
वित्तीय संटकबाट प्रभावित अर्थतन्त्र माथि उकास्नका लागि अमेरिकी सरकारले जारी गरेको दुई चरणको सहायता प्याकेजका कारण सुनको मूल्य विगत चार वर्षयता दोब्बर भएको छ । पछिल्लो दुई हप्तामा मात्रै सुनको मूल्यमा प्रतिऔँस एक सय डलरले वृद्धि भएको छ ।
यता, युरोजोनको समस्या झनै गहिरिँदै समग्र क्षेत्र नै सुस्तताको मारमा पर्ने अनुमान भइरहेका कारण लगानीकर्ता तुलनात्मक रूपमा भरपर्दा मानिने सुन खरिदतर्फ आकर्षित भएका हुन् । कमजोर बन्दै गएको अर्थतन्त्रलाई उकास्न आवश्यक कदम चाल्ने क्षमता युरोजोन राष्ट्रसँग नभएका कारण समग्र क्षेत्र नै सुस्तताको सिकार हुने अनुमान गर्न थालिएको हो ।
नेपालको सन्दर्भमा भने अमेरिकी डलरसँग नेपाली मुद्रामा देखिएको अवमूल्यनका कारण पनि सुनको मूल्य बढिरहेको हो । यसैगरी भारत, पाकिस्तान, नेपाललगायत केही एसियाली मुलुकहरूमा विवाह तथा चाडपर्वको मौसम सुरु हुन लागेका कारण माग बढेको छ । विश्वमा चीनपछि सुन धेरै खपत गर्ने भारत ठूलो देश हो । चीनमा व्यापारिक प्रयोजनका लागि सुन किनबेच हुने गरेपछि भारत लगायतका दक्षिण एसियामा सुनको ठूलो हिस्सा गरगहनालगायत घरायसी कामका लागि प्रयोगमा हुन्छ । यस्तोबेला भारतबाट माग बढ्नासाथ त्यसको असर पूरै विश्वमा पर्छ ।

प्रतिक्रिया