गुणस्तरहीन ट्रान्सफर्मरमा आरोप–प्रत्यारोप

काठमाडौं, १९ भदौ । ऊर्जासचिव हरिराम कोइरालाले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिदमा प्राधिकरणको गल्ती देखिएको बताएका छन् । ट्रान्सफर्मरको गुणस्तर नियन्त्रण गर्न नसक्नु प्राधिकरण कर्मचारीको कमजोरी रहेको उनको भनाइ छ ।

‘ट्रान्सफर्मर गुणस्तरहीन र कमसल हुनुको कारणबारे जताततै चर्चा छ, यसमा प्राधिकरणको पनि त गल्ती देखियो नि,’ उनले भने, ‘अब टेन्डर गर्दा कसरी गर्ने, आयात गरिएपछि कसरी परीक्षण गर्ने भन्नेतर्फ प्राधिकरण चनाखो हुने बेला आयो ।’
नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले ट्रान्सफर्मर गुणस्तरहीन र कमसल हुनुमा दोषी देखिएका सबैजना कारबाहीमा पर्ने बताए । ‘चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीमार्फत आयात गरिएका ट्रान्सफर्मर खरिदमा बदमासी भएको भेटिएपछि हामीले पहिला छानबिनका लागि गठित समितिलाई नै जिम्मेवारी दिएका छौँ,’ उनले भने, ‘दोषी देखिएका सबै कारबाहीमा पर्छन् ।’ उक्त फाइलमा अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्न लागेको छ ।
करिब १६ करोडमा टेन्डर भएको ट्रान्सफर्मरमा तामा प्रयोग गर्नुपर्ने भए पनि भित्र आल्मुनियम हालेर बदमासी गरिएको भेटिएको थियो । चीनबाट ल्याइएका नयाँ ट्रान्सफर्मर बिहीबार परीक्षणका लागि वर्कसपमा ल्याइएपछि बदमासी भएको पुष्टि भएको समाचार सौर्य दैनिकमा तस्बिरसहित छापिएको थियो ।

प्रतिक्रिया