प्रधानमन्त्री भट्टराई राष्ट्रघाती हुन्

काठमाडौं, १९ भदौ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको साँचो भारतमा लगेर छाड्ने प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रघाती भएको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भारतका प्रधानमन्त्रीसँग एक्लै भेट्नु राष्ट्रघाती कार्य भएको बताए ।
‘प्रधानमन्त्रीको यो हर्कत नेपाली जनताका लागि धोका हो,’ उनले भने, ‘देशको सम्मानमा बाबुराम भट्टराईले लात हानेका छन् ।’
भारतीय प्रधानमन्त्रीलाई एक्लै भेटगरेको घटनाले प्रधानमन्त्री भट्टराई र पराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठवीच विश्वासको संकट निम्तीएको यादवको भनाई थियो ।
इरानमा भट्टराईले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई एक्लै भेट गरेपछि उनको आलोचना सुरु भएको थियो ।
फोरम अध्यक्ष यादवले एमाओवादी संघीयता पक्षधर पार्टी नभएको बताएका छन् । उनले सत्ता लम्ब्याउन मात्रै एमाओवादीले संघीयता पक्षधरहरुको गठबन्धन निर्माण गरेको बताए ।
मुलुकलाई राजनीतिक र संवैधानिक गतिरोधबाट निकाल्न दलहरुलाई राष्ट्रपति डा.रामवरण यादवले निश्चित समयसीमा सहित अल्टिमेटम दिनु पर्ने बताए ।
उनले संविधानको संरक्षक र पालकको हैसियतले राष्ट्रपतिले मुलुकलाई असफल हुन बाट जोगाउन पहल गर्नु पर्ने बताए ।
उनले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार संघीयता विरोधी नेता रहेको बताए । उनले भने, ‘विजय गच्छेदार संघीयता विरोधी व्यक्ति हुन् ।’

प्रतिक्रिया