पुड्किँदै छ धरहरा

धरहराको टुप्पामा चढेर ‘गणतन्त्र नेपालका पितामाता हामी नै हौँ’ भन्नेहरूले आमनेपाली जनतालाई गणतन्त्र आएको सूचना दिन चाहेनन् । त्यसो गरेर इतिहासलाई कोल्टे फेराएको सन्देश दिन सकिन्थ्यो । प्रतीकात्मक नै सही, त्यसरी धरहराको टुप्पोबाट ‘रातो र चन्द्र, सूर्य जंगी निशान हाम्रो’ को धुन बजाउन सकिन्थ्यो । यसरी नयाँ नेपालको नारासँग लखन थापाको सपनालाई गाँस्न सकिन्थ्यो, योगेन्द्रमान शेरचन र रत्नकुमार वान्तवा, भीमदत्त पन्त र यस्तै हजारौँ हजार सहिदको बलिदानसँग न्याय गर्न सकिन्थ्यो । जनताले मुुलुकको स्वामित्वको अनुभव गर्ने थिए । अझै पनि धरहरा धेरै ठाउँबाट देखिन्छ । तर, नेपाली राज्य सञ्चालकहरूले धरहरालाई राणाकालको कटुवालेका रूपमा मात्रै राखे । यसरी धरहरा जिल्ला जिल्लाबाट केन्द्र आएर केही दिन बस्ने र खल्ती रित्याएर फर्कने मानिसहरूका अस्थायी  निवास अर्थात् लजहरूले घेरिएको एउटा पातलो सुइरो मात्र बन्न पुगेको छ ।
यो भगवान् बुद्धका अर्धमुदित नयनले रक्षा गरेको देश हो । स्वयम्भूको अग्लो डाँडाबाट काठमाडौं नियाल्दा एक अलौकिक भूमि देखिन्छ । काठमाडौंका थुप्रै एन्टिक वस्तुहरूले एउटा सभ्यता निर्माण गरेका छन्, सभ्यता साँचिरहेका छन् । सयौँ वषदेखि काठमाडौंको बीचसडकमा ठिंग उभिएको धरहरा क्युरियोको एउटा एन्टिक वस्तुझैँ लाग्छ । काठमाडौंको भिडभाडमा, आफूभन्दा पनि अग्ला अग्ला भवनमाझ एक्लै र भिन्नै देखिएकै छ धरहरा । काठमाडौंलाई शताब्दियौँदेखि दृष्टि दिइरहेको छ धरहराले ।
सुन्धारामा उभिएको धरहरा विसं. १८८२ मा महारानी ललित त्रिपुरसुन्दरीदेवीको नाममा निर्माण गरिएको हो । यसको निर्माता नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापा हुन् भनिन्छ । त्यसैले यसलाई ‘भीमसेन स्तम्भ’को नामबाट पनि पुकारिन्छ । सैनिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन तत्कालीन समयमा धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । बिगुल बजेको सुनेपछि जंगी वा निजामती कर्मचारी कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य मानिन्थ्यो  । पहिला धरहरा १२ तले थियो तर, १९९० सालको महाभूकम्पले  धरहरा भत्कियो र त्यसको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री  जुशद्धशमशेर जबराले नौ तले बनाई साताँै तलामा बार्दली राखी पुन:निर्माण गरेका थिए । ६१.८८ मिटर उचाइ (२०३ फिट) को धरहराभित्र २१३ सिँढी र बाहिर २५ सिँढी छन् । धरहराको एक सय ८८ सिँढी उक्लेपछि बार्दली आउँछ, जहाँबाट काठमाडौं हेर्न सकिन्छ । धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिंग छ । टुप्पोमा गजुर भएको ऐतिहासिक स्मारक धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । धरहरा मुगल शैलीमा निर्माण गरिएको छ र यसको वरिपरि पर्खाल छ, जुन युरोपेली शैलीमा निर्मित छ । धरहराको निर्माण बज अर्थात् सुर्की चुना, मास र चाकुको मिश्रणबाट भएको हो । अहिले सहर सिमेन्टको जंगल बनेको छ, जताततै कुममा कुम ठड्याएर उभिएका सिमेन्टका अग्ला घरहरू । धरहरा दिउँसोको उज्यालोमा अनेक रंग पोतिएका सहरी मान्छेहरूको दौडधुप हेर्न व्यस्त हुन्छ ।

०६१ माघ १ गते सर्वसाधारणका लागि खुला गरिएको धरहरा चढ्नेहरू दैनिक सयौँ हुन्छन् । अनेक चरित्रका मान्छेको ओहोरदोहोर हुन्छ । धरहराबाट हाम्फालेर आत्महत्या गर्ने मित्रलाल अधिकारी सम्झन्छु । उसका थुप्रै व्यक्तिगत रुचि/रहर अनि लक्ष्य आदि थिए होलान् । केही मानवीय/दानवीय स्वभाव पनि † अनि थिए होलान् केही मित्र/शत्रु । कत्तिले भने होलान्– धत्तेरिका त्यसरी पनि कोही मर्दो हो † तर, उसको त्यो हदसम्मको आँट एउटा विद्रोह थियो । उसको सम्झना पनि अब त कुनै पुरानो समयजस्तै हुन सक्ला । हो, आत्महत्या कुनै नौलो खबर होइन । तर, सारा सहरको अगाडि मध्यदिउँसो सारा मान्छेले देख्ने गरी गरिएको आत्महत्या ‘बोल्ड खबर’ थियो । बिचरा ऊ पत्रकार र माथि उठ्न नसकेको लेखक थियो । राजनीतिमा पनि थियो तर सफलताको सिँढी चढिसकेको थिएन ।
धरहराबाट के–के देखिन्छ ? मित्रलालजस्ता डिप्रेस्ड, स्वप्न र दु:स्वन भरेर कुदिरहेका मान्छेहरू, फोहोर र धुवाँमा डुबेको कालो सहर । यहाँका गणतन्त्रका शासकहरू ढुक्ने सिंहदरबार, तलेजु, कुमारी अनि स्वयम्भू…।

कुनै समय कति बिघ्न अग्लो लाग्थ्यो, सालिकजस्तै ठिंग उभिएको धरहरा । तर, अहिले समयले हेपेको छ यसलाई । भीमकाय घरहरूले यसको सौन्दर्य लुछेका छन् । छेउछाउका सिमन्टेका टावरहरू अग्लिँदै जाँदा यो निरीह बनेर पिता भीमसेन थापालाई सम्झिरहेको होला– ‘पिताश्री, अब मानिसहरू हामीलाई सम्मान गर्न छाडेका छन् †’ धरहराको त्यो पुरानो चार्म कहाँ बाँकी छ र ? लाग्छ, थाहै नपाई घट्दै छ यसको उचाइ ।  लगातार अग्लिन चाहने छिमेकीसँगको दौड हारिसकेपछि मात्रै थाहा पायो, उसले आफ्नो उचाइ । अघिल्तिरका आफूभन्दा अग्ला नेपाल टलिकमको भवन र अरू प्राइभेट घरहरू देखेरै उसलाई अत्यास लाग्दो हो । उचाइको निम्ति पनि रणनीति चाहिने रहेछ । कस्मेटिक र पुँजीवादी समाजमा अरूलाई जितिछाड्नका निम्ति कस्ता–कस्ता सपना हुँदा हुन् † पल्लो घरसँग तुलना गरिहेर्दा पो देखिन्छ, आफ्नो प्रगति । यो मानेमा धरहरा प्रगतिशून्य देखिन्छ । धरहराछेउको सुन्धारामा अहिले सुन छैन, सुक्खा आँसु मात्रै बग्छ ।
उसले रानीपोखरीसम्म लम्केर हेर्छ कि हेर्दैन होला, आफ्नो प्रतिविम्ब † महाभूकम्पले हल्लाएपछि उसको शिर साह्रै झुकेको छ । अहिले शिर उठाएर हेर्न सक्दैन दुनियाँलाई र दिनदिनै भासिँदै छ । आफ्नो निर्माता भीमसेन थापाकी श्रीमतीलाई नांगेझार पारेर बजारमा तमासा बनाउँदाको जिउँदो साक्षी पनि त हो यो ‘टावर’ । हाम्रा ‘टावर लिडर’ वा ‘टावरिङ पर्सन्यालिटी’हरूले धरहरालाई फुच्चे बनाइदिएका छन् । सँगैको सुन्धारा तिर्खाएको छ । उचाइको खोजीमा आकाश छुन लालायित सहरका, धरहराका छिमेकी यी आलिसान भवनहरू उसैको अघिपछि मात्रै किन अग्लिएका होलान् ? धरहरा साक्षी छ इतिहासका धेरै घटनाहरूको ।

म खाली दिमाग लिएर सहिदगेटदेखि पर्तिर पश्चिमपट्टिको धरहराअघिको पार्कको एउटा कुनाको बेन्चमा बसिरहेको छु, प्लान केही छैन । बाहिर होहल्ला छ, गाडीको घ्यारघ्यारले तनाब भइसक्यो । पार्क साह्रै अशान्त छ । सबै आ–आफ्नै पारामा छन्, कोही एक्लै छन्, कोही गर्लफ्रेन्डसँग । धरहरा चढ्नेहरूको भिड छ, टुप्पामा पनि भिड नै छ । टिकट लिँदै देह–जाँच गराउँदै धमाधम भित्र पस्नेहरूको लर्को छ । एकपट्टि कुनामा धरहरा चढेर पुरुषार्थ देखाएजसरी अत्तालिँदै आफ्नो अनुभव सेयर गरिरहेका छन् । मचाँहि सबैतिर नजर पुर्‍याइरहेको छु, डायरीमा केही टिप्दै कोही चिनिएका अनुहार देखिन्छन् कि खोज्दै छु । एकाएक भीमसेन थापाको प्रेत मेरो अगाडि आउँछ र मेरो गालामा थप्पड मारेर अलप हुन्छ ।

नेपाली इतिहासविद्हरूको दाबी छ– नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले दुईवटा धरहरा निर्माण गराएका थिए । इतिहासकार राजाराम सुवेदीको ‘प्राचीन नेपाल’ किताबको १४ पृष्ठमा लेखिएअनुसार, भीमसेन थापाले आफ्नो निवास बाघदरबारको आडैमा विसं. १८८१ मा आफ्नै नाममा पहिलो धरहरा बनाउन लगाए । बाघदरबार भीमसेन थापाको निजी दरबार थियो । सो धरहरा निर्माण गरेलगत्तै एक वर्षपछि अर्थात् विसं. १८८२ चैतमा महारानी ललित त्रिपुरसुन्दरीदेवीले अर्को धरहरा बनाउन लगाइन् । तर, बागदरबारको धरहराको अभिलेखको पत्तो लागेको छैन । तापनि १९९० को भूकम्पपछिको अभिलेखमा पहिलो धरहराको स्थितिको पनि वर्णन छ । भीमसेन थापालाई बडामहारानी त्रिपुरसुन्दरीले आफ्नो नाममा बनाउन लगाएको हालको धरहरा पुगनपुग एक सय १० वर्षसम्म यथावत नै रह्यो । विसं. १८९० मा भयंकर भूकम्प गयो र भीमसेन थापाले आफ्नो निवासमा बनाएको धरहरा नराम्रोसँग चर्कियो । ती दुवै धरहरामा एउटालाई ‘उपल्लो धरहरा’ र अर्कोलाई ‘तल्लो धरहरा’ नाम दिइएको थियो । जनरल भीमसेन थापाले निर्माण गरेको धरहरा १८९० सालमै भत्केको कुरा चित्तरञ्जन नेपालीले उल्लेख गरेका छन् । महारानी त्रिपुरसुन्दरीको विसं. १८८८ मा मृत्यु भएपछि भीमसेन थापा कमजोर हुँदै गए र उनको धरहरा निजी भएकाले पुन:निर्माणमा कसैले वास्ता गरेनन् । तर, महारानी त्रिपुरसुन्दरीको नामको धरहरा सरकारी भएकाले त्यो भत्किएपछि पुन:निर्माण गरियो । श्री ३ चन्द्रशमशेरले इतिहास लेखाउन बोलाएका अंग्रेज इतिहासकार पर्सिभल ल्यान्डनले पनि भीमसेन थापाको बागदरबारको धरहरा र हालको सुन्धाराको धरहराबारे उल्लेख गरेका छन् ।

इतिहासले हौवा पनि बोल्छ– बनेको एक सय चार वर्षपछि जंगबहादुरले धरहराबाट हामफालेका थिए रे † उनको वंशले पनि एक सय चार वर्षसम्म शासन गर्‍यो । एउटा कुरा पक्का हो, नेपाली रक्तरञ्जित इतिहासका धेरै पानालाई धरहराले आफ्नो अनुभवमा सुरक्षित राखेको छ । काला कौवाहरूका बीचमा एक्लो बकुल्लो बिचरा,  टाटे–पाटे अनगिन्ती झुप्रादेखि आलिसान महलका बीचमा आफ्नो मक्किँदै गएको बूढो मौलिकता बोकेर सुइरिइरहेको छ, धरहरा ।
धरहरा एउटा मिथक हो, जसले एकताको महत्त्व चित्रित गरेको छ । मानव जातिको सयौँ वर्षको इतिहास, संस्कृति, ज्ञान र अनुभवको समुच्चय हो यो । कालक्रममा रोचक कथाका रूपमा इतिहासको इतिवृत्तान्त संकलन गरेको छ उसले । यसको माध्यमबाट नेपालीले कलात्मक र प्रतीकात्मक ढंगले इतिहास, संस्कृति, ज्ञान र अनुभव संरक्षण र पुस्तान्तरण गरेका छन् । नेपालीको उतार–चढाब, प्राप्ति–अक्षमता र उसका प्रत्येक क्रियाकलापका कथा एवं व्यथाको कालजयी अनुभव धरहरासँग छ । लाग्छ, धरहरा भिडका देवता हुन् । भिडमा मानिसले आफूलाई बिर्सन्छ । र, धरहराले पनि आफूलाई बिर्सेको छ । एकातर्फ धरहराले त्यस समयको, समाजको रहस्य, मानिसको क्षमता र सम्भाव्यताहरूको संकेत गर्छ । व्यक्ति र समाजलाई गहिराइसम्म बुझ्न सघाउँछ । अर्कोतर्फ यसले इतिहासको अध्ययन गर्न सिकाउँछ । धरहराले रहस्यमा, अवर्णनीयतामा, अनन्ततामा समाज र जीवनको प्रतिविम्ब देखाउँछ ।

राजधानी आउँदा सधँै धरहराको बाहिरी आवरण मात्र देखेकी थिइन्, इलामकी शारदा नेपालीले । धरहरा चढेर काठमाडौंको दृश्य हेर्ने सपना कहिल्यै पूरा भएको थिएन । उमेरले ६ दशक टेक्ने बेलासम्म पनि धरहरा चढ्ने धोको पूरा नहुने हो कि भन्ने चिन्ता थियो उनलाई । तर, आज उनको सपना पूरा भएको थियो । ‘२०३३ सालमै काठमाडौं आउँदादेखि धराहरा चढ्न मन लागेको थियो बल्ल आज पाइयो,’ दुई सय तेह्र खुड्किला चढेर धरहराको टुप्पामा पुगेपछि उनले भनिन्, ‘ओहो काठमाडौं त यस्तो पो भइसकेछ ।’ त्यसताका जंगलै–जंगलजस्तो देखिने ठाउँमा अहिले घर–घर देख्दा उनलाई अनौठो लागेको छ । उनी मात्रै होइन, पहिलोपटक धरहरा चढ्ने र दूरदेखि काठमाडौं आउने धेरैले यस्तै अनुभव सँगालेका छन् । बदलिँदो काठमाडौंका दृश्यलाई एकैपटक आँखामा कैद गर्न पाउँदा धेरैको अनुभव रोचक हुन सक्छ । करिब ६ रोपनी क्षेत्रमा फैलिएको धरहरामा थुपै्र कुरा छन्, जहाँ नयाँ नेपालको सुसाहट अनुभव गर्न सकिन्छ । तर, खोइ के हो नयाँ नेपाल ? कसैसँग स्पष्ट उत्तर छैन ।

नजिकैको अर्को एतिहासिक स्थान सुन्धाराको त झन् कसैलाई वास्तासमेत छैन । नजिकैको धरहरा सबैको आकर्षणको केन्द्र बन्दा त्यत्तिकै आकर्षक र त्योभन्दा पुरानो, मल्लकालको एक महत्त्वपूर्ण धरोहर कलात्मक सुन्धारा भने हिलो, मैलो र फुंग रंग उडाएर बस्न बाध्य छ । काठमाडौं महानगरपालिकाले साइडवाकर्सलाई २० वर्षका लागि सुन्धारा क्षेत्र भाडामा दिने सहमति गर्दा धरहरा मात्र होइन, सुन्धाराको पनि मर्मतसम्भार र संरक्षण गर्ने जिम्मा तोकेको थियो । तर, साइडवार्कसले धरहरालाई घेरेर आफ्नो कब्जामा पारी पैसा मात्र कमाउने दाउ राखेको देखिन्छ । केशव स्थापित मेयर भएको समयमा धरहरा भाडामा लगाइएको थियो ।
उमेरकै कुरा गर्ने हो भने निकै पाको छ धरहरा । भोगाइ, बुझाइ र अनुभवमा पनि उसले सबैलाई जित्छ । मूक तमाशा हेरेर कुन दिन ढल्ने हो भनी निश्चल प्रतीक्षारत मुद्रामा निरर्थक उभिएको धरहराको अनुभव, भोगाइ कसैसँग साटिँदैन । आफँैभित्र गुम्सिाएर उभिरहेको यो धरहराले कसलाई साट्ला आफ्नो अनुभव ? कहिलेकहीँ त यस्तो लाग्छ, यो छाया हो समयको र ढुंगामाटाले बनेकै होइन । नेपाली समयको, इतिहासको सेतो भूत हो । यसले देखेको छ शासकको अत्याचार, टुलुटुलु हेरेको छ, थुप्रै परिवर्तन । तर, धरहरा बोल्दैन । केही छैन देखेको भन्छ । त्यसैले यो भूत घर हो, धेरै कुरा देख्छ तर, केही बोल्दैन । यसलाई थाहा छ, थुप्रै षड्यन्त्र र हत्याकण्डका इतिहास । थुपै्र शासकको उदय र पतन । यो बोलिदियो भने, थुपै्र शासकका अनुहार काला ठहरिनेछन् । थुप्रै साधु बलात्कारी र दलाल भेटिनेछन् । सायद त्यसैले बोल्न चाहँदैन ऊ ।

प्रतिक्रिया