काठमाडौं–क्वालालम्पुर उडानमा तीव्र प्रतिस्पर्धा

काठमाडौं, १७ भदौ । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियामा चारवटा विमान कम्पनीको प्रतिस्पर्धा सुरु भएको छ । नेपाल वायुसेवा निगमको लामो समयदेखिको एकाधिकार तोड्दै अन्य तीन कम्पनी काठमाडौं–क्वालालम्पुर सेक्टरमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

निगमलाई चुनौती दिँदै गत असारदेखि मलेसियाको बजेट एयरलायन्स एयर एसिया एक्सले यो सेक्टरमा सेवा सुरु गरिसकेको छ । मलेसियाको राष्ट्रिय ध्वजाबाहक मलेसिया एयरलायन्सले शनिबारदेखि उडान सुरु गरेको छ भने भदौ अन्तिम सातादेखि नेपाली विमान कम्पनी बिबी (भगवान् बुद्ध) एयरवेजले पनि यो रुटमा सेवा सुरु गर्दैछ ।
एउटै गन्तव्यमा चारवटा अन्तर्राष्ट्रिय एयरलायन्सले प्रतिस्पर्धा गर्ने भएपछि सस्तो र गुणस्तरीय सेवा पाउने यात्रुले आशा गरेका छन् । मलेसिया नेपाली कामदारको मुख्य गन्तव्य हो ।
काठमाडौंबाट करिब साढे चार घन्टाको उडान दूरीमा रहेको क्वालालम्पुर गन्तव्यमा अहिले निगमले करसहित एकतर्फी २१ हजार दुई सय ३७ रुपियाँ र दुईतर्फी ४१ हजार पाँच सय ४४ रुपियाँ भाडा लिने गरेको छ । सोही गन्तव्यमा एयर एसियाले करसहित एकतर्फी १८ हजार सात सय ७० रुपियाँ र दुईतर्फी करिब ३५ हजार रुपियाँ लिँदै आएको एयर एसियाको काठमाडौंस्थित जनरल सेल्स एजेन्ट (जिएसए) इन्सेन्टिभ ट्राभल्सले जनाएको छ । मलेसिया एयरलायन्सको जनरल सेल्स एजेन्ट मार्कोपोलो ट्राभल्सले काठमाडौं–क्वालालम्पुरको भाडा करसहित एकतर्फी २२ हजार ६० रुपियाँ र दुईतर्फी ४४ हजार आठ सय ३१ रुपियाँ मूल्य निर्धारण गरेको छ । बिबी एयरवेजले भने अहिलेसम्म हवाई भाडा सार्वजनिक गरिसकेको छैन ।
चारवटा एयरलाइन्समध्ये निगमले शनिबारबाहेक सातामा ६ दिन उडान गर्दै आएको छ भने एयर एसियाले मंगलबार र बिहीबार गरी सातामा दुई दिन उडान गर्दै आएको छ । एयर एसियाले सातामा सातै दिन उडान भर्न पाउने अनुमति नागरिक उड्डयन प्राधिकरणबाट पाइसकेको छ । त्यस्तै मलेसिया एयरलाइन्स र बिबी एयरवेजले सातामा ३/३ दिन उडान गर्ने अनुमति पाएका छन् । नेपाल र मलेसिया सरकारबीच सातामा ४२ सय सिटसम्म उडान गर्न पाउने हवाई सम्झौता भएको छ । क्वालालम्पुर जापान, कोरिया र अस्ट्ेरलियाका ट्रान्जिट बिन्दु पनि हो ।
यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय ध्वजाबाहक एयर अरेबियाले समेत फिफ्थ फ्रिडम राइट प्रयोग गरी क्वालालम्पुर–काठमाडौं उडान गर्ने अनुमति पाएको थियो । तर, राष्ट्रिय ध्वजाबाहकको मुख्य नाफामूलक गन्तव्य भन्दै तत्कालीन संसद्को सार्वजनिक लेखासमितिले उडान गर्न नदिन सरकारलाई निर्देशन दिएपछि एयर अरेबियाको उडान सुरु हुन सकेको छैन । एयर अरेबियाको मुद्दा अहिले विचाराधीन छ । फैसला एयर अरेबियाको पक्षमा भए यो कम्पनी पनि क्वालालम्पुर गन्तव्यमा थपिने छ ।
केन्द्रीय अध्यागमन विभागका अनुसार हाल दैनिक करिब चार सय कामदार मलेसिया गइरहेका छन् । क्वालालम्पुर उडानमा करिब ८० प्रतिशत सिट नेपाली कामदरले भरिने गरेको बताइन्छ ।\

मलेसिया एयरलायन्सको उडान सुरु
काठमाडौं : मलेसियाको राष्ट्रिय ध्वजावाहक मलेसिया एयरलायन्स (मास) ले शनिबारदेखि क्वालालम्पुर–काठमाडांै उडान सुरु गरेको छ । कम्पनीले यो सेक्टरमा साताको तीन दिन व्यापारिक उडान सुरु गरेको हो ।
बोइङ ७३७ जहाजबाट उडान गरिने कम्पनीले जनाएको छ । यसमा एक सय ४४ इकोनोमी र १६ विजनेस क्लास सिट हुनेछन् । पहिलो उडानका क्रममा शनिबार मलेसियाका यातायात उपमन्त्री अब्दुल रहिम बक्री, मलेसिया एयरलायन्सका व्यवसायिक निर्देशक हुग नोएल डनलेभी तथा टुरिजम मलेसियाका महानिर्देशक मिर्जा मोहम्मद तैयब काठमाडौं आएका थिए । उनीहरूलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतम, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धर तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक रतीशचन्द्रलाल सुमन विमानस्थल पुगेका थिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मलेसियाली उपमन्त्री तथा नेपालका सरकारी अधिकारीले कम्पनीको उडान सेवाबाट यो सेक्टरको हवाई यात्रा सहज हुनका साथै दुई देशबीचको सम्बन्धमा पनि सुधार हुने बताए ।
मलेसिया एयरलाइन्सले काठमाडौं क्वालालम्पुरको दुईतर्फी भाडा ४३ हजार दुई सय ९० रुपियाँ तोकेको छ । लक्जरी एयरलायन्सभित्र पर्ने यो कम्पनीले अस्ट्रेलियाको सिड्नी, मेलबर्न, जापानको टोकियो, दक्षिण कोरियाको सियोल, चिनको सांघाई, बेइजिङ, सिंगापुरलगायत गन्तव्यमा कनेक्टिङ उडान गर्ने जनाएको छ । मास कनेक्टिङ फ्लाइट गर्ने कम्पनी भएकाले अन्य गन्तव्यमा जाने नेपाली यात्रुलाई फाइदा हुने कम्पनीको दाबी छ ।

प्रतिक्रिया