‘ब्याजदर विस्तारै स्थिरतातिर जान्छ’

बैंकिङ क्षेत्रले तरलता अभाव र अधिक तरलता दुवै भोगिसकेको छ, अब यो क्षेत्र कतातिर लाग्दै छ ?
कुनै पनि सेवा या वस्तुको मूल्य बजारले निर्धारण गर्दा प्राकृतिक बिन्दुमा गएर बस्छ । अप्राकृतिक चाहिँ के भयो भने बजारमा तरलताको समस्या भइदियो । तरलता समस्या सरकारको पूर्ण बजेट नआएर भएको हो । गत वर्ष समयमै बजेट आएका कारण तरलता राम्रैसँग आयो । तर, राजनीतिक उथलपुथल, जस्तै संविधान नआउनाले ग्राहकको आत्मविश्वास एकदम कम भयो । आत्मविश्वास कम भएका कारण उनीहरूले न्यून रूपमा मात्र ऋण लिए । त्यसकारण अहिले पनि तरलता फालाफाल छ ।
प्राय: ठूला ऋणीले अहिले कर्जा लिइरहेका छैनन् । ठूला परियोजना आएका छैनन् । मेरो विचारमा तल/माथि दुइटै भएर अब स्थिरतातिर उन्मुख भएजस्तो छ । यो त्रैमासिकमा निक्षेपको ब्याजदर पनि स्थिर हुनथालेको छ । करिब चारदेखि ७ प्रतिशत हाराहारीमा निक्षेप र ऋणदर पनि १० प्रतिशतभन्दा माथि नै गएर स्थिर रहन्छ । एकदम माथि र एकदम तल ब्याजदर रहँदा निक्षेपकर्ता र ऋणी दुवैलाई योजना बनाउन गार्‍हो थियो । मेरो विचारमा अब विस्तारै यो दर स्थिर रहन्छ ।
बैंकहरूले निश्चित अवधिसम्म ब्याजदर स्थिर रहने नयाा ऋण योजना ल्याइरहेका छन्, त्यसलाई कसरी हेर्नुभएको छ ?
अहिले हामीले स्थिर ब्याजदर हुने दीर्घकालीन कर्जा योजना ल्याएका छैनौँ । बजारमा ब्याजदर एकदम तलमाथि भइरहेका बेलामा यस्ता योजना ल्याउनु हुँदैन र अहिले त्यसका लागि ठिक समय पनि होइन । यस्ता योजना ल्याउन निक्षेप ब्याजदर पनि निश्चित समयसम्म स्थिर राख्न सक्नुपर्ने हुन्छ । म खुला जोखिम लिएर बस्न सक्दिनँ । म आफूले चार वर्षका लागि निश्चित ब्याजदरमा ऋण दिन्छु भने मसँग चार वर्षका लागि निश्चित ब्याजदरमा निक्षेप पनि हुनुपर्छ । यस्तो भएन भने ब्याजदर तलमाथि हुँदा कि त मैले धेरै कमाउँछु कि त म धेरै गुमाउँछु ।
सट्टाबाजी, नाफा–नोक्सान गर्ने बैंकिङ व्यवसाय होइन । एउटा कुरा के हो भने यहाँ जोखिमलाई न्यूनीकरण गरेको भएर निश्चित अवधिसम्म स्थिर ब्याजदर रहने कर्जाको ब्याजदर सामान्यभन्दा केही बढी भने रहन्छ । बजार स्थिर नभइसकेको अहिलेको अवस्थामा यस्तो योजना ल्याउँदा, मेरो विचारमा कारणवश ब्याजदर घट्यो भने ग्राहकलाई घाटा नै हुन्छ । यस्ता योजना सानोतिनो घर कर्जाका लागि भन्दा ठुल्ठूलो हाइड्रोपावर, पूर्वाधार आयोजनाका लागि भने उपयोगी हुन्छ । ब्याजदर स्थिर भएर त्यस्ता आयोजनालाई दीर्घकालीन योजना बनाउन सजिलो हुन्छ । भविष्यमा ठूला आयोजना धेरै बन्न थाले भने मेगाले पनि यस्तो योजना ल्याउँछ तर त्यसका लागि निश्चित ब्याजदरमा निक्षेप उठाउने पनि गर्नुपर्छ ।
बैंकहरूका भिडमा मेगा बैंक कहाा छ ?
हलोदेखि हाइड्रोसम्म सबै नेपालीको बैंक हुने संकल्प लिएर खुलेको बैंक हो मेगा बैंक । गएको दुई वर्षमध्ये पहिलो वर्षमा १२ वटा प्लस प्रधान कार्यालय र दोस्रो वर्षमा १५ वटा गरेर २८ शाखा पुर्‍याएका छौँ । शाखारहित बैंकिङलाई पनि युद्धस्तरमा अगाडि बढाएका छौँ । हलो चलाउने किसानलाई पनि बंैकिङ सेवा दिने उद्देश्यले मेगा बैंकले सूचना प्रविधिको समेत सहयोग लिएर शाखारहित बंैकिङ सेवा सुरु गरेको छ । शाखारहित बंैकिङ यन्त्रको मद्दतले गाउँमा रहेका स्थानीय बैंक साझेदारले ससानो निक्षेप संकलन गर्ने र कर्जा विस्तार गर्ने कार्यसमेत गर्न सक्छन् ।
बैंकसँग ७० हजार ग्राहक छन् । खुद नाफा सात करोड छ । यो हामीसँग खुलेका अन्य बैंकका तुलनामा राम्रै हो । बैंकले नौ अर्बको निक्षेप संकलन र साढे आठ अर्बको कर्जा विस्तार गरेको छ । यस हिसाबले हेर्दा जुन लक्ष्य लिएर हिँडेका थियौँ, त्यही बाटोमा गृहकार्य गरेर अगाडि बढिरहेजस्तो लाग्छ ।
अहिले बाहिरी वातावरणलाई हेरेर वित्तीय संस्था अगाडि बढ्नुपर्ने बेला छ । वित्तीय संस्थाको वित्तीय स्वास्थ्य ग्राहकको वित्तीय स्वास्थ्यमा निर्भर गर्छ । त्यसकारण अत्यन्त खराब राजनीतिक अवस्थामा र राजनीतिक वातावरण राम्रो भएका दुवै अवस्थालाई ध्यानमा राखेर बजेट निर्माण गरिरहेका छौँ ।
‘हलोदेखि हाइड्रोसम्म’ नारा दिएर अगाडि बढ्नु भएको छ, यो नारा अलि महत्वाकांक्षी देखिएन र ?
विगत दुई वर्षमा शाखारहित बंैकिङमार्फत तल्लो स्तरका हजारौँ नेपालीलाई वित्तीय सेवा दिएका छौँ । २०/३० जनाको समूहलाई शाखाबाटै होस् वा शाखारहित बैंकिङका माध्यमबाट करोडाँै कर्जा लगानी गरिसकेका छौँ । तर सवाल कसरी बंैकिङ व्यवसाय गर्ने भन्ने हो । अरू बैंकजस्तै बैंकिङ गरेर मेगाको देशको ठूलो बैंक बन्ने लक्ष्य पूरा हुँदैन । फरक काम हामीले गर्नैपर्छ । तल्लो स्तरमा गएर जबसम्म हाम्रो जस्तो बैंकले लगानी गर्दैन, वित्तीय समावेशिता हासिल हुन सक्दैन र अन्तत: देशले आर्थिक वृद्धि गर्न सक्दैन । यस वर्ष हामीले साना तथा मझौला उद्योग (एसएमई) मा केन्द्रित गरेका छौँ । अरू बैंकको ऋण पोर्टफोलियो हेर्दा कर्पोरेट ऋणको हिस्सा बढी हुन्छ । हामीचाहिँ लघु ऋण र एसएमई ऋण मुख्य ऋणका रूपमा रहोस् भनेर फरक ढंगले अगाडि बढेका छाँै ।
संविधान नै नभएका देशमा तुरुन्तै अर्बाैं डलरको ठूला आयोजना आउनेवाला छैन । नेपालमा आउने हो भने १०/१५ मेगावाटका जलविद्युत् आयोजना, सिमेन्ट कारखाना, सुरुङ मार्ग इत्यादि हो । यस्ता आयोजनाका लागि मेगा एक्लैले नसके पनि अन्य बैंकसँग सहकार्य गरेर गर्नसक्ने अवस्था छ । सगरमाथा चढ्छु भनेर अगाडि बढ्यो भने धवलागिरी, अन्नपूर्ण त भ्याइएला नि भनेर त्यस्तो भिजन लिएर मेगा अगाडि बढेको हो ।
मौद्रिक नीतिमा आएको नयाा प्रावधानलाई कसरी हेर्नुभएको छ ?
मौद्रिक नीति भनेको बजेटलाई कार्यान्वयन गर्न ल्याइने परिपूरक नीति मात्र हो । तीन महिनाको बजेट आएका अवस्थामा वर्षभरिका लागि मौद्रिक नीति ल्याउनु भनेको एकदमै गार्‍हो काम हो । केन्द्रीय बैंकले अल्पकालीन र दीर्घकालीन उद्देश्य पूरा गराउने किसिमले ल्याएको यो मौद्रिक नीति मलाई राम्रै लागेको छ । नेपालीलाई विदेशमा लगानी गर्न खुला गर्ने नीति राम्रो छ । नेपालमा रहेका वित्तीय संस्थाले नै हरेक वर्ष नगद लाभांशका रूपमा करोडौँ रुपियाँ बाहिर लैजान्छ । नेपालीले पनि विदेशमा लगानी गरेर नगद देश भित्र्याउँछन् भने यसलाई राम्रै कदमका रूपमा लिनुपर्छ ।
चालु आवमा लगानीकर्तालाई के भनेर सेयर किन्न आह्वान गर्नुहुन्छ ?
अल्पकालीन प्रतिफल खोज्ने लगानीकर्ताले चालु वर्षको वासलातमा करिब सात करोड नाफामा देखिएकाले आकर्षक मान्न सक्छन् । दुई वर्षदेखिको सञ्चित मुनाफा र यो वर्षको मुनाफा पनि प्राथमिक सेयर निष्काशनपछि मात्र बाँढ्ने हँुदा लगानीकर्ताले राम्रै लाभांश पाउँछन् । अहिले आउने आइपिओभन्दा हाम्रो अल्पकालीन प्रतिफल राम्रै हुन्छजस्तो लाग्छ ।
दीर्घकालीन लगानीकर्ताका सवालमा चाहिँ मेगाले हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ वित्तीय समावेशिता ल्याउने र नेपालकै ठूलो बैंक बन्ने उद्देश्यसहित फरक क्षेत्रमा फरक काम गरेर अगाडि बढेकाले भविष्यमा देशको अर्थतन्त्रमा प्रभाव पारेको संस्थाको म पनि एउटा अंग हँु भन्ने बोध गर्नका लागि बैंकको सेयर किन्न अनुरोध गर्दछु ।

प्रतिक्रिया