भवन अभावमा खुला चौरमा पढाइ

जाजरकोट, १८ भदौ । पूर्वी जाजरकोटको सक्ला–१, लैखमस्थित भगवती निमाविका तीन सय विद्यार्थी भवनको अभावमा खुला चौरमा पढिरहेका छन् ।

सदरमुकाम खलंगाबाट २५ कोश टाढा रहेको विद्यालयका दुईवटा मात्र भवन छन् । ०३४ सालमा स्थापना भएको विद्यालयमा हाल प्रावि दरबन्दी तीन, निमावि एक र निजी स्रोतबाट तीन शिक्षक कार्यरत छन् । विद्यालयमा दुई सय ८९ विद्यार्थी छन् ।
दुईवटा भवनभित्र विद्यार्थी नअट्ने, त्यसमध्ये एउटा भवनमा पानी चुहिने भएपछि विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएको विद्यार्थी सुनिल केसीले बताए । सरोकारवाला निकायलाई जानकारी गराउँदा कुनै सुनुवाइ नभएको प्रधानाध्यापक ओमजंग शाहले बताए ।
‘एकातिर भवनको अभाव छ, अर्काेतिर दरबन्दीअनुसार शिक्षकसमेत छैनन्,’ प्रअ शाहले भने, ‘दरबन्दीअनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ ।’ विद्यालयको आन्तरिक स्रोत बलियो नभएको र केही भएको रकमले निजी स्रोतका शिक्षकलाई तलब खुवाउनसम्म नपुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र ओलीले बताए । उनले भने, ‘विद्यालयको स्रोत केही छैन । भएको रकमको अवस्था निजीलाई तलब दिनै नपुग्ने छ ।’ विद्यालयमा आवश्यक फर्निचर नहुँदा विद्यार्थी कक्षा कोठाभित्रसमेत ढुंगा ओछयाएर बस्न बाध्य छन् ।

प्रतिक्रिया