न्याम्सको ताला तत्काल खोल : सर्वोच्च

काठमाडौं, १९ भदौ । सर्वोच्च अदालतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा लगाइएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । न्याम्सका रेक्टर डा. श्रीकृष्ण गिरी र वीर अस्पतालको ग्यास्ट्रो विभागका डा. जैनेन्द्र चौधरीबीच हातहालाहाल भएको विषयमा माओवादीसम्बद्ध संगठनले गत मंगलबारदेखि न्याम्स कार्यालय बन्द गरेका थिए ।
अधिवक्ता कमलनारायण दासको एकल इजलासले आइतबार अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कुनै किसिमको बाधा–अड्काउ हुन नहुने भन्दै तत्काल अस्पतालमा लगाइएको ताला खोल्न आदेश दिएको हो । ‘स्वास्थ्य संस्थामा कुनै किसिमको हुलहुज्जत बाधा–अड्काउ गर्नुहुँदैन,’ आदेशमा भनिएको छ, ‘त्यसकारण न्याम्समा लगाइएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिइएको छ ।’
अधिवक्ता प्रभु कोइरालाले अस्पतालमा बन्द, हडताल गर्दा त्यसको असर प्रत्यक्ष मानवीय जीवनमा पर्ने भएकाले बन्द र हडताल सधैँका लागि अन्त्य हुनुपर्ने माग गर्दै १५ भदौमा सर्वोच्चमा रिट निवेदन दिएका थिए । ‘आवश्यक सेवा ऐन २०१४ को मर्म र भावनाविपरीत अस्पतालजस्तो संवेदनशील क्षेत्र बन्द हुनुहँुदैन’ रिटमा भनिएको थियो ।
न्याम्सले एमडी, एमएस, एमसिएच, विएन र स्टाफ नर्सको भर्ना खोलेको अवस्थामा नौवटा संघसंगठनले न्याम्समा ताला लगाएका थिए । रेक्टर डा. गिरीले न्याम्समा अनियमितता गरेको विषय सार्वजनिक भएपछि ती संगठनले रेक्टरलाई जोगाउन डा. गिरी र डा. चौधरीबीच भएको झगडाको विषय भन्दै तालाबन्दी गरेका हुन् ।
डा. गिरीले विद्यार्थीलाई आएको रकममा आफैँ विद्यार्थी बनेर अनियमितता गरेको कुरा सार्वजनिक भएपछि उनीनिकटका कर्मचारीले सो कुरा ढाकछोप गर्न न्याम्समा ताला लगाएको वीर अस्पताल कर्मचारी युनियनले जनाएको छ ।
रेक्टर डा. गिरी र डा. चौधरीबीच पनि यही विषयमा ६ भदौमा भनाभन भएको थियो । दुवैले न्याम्स उपकुलपति डा.दामोदर पोखरेललाई उजुरी गरेका थिए । उपकुलपति डा. पोखरेलले सो घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति पनि गठन गरेका थिए । तर, वीर अस्पतालमा रहेका माओवादीसम्बद्ध ८ संगठन र एक मधेसी फोरमसम्बद्ध संगठनले छानबिन समितिको प्रतिवेदन आउनुअगावै न्याम्समा ताला लगाएका हुन् ।

प्रतिक्रिया