नेपालको पहिलो जित

इस्तानबुल, १७ भदौ । टर्कीमा जारी ४०आँै ओलम्पियाडमा नेपालले पहिलो जित हात पारेको छ । सुरुआती तीन चरणमा पराजयको सामना गरेको नेपालले शुक्रबार भएको खेलमा रुवान्डालाई ४–० ले पराजित गर्‍यो ।
नेपालभन्दा धेरै नै कमजोर टोलीसँगको खेलमा मनीष हमालले थियोटाइन रुटेमारा तथा केशव श्रेष्ठले म्याक्सिन मुरारालाई पराजित गरे । यसैगरी रूपेश जायसवालले युगेन मुगामा तथा दीर्घराज जोशीले गेराभिस बाजिकिसलाई पराजित गरे । पाँचाँै चरणमा नेपालले अफगानिस्तानसँग खेल्नेछ ।
चार चरणको समाप्तिमा युक्रेन, हंगेरी, अर्मेनिया र रुसले आठ म्याच प्वाइन्टसहित अग्रता कायम गरेका छन् । तीन चरणसम्म अग्रस्थानमा रहेको अमेरिका चौथो चरणमा भारतसँग बराबरीमा रोकियो । सात म्याच प्वाइन्ट भएका अमेरिका १०औं तथा भारत ११औँ स्थानमा छन् । भारत र अमेरिकाबीचको खेलमा हिकारु नाकामुराले शशिकिरण कृष्णनलाई हराए भने पूर्वविश्वविजेता गाटा कामास्की हरिकृष्ण पेन्टालासँग पराजित भए । ओनिस्कुल अलेक्जेन्डर र परमार्जन नेगी तथा अभिजित गुप्ता र भारुजान अकोबियनबीच बराबरी भयो ।
रुसले चीनलाई ३–१ ले पराजित गर्‍यो । अलेक्जेन्डर गिरिस्चुकले वांग झिउ तथा डिमिट्री जाकोभन्काले ली चाओलाई हराए । भ्लाडिमिर क्रामेनिक ह्वांग होसँग र सर्जी क्राजकिन बु झिन्झाउसँग बराबरीमा रोकिए । चौथो चरणमा अन्य खेलमा अजरबैजान र जर्मनीबीच तथा फ्रान्स र इंगल्यान्डबीच बराबरी भयो । अर्मेनियाले फिलिपिन्सलाई २.५–१.५ तथा युक्रेनले पोल्यान्डलाई ३–१ ले पराजित गरे । प्रतियोगिताकै शीर्ष वरीयताका खेलाडी अर्मेनियाका लेभन आमानियन (२८१६) सो वेस्लीसँग बराबरीमा रोकिए । हंगेरीले स्लोभाकियालाई ३–१ ले पराजित गर्‍यो ।
महिलातर्फ रुस र फ्रान्स आठ म्याच प्वाइन्टसहित अग्रस्थानमा छन् । भारत सात म्याच प्वाइन्टसहित नवौँ स्थानमा छ । तीन चरणसम्म अग्रता कायम गरेको भारत चौथो चरणमा स्लोभाकियासँग बराबरीमा रोकियो ।

प्रतिक्रिया