हाकिमबाटै कुटपिट

नेपालगन्ज, १८ भदौ । बर्दियाको गुलरिया नगरपालिकाका कार्यकारी अधिकृतले आफ्नै सहकर्मीलाई हातपात गरेको विरोधमा कर्मचारीले कामकाज ठप्प पारेका छन् ।

नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले कार्यालय सहयोगी स्विपर प्रविन चौधरीलाई हातपात गरेको भन्दै कर्मचारीले आइतबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तीन घन्टा कार्यालयको कामकाज ठप्प पारेका हुन् ।
२२ भदौमा निजामती सेवा दिवसको अवसरमा आयोजना गर्न लागिएको मैत्रीपूर्ण भलिबल खेलमा सहभागी कर्मचारीको नामावलीमा आफ्नो नाम नभएको भन्दै नगरपालिकाका शाखा अधिकृत मुकुन्द अर्यालले शुक्रबार साँझ कार्यालयमा रहेको नामावली दर्ता फाइल कार्यालय सहयोगी स्विपर चौधरीसँग मागेर च्यातेका थिए ।
शनिबार बिहान भलिबल खेलका लागि नामावली फाइल मगाउँदा फाइल नल्याएपछि कार्यकारी अधिकृत गुरुङले चौधरीलाई कार्यालय परिसरकै भलिबल मैदानमा कुटपिट गरेका हुन् । चौधरीलाई कुटपिट गरेपछि आफूमाथि पनि कुटपिट हुन सक्ने भन्दै नगरपालिका कर्मचारीले कार्यालय परिसरभित्रैबाट मूलढोकामा ताला लगाएर कामकाज ठप्प पारेको नगरपालिकाका कर्मचारीले बताए ।
कामकाज ठप्प पारेपछि नगरपालिका कार्यालयमा कामका लागि आएका सेवाग्राही मर्कामा परेका थिए । काम नभएपछि कोही घर फर्किए । कार्यकारी अधिकृत गुरुङले चौधरीलाई कुटपिट गरेको घटनालाई लिएर आन्दोलित कार्यालयका कर्मचारीसमक्ष माफी मागेपछि तनाव साम्य भएको छ ।

प्रतिक्रिया