गरिबलाई परिचयपत्र दिन निर्देशिका पारित

काठमाडौं : आर्थिक रूपमा विपन्न नेपालीहरूले अब आफू गरिब भएको प्रमाणपत्र पाउने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरिबलाई परिचयपत्र प्रदान गर्न बनेको ‘गरिब घर पहिचान निर्देशिका’ पारित गरेको छ । यसअघि सरकारले नेपालमा रहेको सबै गरिबको पहिचान गरी गरिबी परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो । त्यसैका आधारमा बनेको निर्देशिका सरकारले पारित गरेको भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले जानकारी दिए ।
मन्त्री जोशीका अनुसार बैठकले निजामती कर्मचारी सञ्चय कोषको प्रमुख कार्यकारी अधिकृतमा कृष्णप्रसाद आचार्यलाई नियुक्त गरेको छ । कोषको रिक्त प्रमुख कार्यकारी अधिकृतमा सार्वजनिक संस्थान निर्देशन बोर्डले गत १० भदौमा आचार्य तथा राधाकृष्ण पोते र सुशील अर्याललाई नियुक्तिका लागि सिफारिस गरेको थियो । आचार्यलाई कोषको प्रमुख कार्यकारी अधिकृतमा पाँच वर्षका लागि नियुक्ति गरिएको हो । आचार्यले यसअघि एनआइडिसी डेभलपमेन्ट बैंकको महाप्रबन्धक र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । यसैगरी, बैठकले नेपाली सेनाका सहायक रथी हिमाल थापाको पदावधि दुई वर्षका लागि थप गर्नुका साथै एसएसपी सुरेन्द्र श्रेष्ठलाई डिआइजीमा बढुवा गरेको छ । (सौस)

प्रतिक्रिया