आइसीसी डिभिजन फोर आजदेखि

काठमाडौं, १८ भदौ । आइसिसी वल्र्ड क्रिकेट लिग (डब्लुसीएल) डिभिजन फोर सोमबारबाट मलेसियामा सुरु हुँदैछ । सन् २०१५ को आइसिसी एकदिवसीय विश्वकप खेल्नका लागि यस प्रतियोगितामा सहभागी नेपालसहित आइसिसीका एसोसिएट र एफिलिएट गरी सबै ६ सदस्य (टीम) लाई यो नै अन्तिम अवसर हो ।
नेपालसँगै सिंगापुर, मलेसिया, युएसए, डेनमार्क र तान्जानियाले शीर्ष दुई स्थानमा रहँदै डिभिजन थ्रीमा प्रवेश गर्न प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता राउन्ड रोबिन आधारमा सञ्चालन हुनेछ । सिंगापुर र मलेसिया डिभिजन फाइभबाट बढुवा भएका हुन् भने डेनमार्क र युएसए डिभिजन थ्रीबाट घटुवा । सन् २०१० मा इटालीमा भएको डिभिजन फोरको पछिल्लो संस्करणमा नेपाल र तान्जानिया क्रमश तेस्रो र चौथो हुँदै सोही डिभिजनमा कायम रहेका थिए । डेनमार्क र युएसए सन् २०११ को जनवरीमा हङकङमा भएको डिभिजन थ्रीबाट रेलिगेसन (घटुवा) मा परेका थिए ।
यस प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीले बर्मुडामा सन् २०१३ को अप्रिलमा हुने डिभिजन थ्रीमा प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी एकदिवसीय विश्वकपको पूर्वसन्ध्यामा सन् २०१४ मा विश्वस्तरको छनोट खेल्नेछन्, जसमा १० टोलीको सहभागिता रहनेछ । राउन्ड रोबिनका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा पनि शीर्ष दुई स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछन् । त्यति मात्र होइन, विश्वस्तरको छनोटमा शीर्ष छ स्थानमा रहने टोली आइसिसीबाट एकदिवसीय ‘स्टाटस’ पाउन पनि सफल हुनेछन् । सन् २०१५ को विश्वकपको छनोटका लागि यी सबै टोलीले एकपटक असफल भएर दोस्रोपटक प्रयास गर्न लागेका हुन् । यी टोलीले वल्र्ड क्रिकेट लिगको शीर्ष डिभिजन वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप भने खेल्न पाउने छैनन् ।

के हो डिभिजन लिग ?
आइसिसीले आफ्ना एसोसिएट र एफिलिएट सदस्यलाई ५० ओभरको खेलमा प्रवेश गराउन र यसै स्वरूपको विश्वकप छनोट गराउन सन् २००७ मा डिभिजन लिगको अवधारणा ल्याएको हो । एसोसिएट र एफिलिएट सदस्यलाई विश्वकपमा खेल्ने दुईवटा आधार हुन्छन् ।
एउटा आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन र अर्को वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप हो । वल्र्ड क्रिकेट लिग डिभिजनमा आठ डिभिजन छन् र डिभिजन आठ र एकबाहेकका हरेक डिभिजनमा ६ टिम छन् । हरेक दुई वर्षमा हुने प्रत्येक डिभिजनको खेल राउन्ड रोविन आधारमा सञ्चालन हुन्छ ।
शीर्ष दुई टिम अघिल्लो डिभिजनमा बढुवा हुन्छन् भने अन्तिम दुई टिम पछिल्लो डिभिजनमा घटुवा हुन्छन् । वल्र्ड क्रिकेट लिगको शीर्ष डिभिजन (डिभिजन एक) भनेको वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप हो । राउन्ड रोविन आधारमा सञ्चालन हुने यस च्याम्पियनसिपमा सहभागी हुने आठ टिममध्ये शीर्ष दुई टोली विश्वकपमा छनोट हुन्छन् । सन् २०१५ को विश्वकपका लागि अहिले वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा भाग लिने सबै टोली पक्का भइसकेको छ । सन् २०११ को विश्वकपका छनोट खेलेका १० टिममध्ये शीर्ष ६ स्थान हात पारेर एकदिवसीय मान्यता पाएका अफगानिस्तान, क्यानडा, आयरल्यान्ड, केन्या, नेदरल्यान्ड्स र स्कटल्यान्ड तथा सन् २०११ को वल्र्ड क्रिकेट लिग डिभिजन–टुमा शीर्ष दुई स्थान हासिल गर्ने नामिबया र युएई अहिले वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेका छन् ।
विश्वकप छनोट कस्ले खेल्छ ?
सन् २०१५ को विश्वकपमा सहभागी हुने १४ टिममध्ये दुई टिम वल्र्डकप छनोटबाट प्रवेश पाउनेछन् । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष दुई स्थानमा नआउने बाँकी ६ टिम र डिभिजन दुईमा कायम रहेका दुई टिम हङकङ र पपुआ न्युगिनीसहित १० टिम विश्वकप छनोटमा सहभागी हुनेछन् । अहिले चलिरहेको डिभिजन लिगअन्तर्गत डिभिजन थ्रीको शीर्ष दुई टिमले विश्वकप छनोट खेल्नेछ ।
सन् २०१५ को एकदिवसीय विश्वकपको छनोटमा वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपका बाँकी ६ टिम, डिभिजन दुईमा कायम रहेका तेस्रो र चौथो हुने टिम र डिभिजन थ्रीका शीर्ष दुई टिम हुनेछन् । विश्वकप छनोटमा शीर्ष ६ स्थानमा आउने टोलीले एकदिवसीय मान्यता पाउँछन् ।
अहिले चलिरहेको डिभिजन फोरका टोलीको आशा च्याम्पियनसिप खेल्ने हुनेछैन तर डिभिजन थ्रीमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा प्रवेश गर्नु हुनेछ । सन् २०१४ मा हुने विश्वकप छनोटमा डिभिजन दुईमा कायम रहेका पपुआ न्युगिनी र हङकङले खेल्ने पक्का भइसकेको छ । चालु च्याम्पियनसिपबाट ६ टोलीको टुंगो लाग्नेछ भने अहिले भइरहेको डिभिजन लिगबाट दुई टोली (डिभिजन थ्रीका फाइनलिस्ट) प्रवेश गर्नेछन् ।

नेपाल सिंगापुरविरुद्ध भिड्दै
वल्र्ड क्रिकेट लिग डिभिजन फोरको पहिलो खेलमा नेपाल सोमबार सिंगापुरसँग भिड्दै छ । सेलेगर टर्फ क्लबमा सञ्चालन हुने यस खेलमा नेपाल निश्चित जितको प्रयासमा छ । यसअघि पछिल्लोपटक सिंगापुरविरुद्ध नेपालमै प्रतिस्पर्धा गर्दा नेपाल १६ रनले विजयी भएको थियो । वल्र्ड क्रिकेट लिग डिभिजन फाइभअन्तर्गत दुई वर्षअघि पुल्चोकस्थित इन्जिनियरिङ क्रिकेट मैदानमा भएको खेलमा एक सय ८१ रनको लक्ष्य पछ्याएको सिंगापुर एक सय ६४ रनमा सीमित भएको थियो । त्यसयता सिंगापुरले ठूला प्रतियोगिता खेलेको छैन । आफ्नै देशमा गत फेबु्रअरीमा भएको डिभिजन फाइभमा मलेसियालाई हराएर सिंगापुर विजेता बनेको थियो । यसबीचमा एकदिवसीय प्रतियोगिता नखेले पनि नेपालले १६ टिम सहभागी आइसिसी टि–२० विश्वकप छनोट खेलेर सातौँ स्थान हात पारेको थियो । स्वदेशमै भएको एसिसी टि–२० प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

प्रतिक्रिया