शिक्षा अधिकारी पिटिए

महोत्तरी, २० भदौ । महोत्तरीको अन्कारस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षा अधिकारीमाथि कुटपिट भएको छ ।

शिक्षा अधिकारी निर्मल घिमिरेले दुई वर्षदखि प्रधानाध्यापक बन्ने विवादका कारण बन्द रहेको विद्यालय खुलाउन जाँदा स्थानीयले घुस खाएको आरोप लगाउँदै कुटपिट गरेका हुन् ।
स्थानीयको कुटपिटबाट घिमिरेको लुगा च्यातिएको छ । विद्यालयमा पठनपाठन नगराउने शिक्षकलाई बोकेर आएको भन्दै स्थानीय बासिन्दा उनीविरुद्ध खनिएका थिए । घटनास्थल जिल्ला सदरमुकाम जलेश्वरबाट तीन किलोमिटर टाढा छ ।
स्थानीय बासिन्दाका अनुसार अधिकारीले चार शिक्षकको दुई वर्षसम्मको तलबबाट कमिसन लिएर विद्यालयमा पुन:स्थापना गराउन खोजेका थिए । विद्यालयमा फिरणेश्वर ठाकुर प्रधानाध्यापक रहे पनि स्थानीय शिक्षक घनश्याम मिश्रले प्रधानाध्यापकको दाबी गर्दै तीन जना शिक्षकसहित दुई वर्षदेखि बाहिरै बसेर हाजिरी गर्दै आएका थिए । शिक्षक नै नरहेको ललिता मण्डललाई शिक्षा अधिकारीले विद्यालयबाटै जबर्जस्ती तलब खुवाउँदै आएका थिए । विद्यालय व्यवस्थापन समितिले मण्डललाई दुई वर्षअगाडि नै हटाउने निर्णय गरिसकेको थियो ।
शिक्षा अधिकारी घिमिरेले स्थानीय बासिन्दाले लखेटेको सञ्चारकर्मीसमक्ष स्वीकार गरे । विद्यालयमा प्रधानाध्यापक ठाकुरले एक महिनाअगाडि व्यवस्थापन समितिको चुनाव गराउन खोज्दा शिक्षा अधिकारी घिमिरेले रोक लगाएका थिए ।

प्रतिक्रिया