मेरा लागि होइन काठमान्डु

सा छ, शक्ति छ र सत्ता वरपरका आफन्त † तिमीलाई काठमाडौंले चिन्छ । तिमीसँग फगत सपना छन्, तिमीलाई काठमाडौंले सोस्छ, छोक्रो पार्छ,’ मेरा पुराना मित्र नारायण अमृतले फेसबुक स्ट्याटसमा हालै यस्तो लेख्नुभएछ । उहाँलाई यो कुराको ज्ञान हुन लामै समय खर्चिनुपरेको छ । यो उद्गार कोरा कल्पनाको उपज पक्कै होइन । भोगाइको कसीमा खारिएर आएको अभिव्यक्ति हो यो । यसमा ठूलो सत्य लुकेको छ । मैले पनि यस्तै अनुभूत गरेको छु ।
सपनाको सहर हो काठमाडौं, गाउँमा गुजारा गरिरहनेहरूलाई । यहाँ सबै चिज छ । शिक्षा, स्वास्थ्य, सम्भावना, रोजगारी, भविष्य जेजे छ, यहीँ छ । हामीलाई लागेको यही हो । बाध्यता पनि थियो हाम्रो लागि त । एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्न यतै लाग्नुपरेको हो । सामान्य उपचारकै लागि पनि यतै धाउनुपर्ने, खल्तीमा पैसा भए । यस्तो समय पनि थियो । भलै अब ठ्याक्कै यस्तो अवस्था रहेन । प्रशस्त उच्च मावि खुले गाउँमै र स्नातक क्याम्पस पनि । निजीस्तरबाट अस्पताल पनि खुल्न थालेका छन् । जिल्ला अस्पताल पनि सुधारोन्मुख छ ।
तैपनि, काठमाडौंसँग के त्यस्तो जादु छ † यहीँ धुइरिरहेछन् सबै । र, म पनि ढुन्मुनिँदै यहीँ आइपुगेँ । हाम्रा युगकवि सिद्धिचरणले पनि उहिल्यै भनेका हुन्– ‘भाग्यको लहरमा लहरिँदै–लहरिँदै आइपुगेँ यस मरुस्थलमा कसरी ?’ यसो भन्दै कविजीले पनि जिन्दगी यहीँ काटे । सत्य यो पनि हो कि हामीमध्ये पनि धेरै यही काठमाडौंलाई सराप्दै जिन्दगी यहीँ बिताइरहेछौँ र सकेको दुहिरहेछौँ काठमाडौंलाई । कतिलाई न्याय गर्‍यो काठमाडौंले कतिलाई अन्याय, त्यसको के लेखाजोखा भयो र †
देशको सेवा गर्न सिंहदरबार ताकेर यहाँ आएको होइन म । समाजको सेवा गर्ने हेतुले पनि यहाँ आइनँ । नेपाल–आमाको मुहार हँसिलो बनाउने मेरो ध्येय भनेर ढोंग गर्न पनि मलाई मन छैन । पुँजी बोकेर व्यापार गर्न काठमाडौं आएको पनि होइन म । र, पनि म काठमाडौं आएँ । खासमा मलाई फराकिलो ठाउँ चाहियो । मलाई पनि सुविधा चाहियो, जीवनलाई चाहिने आधारभूत सुविधाभन्दा अलि बढी सायद † मैले पनि चलखेल गर्न पाउनुपर्‍यो राजधानीमा । हो, मेरो पनि सपनाको सहर हो काठमाडौं किनकि म पनि औसत नेपाली हुँ ।
राजधानी त ‘राष्ट्रिय’ हो । यसले गर्ने सबै क्रियाकलाप राष्ट्रिय हुन्छन् । गुटबन्दी गर्दा पनि राष्ट्रिय गुटबन्दी, ठगी नै गर्दा पनि राष्ट्रिय ठगी । यहाँ सर्जक राष्ट्रिय, विद्वान् राष्ट्रिय, हगाइ, पदाइ, छदाइ सबै राष्ट्रिय । राजधानीले हकार्दा, डकार्दा पनि राष्ट्रिय हुन्छ । त्यसैले पनि राजधानी–मोह जागेको होला मान्छेमा । फँसेँहुँला म पनि यही मोहजालमा । मोफसल नामका ठाउँमा जतिसुकै पवित्र काम भए पनि त्यो क्षेत्रीय हुन्छ, स्थानीय कहलिन्छ । सधैँ वामपुड्के भएर बाँचिरहेछ मोफसल । विडम्बनाको विहंगम गर्तमा फसिरहेछ मोफसल । त्यसैले पनि मलाई मोफसल–मोह हटेको होला र केन्द्रको मोह जागेको होला । र, अरू धेरैलाई यस्तै लागेको हुनुपर्छ ।
सपना टुट्न लामो समय नलाग्ने रहेछ । काठमाडौं त मैले सोचेभन्दा धेरै संकीर्ण रहेछ । साँघुरो घेरामा बाँचिरहेको रहेछ । मेरो गाउँको जति पनि उदार हृदय रहेनछ । ७५ जिल्लाका मान्छे यहाँ एक हजार असी प्रकारका छन् । आ–आफ्नै धुनमा छन्, आ–आफ्नै सुरमा छन् । शक्तिमा बाँचेको रहेछ काठमाडौं, सद्भावमा होइन । सत्तामा बाँचेको रहेछ, सहकार्यमा होइन । पैसामा बाँचेको रहेछ, पर्ममा होइन । समग्रमा काठमाडौं निर्जीव बाँचेको रहेछ युगौँयुगदेखि । फलामको मुटु बोकेर मान्छे रोबोर्ट बनिसकेको रहेछ काठमाडौंमा ।
जुँगाको रेखी नबस्दै एउटा किताब निकालेथेँ स्कुल पढ्दै गर्दा दुई दशकअघि । त्यतिबेला फुच्चे लेखकमा दरिएको थिएँ फुच्चे किताब निकालेर । गाउँमा पाएको दर्जा मलाई निकै ठूलो र गौरवपूर्ण पनि लागेथ्यो । फुच्चे लेखकबाट पुन: फुच्चे लेखक बन्न मलाई ठ्याम्मै दुई दशक नै लाग्यो । मैले एकपटक फेरि फुच्चे लेखकको दर्जा पाएँ, सहरका स्वयंघोषित चाटुकार लेखकबाट । धेरथोर थाहा छ, आफ्नो शक्ति । ठान्दिनँ पनि लेखक नै भइसकेँ भन्ने । आखिर मैले के नै लेख्न सकेँ र ? कसैको भक्तिगान लेख्न सकेको छैन, कसैको जयगान रच्न सकेको छैन अनि त म के लेखक ?
साँच्चै लेखक हुन त अरू पनि त योग्यता चाहिएला नि † पतीत हुनुपर्‍यो, धुत्र्याइँ गर्न सक्नुपर्‍यो, छुल्याइँमा सिद्धहस्तता चाहियो । सदा मेरो कमजोरी रह्यो, नैतिकहराम पतीत हुन सकिनँ । धुत्र्याइँ गरेर ठग्न सकिनँ अरूलाई । छुल्याइँ गर्न सकिनँ । ठूलाको गुलामी गरी तरमार्न पनि सकिनँ । यसो भएपछि मेरो राम्रो र पाको लेखक बन्ने सपना पनि सकियो । सहरको रवैया हेर्दा यस्तै लाग्छ मलाई । यहाँ त चर्चित लेखक बन्न खासमा लेख्न पनि पर्ने रहेनछ । भ्रमको खेती गर्नसके पुग्ने रहेछ । गुट बनाउन सके, हल्ला चलाउनसके पुग्ने रहेछ । नियोजित सञ्जाल बनाएर एकअर्काको डम्फू बजाए पुग्ने रहेछ । यस्ता योग्यता नपुगेपछि म कसरी साँचो अर्थमा लेखक बन्न सक्नु र ?
‘म पनि सर्जक हुँ’ भन्ने भ्रममा बाँच्नु पनि बेकार रहेछ– सहरमा सर्जक बन्ने सपना । वाह, क्या गजब † समयले नै गिज्याउला जस्तै लाग्न थालेको छ मलाई त । पवित्र मन बोकेर, स्वस्थ सिर्जनाको कल्पना गर्ने मजस्तो बबुरो सहरमा सर्जक बन्ने ? वाहियात सोच मानिँदो रहेछ यहाँ त । बुझ्दै छु काठमाडौं, जान्दै छु यो सहर । दु:ख लागेको छ, यति बुझ्नका लागि मैले जिन्दगीको धेरै महत्त्वपूर्ण वय खर्च गर्नुपरेको छ । मेरो लालीयौवन त यही बुझ्दै बितेको छ । मेरो त्यो समय यो सहरले फर्काउन सक्ला ? अरू मलाई केही चाहिँदैनथ्यो मेरो गुमेको समय पाउन पाए, म जहाँसुकै पनि खुसीले बाँच्न सक्थेँ, मर्न पनि सक्थेँ होला आनन्दले ।
यो सहर विश्वास गर्नलायक कुनै हालतमा पनि रहेनछ । ‘राम राम’ भन्ने नै सबैभन्दा हराम रहेछन् । सद्भाव राखेझैं गर्नेको साखुल्लेकै सञ्जाल जटिल रहेछ । जीवित रहेको आभाष भइरहँदा मरिसकिने रहेछ । साँच्चै ‘स्लो प्वाइजन’ खुवाइरहेछ राजधानी सहर । यति कुरो बुझ्दा रोगले ग्रस्त बनाइसकेको छ । अब पूर्णमुक्तिको सम्भावना नै रहेन ।
भएन मसँग पैसा, छैन शक्ति र सत्ता, वरपर मेरा आफन्त पनि छैनन् । छ भने मसँग सपना छ । त्यसैले नै मेरो सुनुवाई हुन सकेन । मलाई सोस्न मात्र खोज्यो । मेरो नियति छोक्रिनुमा मात्र हो त
अब ? प्रश्नहरूले घेर्न थालेका छन् । फट्याइँ गर्नेहरूका लागि मात्रै हो त काठमाडौं ? चरित्रहीन र लुच्याइँमा बाँच्नेहरूका लागि मात्रै हो त राजधानी ? धेरै प्रश्नहरूले एकसाथ घेर्न थालेका छन् ।
बित्थामा लान्छना लगाउने रहेछ राजधानी । हामीजस्तालाई स्विकार्न पनि मान्दोरहेनछ । मानौँ, हाम्रो केही अस्तित्व छैन । मान्छेका रूपमा रहेनौँ हामी । यहीँ फट्याइँ गरेर बाँचेका मात्रै खासमा मान्छेको परिभाषामा पर्छन् । यहाँ सोसिनु मात्र रहेछ, रहेछ छोक्रिनु मात्र ।

प्रतिक्रिया