असंलग्न अभियानको सन्देश

काठमाडौ : पारमाणविक हतियार विकास गर्न खोजेको भनी हालैका वर्षमा व्यापक रूपमा आरोपित राष्ट्र इरानमा असंलग्न राष्ट्रको १६औँ शिखर सम्मेलन सम्पन्न भएको छ । इरानलाई तर्साउन वा कमजोर पार्न विश्वका कतिपय शक्तिशाली राष्ट्रले उसमाथि लामो समयदेखि आर्थिक एवं सामाजिक नाकाबन्दी लगाइरहेकै बेला इरानको राजधानी तेहरानमा असंलग्न राष्ट्रको शिखर सम्मेलन आयोजना हुनु नियोजित घटना वा आयोजना नभएर एउटा संयोग मात्र बनेको छ । सो सम्मेलनलाई इरानले आफ्नो कूटनीतिलाई विश्वका विकासशील राष्ट्रसामु फैलाउने एक प्रभावकारी अवसरका रूपमा प्रयोग गर्न पाएको छ । आणविक भट्टीका विषयमा विश्वले उसमाथि लगाएका आरोपबारे आफ्नो सन्देश दिने अवसर उसले पाएको छ ।
उता सो सम्मेलनको मञ्चलाई विश्वका कतिपय राष्ट्रले हाल संसारकै टाउको दुखाइको विषय बनेको सिरियाको आन्दोलनबारे पनि आ–आफ्ना धारणा राख्ने उचित स्थानका रूपमा लिन पाए । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले सिरियाका प्रधानमन्त्रीलाई शुक्रबार नै तेहरानमा भेटी चाँडै हत्या आतंकको शृंखला रोक्न गरेको आग्रह यसको एउटा उदाहरण हो । सिरियाका विरोधी र उसका समर्थकले पनि सो मञ्चलाई राम्रैसँग प्रयोग गर्ने अवसर पाए तेहरानमा । इरानले नै अमेरिका र इजरायलले सिरियामा आन्दोलन चर्काएको आरोप लगाएको थियो । उता इरानले सोही मञ्च प्रयोग गरेर संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघको व्यापक आलोचना गरेको थियो । बिहीबार सो सम्मेलनको उद्घाटन गर्दै इरानका वरिष्ठ नेता आयातुल्लाह खमेनी संयुक्त राष्ट्रसंघमाथि खनिएका थिए । उनले राष्ट्रसंघको सुरक्षा परिषद् निरंकुश र स्वेच्छाचारी चरित्रको रहेको आरोप लगाएका थिए । युद्ध वा वादविवादमा कुनै पनि राष्ट्रतर्फ पनि नढल्किने वा असंलग्न रहने प्रण गर्दै सन् १९५५ मा बीजारोपण भएको सो संगठन केही समययता प्रत्यक्ष रूपमा विवादमा संलग्न हुँदै आएको राष्ट्रका पक्ष र विपक्षमा बोल्ने मञ्चका रूपमा प्रयोग हुँदै आएको छ ।
दोस्रो विश्वयुद्धले युद्धरत राष्ट्रलाई भौतिक र आर्थिक रूपमा तहसनहस बनाएपछि युद्धपश्चात् आ–आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन पश्चिमी युरोपेली तथा अमेरिकी राष्ट्र नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) नामक संगठन खडा गरी संयुक्त राज्य अमेरिकाको छत्रछायामा रहन पुगे । त्यसैगरी तत्कालीन सोभियत संघ (युएसएसआर)लगायत पूर्वी युरोपेली तथा युएसएसआर समर्थक राष्ट्र रसियाली छत्रछायाको वार्सा प्याक्ट नामक संगठनमा आबद्ध हुन पुगे । दोस्रो विश्वयुद्धमा प्रत्यक्ष अथवा परोक्ष रूपमा असंलग्न वा तटस्थ रहेका बाँकी मुलुक भने यी दुवै संगठनमा नलागी निष्पक्ष रहे । यिनै तटस्थ राष्ट्रको अभियान नै असंलग्न संगठनको वर्तमान रूप हो । विकासका हिसाबले अब्बल दर्जामा पर्न नसकेका तथा विश्वको राजनीतिक परिवेशमा पश्चिमा भनी कहलाएका शक्तिशाली राष्ट्रको दर्जामा पनि नपरेका यी राष्ट्रलाई पश्चिमा देशले विकासशील राष्ट्रको उपमा दिइरहेका छन् ।
स्वाधीनताको रक्षा गर्ने, युद्धको सम्भावनालाई रोक्ने, साम्राराज्यवाद, उपनिवेशबाट मुक्ति पाउन शक्तिशाली गुटबाट अलग्गै रही एउटा सशक्त र शान्तिपूर्ण संगठन खडा हुनु अपरिहार्य रहेकाले यिनै असंलग्न एसियाली र अफ्रिकी मुलुकले इन्डोनेसियाको बाङडुङ नगरमा सन् १९५५ मा भेला भएपछि त्यहीँबाट संलग्न आन्दोलनको नाम दिएका हुन् । हाल नाममा १२० राष्ट्र सदस्य छन् ।
नाम गठन भएपछि यसको पहिलो शिखर सम्मेलन युगोस्लाभियाको राजधानी बेलग्रेडमा सन् १९६१ को सेप्टेम्बरमा सम्पन्न भएको थियो । जाम्बिया, श्रीलंका र भारत हुँदै यस वर्ष इरानको राजधानी तेहरानमा सोह्रौँ सम्मेलन अगस्त ३० देखि ३१ सम्म आयोजना गरियो । पहिलो सम्मेलनमा २५ राष्ट्रका प्रतिनिधि तीन राष्ट्रका पर्यवेक्षक भेला भएका थिए भने योपटक १२० सदस्य राष्ट्र, १७ पर्यवेक्षक र १० वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संगठनले भाग लिएका थिए । पहिलो शिखर सम्मेलन द्वितीय विश्वयुद्धबाट परेका प्रभाव र त्यसको न्यूनीकरणमा केन्द्रित थियो । समय परिवर्तनसँगै असंलग्न आन्दोलनको एजेन्डामा पनि समयानुकूल परिवर्तन हुँदै आएको छ । विश्वमा आणविक शस्त्रको होडबाजी चलिरहेको र एकअर्काको आन्तरिक मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हस्तक्षेप भइरहेको वर्तमान सन्दर्भमा असंलग्न आन्दोलनले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । तर, नाम सदस्य राष्ट्रबीच अत्यन्त इमानदारी अवलम्बन हुनु आवश्यक छ ।
सन् १९९० को दशकमा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्वाचेभको खुला र उदार अर्थ तथा राजनीतिक व्यवस्था (पेरेस्त्रोइका र ग्लासनोस्त) का कारण सोभियत संघ अधीनस्थ १६ वटा गणराज्यले स्वतन्त्रता प्राप्त गरी सोभियत संघ टुक्रिएपछि विश्वव्यापी शीतयुद्ध अन्त्य भई संयुक्त राज्य अमेरिकाको शक्ति विश्वभर छाउन पुगेको छ । (एएफपी/रासस)

प्रतिक्रिया