बीस वर्षदेखि बलेवा विमानस्थल बन्द

बाग्लुङ, २० भदौ । ०४८ सालदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थाल अझै पनि सुचारु भएको छैन । सो विमानस्थाल सञ्चालनमा ल्याउने भन्दै गत २० पुसमा नेपाल वायु सेवा निगमको नौ एन एबिएक्स टुइनटर विमान लिएर शिक्षामन्त्री दीनानाथ शर्मा र तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट विमानस्थलमा उत्रिएपछि स्थानीय बासिन्दामा छाएको खुसीले निरन्तरता पाउन सकेन ।

यो विमानस्थाल ०२२ मा निर्माण भएर सञ्चालनमा आएको थियो । पोखरा–बाग्लुङ जोड्ने राजमार्ग सञ्चालनमा आएपछि बलेवा विमानस्थल सञ्चालनमा आउन नसकेको हो । बन्द विमानस्थल सञ्चालन ल्याउन धेरैपटक पहल गरियो । विमानस्थलनमा नियमित उडान सञ्चालनका लागि सरकारी तवरबाट पटकपटक आश्वासन आउने गरे पनि सञ्चालनमा आउन सकेको छैन ।
योभन्दा अघि पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारका पर्यटनमन्त्री हिसिला यमीले पनि बाग्लुङमा आएर जसरी पनि विमानस्थल सञ्चालन गरेरै छाड्ने प्रतिबद्धता जनाएकी थिइन् । बलेवा बिमानस्थल पुगेका मन्त्रीद्वयले विमानस्थलको नियमित सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए । त्यतिखेर विष्टले साताको दुई दिन नियमित उडान गराउने आश्वासन पनि दिएका थिए । तर, अझसम्म पनि कार्यान्वयन भएको छैन ।
विमानस्थल सञ्चालनका लागि गत वर्ष मात्रै नागरिक उड्डयन प्राधिकरणले २५ लाखको लागतमा धावन मार्ग तथा रिपिटर टावरको मर्मतसुधार गरेको थियो । नियमित उडानका लागि सरकारी कोषबाट लाखाँै रुपियाँ खर्च गरिए पनि प्राधिकरणले उडान भर्न सकिरहेको छैन । सरकार परिवर्तनसँगै परिवर्तन हुने पर्यटनमन्त्रीबाट विमानस्थल सञ्चालनका लागि आश्वासन मात्रै आउने गरेको छ । सोही कारण बाग्लुङबासी निराश बनिरहेका छन् ।
पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आउनुपूर्व धौलागिरि अञ्चलबासीको आवातजावत गर्ने माध्यम यही विमानस्थल थियो । वर्षौंसम्म विमानस्थल बन्द हुँदा धावनमार्ग, रिपिटर टावरलगायत अन्य भौतिक संरचना पनि जीर्ण बन्दै जान थालेका छन् । नारायणस्थान गाविसमा पर्ने बलेवा विमानस्थल सञ्चालनमा ल्याउन यहाँका सरोकारवालाले पटकपटक माग गरे पनि सरकारले कुनै सुनुवाइ नगरेको बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए । ‘धौलागिरि अञ्चलको पर्यटकीय विकासका लागि बलेवा विमानस्थल सञ्चालनमा ल्याउनैपर्छ’
अध्यक्ष श्रेष्ठले भने, विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन भई अर्थतन्त्रमा ठूलो टेवा पुग्छ । पोखराबाट १३ मिनेटको उडानपछि पुगिने बलेवा विमानस्थलमा पहाडी उडानका लागि महत्त्वपूर्ण गन्तव्य मानिएको छ ।
बाग्लुङ सदरमुकामदेखि १० किलोमिटर मोटरबाटोको दुरीमा रहेको सो विमानस्थल सञ्चालनमा आए धौलागिरि अञ्चलका चारै जिल्ला तथा पश्चिमका रोल्पा रुकुम, प्युठान र गुल्मी जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् । प्राधिकरणले विमानस्थलसम्म जाने मोटरबाटो पक्की नभएसम्म नियमित उडान भर्न समस्या हुने बताउँदै आएको छ । विमानस्थलसम्म मोटरबाटो स्तरोन्नति गर्न पनि हालसम्म कसैले चासो दिएका छैनन् । विमानस्थल सञ्चालनका लागि यहाँका उद्योगीव्यवसायी, नागरिक समाज तथा अन्य सरोकारवालाले दबाब दिइरहेका छन् । केही दिनअघि मात्र बाग्लुङ उद्योग वाणिज्य संघले विमानस्थल सञ्चालनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइसकेका छन् ।
बलेवा विमानस्थल सञ्चालनमा आउन सके बाग्लुङको चौतर्फी विकासमा ठूलो टेवा पुग्ने व्यवसायीको विश्वास छ । मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्ष, बाग्लुङ भगवती मन्दिरलगायत यहाँ प्राकृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र तिनको प्रवद्र्धनका लागि विमानस्थल सञ्चालन गर्नुपर्ने माग थप बलियो हँुदै गएको छ । ‘धौलागिरि क्षेत्रको आर्थिक सामाजिक विकास र समृद्धिका लागि निकै ठूलो मद्दत पुग्ने विमानस्थलको नियमित सञ्चालनका लागि सरकारको उचित ध्यान पुगोस् भन्ने हामी चाहान्छौँ,’ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले भने ।

प्रतिक्रिया