चालकविहीन विमान आक्रमणमा चारको मृत्यु

मिरनशाह (पाकिस्तान) : अमेरिकी चालकविहीन विमानले अफगानिस्तानको सीमामा रहेको तथा पाकिस्तानको समस्याग्रस्त आदिवासी क्षेत्रमा एक लडाकुको घरहातामा आक्रमण गर्दा कम्तीमा चार विद्रोहीको मृत्यु भएको जानकारी सुरक्षा अधिकारीहरूले दिएका छन् । उक्त आक्रमण उत्तरी बजिरिस्तानको डेगान क्षेत्रमा भएको बताइएको छ । उक्त क्षेत्र तालिवान तथा अल–कायदा लडाकुको सुरक्षित स्थल मानिन्छ । अमेरिकी चालकविहीन विमानले उक्त घरहातामा चारवटा क्षेप्यास्त्र प्रहार गरेको र चार लडाकुको मृत्यु भएको जानकारी एक वरिष्ठ अधिकारीले एएफपीलाई दिए । ती अधिकारीले आक्रमणको समयमा अनेकौँ चालकविहीन विमान उक्त क्षेत्रमाथि उडिरहेको देखिएको जानकारी दिए । सुरक्षाका अर्का एक अधिकारीले पनि उक्त आक्रमण तथा क्षतिलाई पुष्टि गरेका छन् ।
यी अधिकारीले यो क्षेत्रलाई विगतमा अमेरिकी चालकविहीन विमानले अक्रमणको लक्ष्य बनाउने गरेको र उनीहरूले धेरै विदेशी लडाकुलाई मारेको जानकारी दिए । यी अधिकारीले यस क्षेत्रमा हफिक गुलबहादुर लडाकु समूहको बलियो नियन्त्रण रहेको र यहाँ हक्कानी समूहका अफगान तालिवान पनि क्रियाशील रहेको जानकारी दिए । (एजेन्सी)

प्रतिक्रिया