सुइरे र भुइँफुट्टे


पहाडको कुनै गाउँमा सुइरे र भुइँफुट्टे नाम गरेका केटाहरू थिए । ती दुई असाध्यै मिल्थे र फेरि बाझी पनि हाल्थे । ती दुवै अनाथ थिए । सुइरे पातलो र केही अग्लो थियो भने भुइँफुट्टे केही मोटो र होचो । सुइरे चार कक्षामा पढ्दै थियो । ऊ मामाघरमा बसेर पढ्थ्यो । भुइँफुट्टे पनि ऊसँगै पढ्थ्यो । भुइँफुट्टेको बुबालाई खोलाले बगाएको थियो भने आमाचाहिँ अर्कैसँग बिहे गरेर गएकी थिइन् । सुइरेका पिता सेनामा छँदा मारिएका थिए । त्यसपछि उसकी आमा कता गई, कसैले थाहा पाउन सकेको थिएन । गाउँको स्कुल धेरैजसो त बन्द नै हुन्थ्यो । उनीहरू मीठो खान र राम्रो लाउन पनि पाउँदैनथे, कतिपय रात भोकभोकै सुत्थे । गाउँमा दु:ख पाएर बस्नुभन्दा सहरमा काम गरेर भए पनि मीठोमसिनो खान पाइएला भन्ने सोच आयो उनीहरूलाई । दुवै जनाले काठमाडौं जाने सल्लाह गरे ।
उनीहरूले काठमाडौंबारे राम्रा–नराम्रा दुवै कुरा सुनेका थिए । काठमाडौंमा छट्टुहरू पनि हुन्छन् भन्ने उनीहरूलाई सुनेका थिए । तर यहाँ बस्न, खान सजिलै पाइँदैन भन्नेचाहिँ उनीहरूलाई थाहा थिएन । पहाडको आधाबाटो हिँडेपछि उनीहरू काठमाडौं जाने एउटा बसमा चढे । बसमा चढ्दा उनीहरूलाई अचम्म लाग्यो । सबैभन्दा अचम्म त उनीहरूलाई रूखहरू, घरहरू हिँडिरहेजस्तो देखेर लाग्यो । सुइरेले छक्क पर्दै भुइँफुट्टेलाई भन्यो– ‘हैन क्यारे भुइँ, यी घर र रूखको खुट्टा त छैन नि, कसरी पछाडि दौडन्छन् हँ †’
‘हो त सुइरे, मलाई पनि अचम्म लागिरहेछ,’ भुइँफुट्टेले भन्यो ।
छेउमा बसेको एउटा भलाद्मी मान्छेले भन्यो– ‘हैन भाइ, यो घर, रूखहरू हिँडेको होइन, गाडी दौडँदा त्यस्तो लागेको मात्र हो ।’
सुइरे छक्क पर्‍यो । एक छिनपछि बसमा कन्डक्टर आयो र सोध्यो– ‘भाइ तिमीहरू कहाँबाट चढ्यौ र कहाँसम्म जाने ?’
सुइरेले फुर्तिसाथ भन्यो– ‘त्यो ढोकाबाट चढेका अनि यो ढोकाबाट झर्दै छौँ ।’
यति भनेर सुइरे खुरुखुरु ओर्लन खोज्यो । भुइँफुट्टे पनि सुइरेको पछिपछि झर्‍यो । कन्डक्टरले दुवैलाई समात्यो र ‘पैसा तिर्नुपर्छ’ भन्यो । उनीहरूलाई गाडीमा पैसा तिर्नुपर्छ भन्ने पनि थाहा थिएन ।
‘हँ पैसा तिर्नुपर्छ ?’ भुइँफुट्टे छक्क पर्‍यो । भुइँफुट्टेले आफूसँग पाँच रुपियाँ मात्र भएको बतायो । कन्डक्टरले त्यो पैसा पनि मागेर लग्यो ।
भुइँफुट्टेले सुइरेलाई भन्यो– ‘एइ सुइरे मसँग अरू पैसा हुँदाहुँदै पनि मैले त्यो कन्डक्टरलाई पाँच रुपियाँ मात्र छ भनेर बताएँ, उसले पाँच रुपियाँ मात्र लग्यो ।’
सुइरेले भन्यो– ‘हो भुइँ, सहरका मानिस छट्टु हुन्छन् रे, त्यसैले उनीहरूभन्दा हामी झन् छट्टु हुनुपर्छ । उनीहरूलाई छल्नुपर्छ । भुइँले ‘हो’ मा ‘हो’ मिलायो ।
उनीहरू घुम्दाघुम्दै सुन्धारा आइपुगे ।
‘हेर भुँइ, क्या लामो दरबार †’ सुइरेले धरहरा देखाउँदै भन्यो । भुइँफुट्टेले भन्यो– ‘हो त, तँजस्तै रहेछ ।’
सुइरेले भन्यो— ‘नकराऽ तँजस्तो होचो दरबार पनि अघि डाँडामा थियो नि, दुइटा आँखा भएको ।’
भुइँफुट्टेले भन्यो– ‘भैगो, यो दरबार त कति राम्रो रहेछ । काठमाडौं सहर हेर्दामा राम्रो भनेको यही भएर होला नि †’
सुइरेले भन्यो– ‘हैन भँुइ, कति तला रहेछ गनौँ है त † फेरि टोपी झर्ला है ?’
‘हो त ल बसेर मजाले गनाँै, यो दरबारको नाम तेरै नामबाट सुइरे दरबार भयो है †’
सुइरे तला गन्न थाल्यो । गनिसकेपछि भन्यो– ‘ठ्याक्कै दस तला रहेछ ।’
त्यसै बेला एउटा छट्टु आयो । पहाडबाट भर्खर झरेका सुइरे र भुइँफुट्टेलाई ठग्ने बुद्धि खियायो ।
उसले भन्यो– ‘एइ, तिमीहरूले के गनेको ?’
‘हामीले यो दरबार गनेको ।’ सुइरेले फुर्तीसाथ जवाफ दियो ।
‘यो दरबार गनेको त पैसा लाग्छ । एकतला बराबर दस रुपियाँ,’ त्यो छट्टु व्यक्तिले भन्यो । सुइरे र भुइँफुट्टे छक्क परेर मुखामुख गरे ।
‘ए † त्यसो हो भने हामीले पाँच तला मात्र गन्यौँ,’ सुइरेले हतारहतार भन्यो ।
‘लौ अब निकाल पचास रुपियाँ, यो सपनाको सहर हो, यहाँ त सास फेर्दा पनि पैसा लाग्छ, निदाएको पनि पैसा तिर्नुपर्छ । अघि गाडीमा चढ्दा पनि पैसा तिर्‍यौ हैन ?’ छट्टुले भन्यो ।
दुवैले अँध्यारो अनुहार पारेर ‘अँ’ भने ।
‘त्यसो हो भने खुरुक्क पैसा झिक नत्र पुलिस बोलाएर मामाघर जानुपर्ला नि †’ छट्टुले भन्यो । दुवै डराए । भुइँले खल्तीबाट पचास रुपियाँ झिकेर त्यो छट्टुलाई दियो । छट्टु पैसा लिएर टाप कस्यो ।
भुइँले हतारहतार पैसा दिएको देखेर सुइरेले झोक्किँदै भन्यो– ‘एइ, भुइँफुट्टे किन हतारहतार पैसा दिइहालेको । त्यो छट्टुलाई छल्न म खोज्दै थिएँ ।’
भुइँफुट्टेले पनि रिसाउँदै भन्यो– ‘खोजिस् छल्न ? डरले तेरो मुख नै कालोनीलो भएको थियो । हतारहतार पाँचतला गनेको भनिस्, गनेको छैन भन्दा पनि हुन्थ्यो नि ।’
‘कहाँ नछलेको हो र ? मैले दस तला गनेको थिएँ तर पाँच तला मात्र गनेको भनेँ, बुझिस् † पचास रुपियाँ के गरी नदिने भनेर सोच्दै थिएँ । भैगो छोड्दे,’ सुइरेले भन्यो ।
दुवैले ठूलो सास फेरे । सुइरेले भन्यो– ‘लौ हिँड् भुइँफुट्टे, अब यहाँ धेरै बस्न हुन्न, फेरि अर्को ठग आउन के बेर ।’ तिनीहरू दुवै त्यहाँबाट हिँडे ।
बाटामा एउटा मान्छेलाई सोधे– ‘दाइ, यो बाटो कहाँ जान्छ ? त्यो मान्छेले भन्यो– ‘खै दिनभरि यहीँ हुन्छ, राति कहाँ जान्छ हामीलाई पनि थाहा हुन्न ।’
सुइरे र भुइँफुट्टे मुखामुख गरे । फेरि खुरुखुरु त्यहाँबाट बाटो लागे ।
उनीहरू घुम्दाघुम्दै एउटा जुत्ता पसलमा पुगे ।
भुइँफुट्टेले जुत्ताको दाम सोध्यो– ‘दाइ, यो जुत्ताको दाम कति ?’
‘यसको दाम दस हजार रुपियाँ,’ पसलले जवाफ दियो । ‘त्यसो हो भने तुनाको कति नि ?’ भुँइफुट्टेले सोध्यो ।
‘यो तुना सित्तैमा’ पसलेले भन्यो ।
‘त्यसो भने मेरो जुत्तामा तुना छैन, यो तुना मात्र लान्छु है,’ भुइँफुट्टेले भन्यो । पसलेले भन्यो– ‘त्यसो भनेर कहाँ हुन्छ, दस हजार रुपियाँ लेऊ जुत्ता छोड तुना लग ।’
भुइँफुट्टेले भन्यो– ‘अघिचाहिँ तुना सित्तैमा भन्ने अहिलेचाहिँ दस हजार रुपियाँ ल्याऊ । भैगो हामीलाई तुना पनि चाहिँदैन †’
सुइरेले भुइँफुट्टेलाई तान्दै भन्यो– ‘एइ, हिँड् यहाँ फेरि हामी ठगिन्छौँ ।’
ती दुवै पसलबाट बाहिर निस्के । अलिक पर पुगेर फेरि फर्केर पसल आए ।
पसलले सोध्यो– ‘के भयो किन आयौ ?’
सुइरेले भन्यो– ‘तपाईंको पसलमा फेरिफेरि पनि आउनुहोला भनेर लेखिएको रहेछ अनि †’
पसलेलाई झोँक चलेछ, करायो– ‘भाग, कस्ता फन्टुस रहेछन् ।’
भुइँफुट्टेले सोध्यो– ‘दाइ, यो फन्टुस भनेको के हो ?’
पसलेले दिक्क मान्दै भन्यो– ‘भलादमी रहेछन् भनेको हो ।’
‘त्यसो हो भनेचाहिँ म फन्टुस कि यो सुइरे फन्टुस दाइ ?’ भुइँफुट्टेले सोध्यो ।
सुइरेले भन्यो– ‘म फन्टुस हैन दाइ ?’
दुवै जनाको त्यहाँ झगडा पर्न थाल्यो । पसलेले ठग्ने विचार गर्दै भन्यो– ‘ल जसले पचास रुपियाँ दिन्छ उही फन्टुस ।’
भुइँफुट्टेसँग पैसा भएको हुनाले उसले दिन खोज्यो । सुइरेले हतारहतार पैसा दिन रोक्यो र भन्यो– ‘ल भुइँफुट्टे तँ नै फन्टुस भइस्, पैसा नदे, बरु यहाँबाट भागौँ यसले फेरि हामीलाई ठग्छ ।’
यति भनेर ती दुई त्यहाँबाट कुलेलम ठोके ।

प्रतिक्रिया