मत-विमत

लेखन मेरा लागि लडाइँ हो

सौर्य अनलाइन २०६९ भदौ १६ गते २:१८ मा प्रकाशित

समकालीन नेपाली साहित्यमा नयनराज पाण्डे खासगरी उपन्यासकारका रूपमा चर्चित छन् । नेपालगन्जतिर हुर्के बढेकाले त्यहाँका कथा लेख्न उनलाई निकै सहज हुन्छ । ‘उलार‘ र ‘लू’ उपन्यास औधि रुचाइएका नयनका ‘निदाएँ जगदम्बा’ र ‘खोरभित्रको जोकर’ नामक कथासंग्रह पनि बहुप्रशंसित छन् । सिनेमाको पटकथा लेखन र निर्देशनमा पनि क्रियाशील भएकाले कतिले उनका आख्यानमा फिल्मी नाटकीयता देखिने टिप्पणी पनि गर्छन् ।

अहिले के लेख्दै हुनुहुन्छ ?
अलिक फरक विधातिर प्रवेश गर्ने योजनातर्फ पनि केही काम गर्दैछु ।
तपाईं कसका लागि लेख्नुहुन्छ ?
म समाजको जड चेतनामाथि हस्तक्षेप गर्न चाहनेहरूका निम्ति लेख्छु ।
तपाईंका पात्रहरूसम्म रचनाको प्रभाव पुग्दैन, जस्तै ‘उलार’को प्रेमललवा । तराईको कुनै ‘प्रेमललवा’ले आफ्नो कथा पढेर कहिले रोमाञ्चक हुन पाउने ?
पात्रसम्म रचनाको प्रभाव पुर्‍याउन सके त काइदा हुन्थ्यो नि । तर, सधैँ यही सोच राखेर पनि हुँदैन । आफूले रचनामार्फत उठाएको विषयतर्फ अरू पाठकहरूको पनि ध्यान आकृष्ट होस् भन्ने चाहना पनि राख्नुपर्छ लेखकले । कहिलेकाहीँ समाजका उपल्ला तप्काका मान्छेहरूको ध्यान आकृष्ट गर्न पनि लेख्नुपर्ने हुन्छ । तर, समग्रमा रचनाको सन्देश अथवा संवेदना आम मान्छेसम्म पुगोस् भन्नेतर्फ सबै सचेष्ट हुनुचाहिँ पर्छ । प्रेमललवाले उलारमा आफ्नो कथा पढ्न पाएको छैन । तर, उसका दु:ख र पीडालाई अरूले पढिरहनुभएको छ र त्यसप्रति चासो र सरोकार राखिरहनुभएको छ । मैले त खोजेको नै यही ।
तपाईंको कथा धरातलीय नै हुन्छ । तर, लेखनचाहिँ फिल्मी टाइपको रोमाञ्चक हुन्छ भन्छन् नि †
कथा लेखेर मात्र हुँदैन । त्यो वैचारिक पक्षले सबल पनि हुनुपर्छ । कला र शिल्प पक्ष पनि उत्तिकै सशक्त हुनुपर्छ । कथा भन्ने शैली आकर्षक हुनुपर्छ । म त्यसतर्फ पनि सचेत छु । म कथालाई पत्यारिलो र रोचक हुने हदसम्म जुन किसिमले प्रस्तुत गरे पनि हुन्छ भन्ने सोच्छु । आजसम्म कसैले मेरो कथा वा उपन्यासमा फिल्मको प्रभाव छ भनेको थाहा छैन । तर ‘लू’ मा भने मैले सिनेमाको प्रविधिलाई प्रयोग गरेकै हुँ । तर, यसैले त्यति भारी कथानकलाई पनि पाठकहरूले रुचाइरहनुभएको छ । नत्र ‘लू’ केही बौद्धिक पाठकहरूको बुद्धिविलासको साधन मात्र हुन्थ्यो, पठनीय नहुन पनि सक्थ्यो । यत्तिको नरुचाइन पनि सक्थ्यो ।
तपाईंका पात्रहरूको र तपाईंको जीवनशैली कतै पनि मेल खाँदैन । तपाईंका कथाले ती पात्रलाई उपदेश मात्रै दिन खोजेको हो ?
म साधारण जीवन शैली बिताउने मान्छे । मध्यमवर्गको मान्छे । त्यसैअनुसारको  जीवनशैली छ मेरो । मैले ऐय्यासी जीवन बिताएको छैन । तर, मेरो सरोकार समाजका ती तल्लो तप्काका व्यक्तिप्रति केन्द्रित छ, जो युगौँदेखि उपेक्षित, उत्पीडित छन् । तिनीहरू नै मेरा रचनाका नायकहरू हुन् । उनीहरूको दु:ख/पीडा नै मेरा रचनाका विषय हुन् । म त्यही लेख्छु, जुन मैले देखेको छु, भोगेको छु । म लेखकले कसैलाई पनि आफ्नो रचनामार्फत अर्ति उपदेश दिनु हँुदैन भन्ने मान्यता राख्ने मान्छे । ल, मेरो कुनै एउटा चार लाइनको भए पनि त्यस्तो रचना देखाइदिनुस्, जसमा मैले उपदेश दिएको होऊँ ।
मधेसमा स्वात्तताको कुरा भइरहेको छ । तर, त्यहाँभित्रका सीमान्तकृत वर्गलाई उच्च जातिका भनिनेहरूले पहाडमा भन्दा पनि बढी शोषण गर्छन् । तराईका सवालहरूमा अहिलेको लेखनको भावभूमि के हो ?
लेखनमा मधेस र मधेसका सवालहरू निकै कम आएका छन् । आएका मध्ये पनि कति मनोगत कुरा छन् । मधेसमा दश/पन्ध्र दिन घुमेर मधेसको कुरा सतही किसिमले लेख्ने र के–के न लेखेँ भनेर आत्मरतिमा रमाउनेहरू पनि छन् । मधेसका मुद्दाहरू के हुन्, मधेसले कस्तोखालको परिवर्तनको अपेक्षा गरेको छ । यो पनि बुघ्नुपर्छ । मधेसप्रति हाम्रा कतिपय लेखकका धारणहरू स्पष्ट छैनन् । मधेसको समाजलाई त्यसको भित्री तहसम्म गएर बुघ्ने र लेख्ने काम कम भएका छन् । मधेसीहरूलाई सोझै भारतपरस्त हुन् भनेर हामीले आम सोच बनाएका छौँ । जबकि मधेसीहरू नै भारतबाट सबैभन्दा बढी पीडित छन् । सीमा समस्यालगायत भारतले ठाउँठाउँमा बनाउँदै गरेका बाँधका कारण मधेसीहरूले डुबानलगायतका अनेकौँ समस्या भोगिरहेका छन् । एसएसबीको उत्पीडन पनि उनीहरूले नै भोगिरहेका छन् । हामीले त गर्व गर्नुपर्छ कि यस्तो स्थितिमा पनि मधेसीहरू हाम्रो देशको सीमा रक्षक भएर उभिएका छन् । त्यसैले अहिले मधेसले आफ्नो पहिचान र परिचय खोज्नु धेरै हदसम्म मलाई जायज लागेको छ ।
तपाईंका उपन्यास ‘उलार’, र ‘लू’को ‘कन्टेन्ट’मा मधेस आन्दोलन अनि त्यसले निम्त्याएको जातीय र धार्मिक वैमनस्य अभिव्यक्त भएका छन् । तर, तिनको समाधानचाहिँ छैनन् नि ?
समाधान दिने काम मेरो होइन । मैले दिएको समाधान नै काम लाग्छ भन्ने के ग्यारेन्टी छ ? मैले यथार्थ देखाइदिने हो । त्यहाँको समस्या, त्यहाँका पात्रहरूको मानसिकता र तिनीहरूको भित्री चाहनालाई पाठकहरूसमक्ष ध्यानाकृष्ट हुने किसिमले राखिदिने हो । समस्याका कारणलाई इमानदारीपूर्वक देखाइदिने हो । साहित्य एनजिओको प्रतिवेदन त होइन नि । कुनै पार्टीको दस्ताबेज पनि त होइन साहित्य । समस्याको स्वाभाविक ढंगले समाधान पनि दिन सकिन्छ भने समाधानको बाटो देखाउँदा ठीकै होला । तर, प्रायोजित खालका समाधानले पाठकीय चेतनामाथि हस्तक्षेप गर्छ भन्ने मान्यता राख्छु म ।
मूलधारको साहित्यमा मधेसको मुद्दाले कत्तिको स्पेस पाएको छ ?
यसबारेमा अघि पनि हामीले कुरा गरिसक्यौँ । मधेस र मधेसको मनोविज्ञानलाई हामीले अझै राम्ररी बुघ्न  जरुरी छ । मधेसका धेरै कुरालाई साहित्यको मूलधारमा जोडदार ढंगले स्थापित गर्न अझै धेरै बाँकी छ ।
तपाईंका कथा आफ्नै अनुभव वा अनुभूतिबाट जन्मेका हुन् कि ती सीमान्तकृत पात्रका कथाहरूमा काल्पनिकता हाबी हुन्छन् ?
अनुभव र अनुभूति नै त हो लेखनका लागि सबैभन्दा आवश्यक कच्चा पदार्थ । आफूले देखेका, भोगेका कुराहरू लेख्दा पाठकहरूका लागि बढी विश्वसनीय हुन्छन् । यथार्थको धरातलमा टेकेरै कल्पनाको उडान गर्नुपर्छ लेखकले । यथार्थबाट टाढा रहेर गरिएको कल्पनाको उडानले रोमाञ्चक साहित्य त सिर्जना गर्न सक्ला तर जमिनसित जोडिएको साहित्य सिर्जना गर्न त गाह्रै पर्छ । म साहित्य जमिनसित जोडिनुपर्छ भन्ने मान्यता राख्ने लेखक हुँ । लेखक आफ्नो रचनाकर्मप्रति जिम्मेवार हुनैपर्छ भन्ने लाग्छ । मैले धेरैपटक भनेको छु, लेखन मेरो लागि रहर होइन, लडाइँ हो ।
लेखनमा आफ्नो हृदयलाई मात्र पोख्न चाहनुहुन्छ कि पाठकलाई पनि ध्यानमा राख्नुहुन्छ  ?
अब आफ्नो हृदयका कुरा मात्र गरेर, मनोगत कुराहरू पस्केर यही हो आजको साहित्य भन्ने दिन गए । पाठकहरूको चेतना र उसको स्तर अनि मनोविज्ञानलाई पनि लेखकले बुझ्न सक्नुपर्छ । सूचना र सञ्चारको सुविधा र त्यसले बनाइदिएको विश्व साहित्यसम्मको सहज पहँुच आदि कारणले आजको पाठक एकदमै सचेत भैसकेको छ । त्यसैले लेखक पाठकहरूप्रति जिम्मेवार हुनै पर्छ । त्यसैले उसले जिम्मेवारीवोधका साथ साहित्य सिर्जना गर्नुपर्छ ।
कथा लेखनका पुराना दिन कस्ता थिए ?
पुराना दिनहरू सुन्दर भन्दा पनि स्मरणीय थिए । तिनै दिनहरूलाई छिचोलेर आजको दिनसम्म आइएको हो । त्यसैले ती दिन मेरा लागि स्मरणीय छन् । उपलब्धिमूलक पनि छन् । पहिला लेखेको कुराको बारेमा ढिलो चर्चा परिचर्चा हुन्थे, अहिले तत्काल रेस्पोन्स पाउन थालिएको छ । पहिले र अहिलेका पाठकहरूको चेतनामा फरक आएको छ । फेसबुक, ट्युटरजस्ता सोसल मिडियाहरूका कारण लेखक र पाठकबीच तत्काल सम्पर्क हुन थालेको छ । अहिले लेखक पाठकको एकदम नजिक पुगेको छ । पहिला यसका लागि धेरै कसरत गर्नुपथ्र्यो ।
लेखनमा कत्तिको जोखिम उठाउनुहुन्छ ?
जोखिम नउठाइ राम्रो लेख्न सकिन्छ जस्तो लाग्दैन मलाई । प्रशस्त जोखिम उठाएको छु । मेरो एउटा कथा ‘निदाएँ जगदम्बा’ पढ्नुस् । मैले कतिसम्म जोखिम मोल्न सकेको छ, बुझिहाल्नु हुन्छ ।
अहिले नेपाली कथामा के खट्किरहेको छ जस्तो लाग्छ ?
त्यस्तो खासै खट्किने कुरा त केही छैन । तर, अबका कथामा विषयगत अनुसन्धानको पक्ष सबल हुनुपर्छ जस्तो लाग्छ । पहाडमा बसेर अखबारमा समाचार पढेको भरमा हिमाल वा मधेसका कुरा लेखेर हुँदैन । त्यस विषयमा प्रशस्त अध्ययन, अनुसन्धान गर्नुपर्छ । अब पाठकलाई ठगेर लेख्नेका दिन गए ।
नेपाली आख्यानले राजनीतिलाई कसरी प्रभावित पारिरहेको छ ? र, हाम्रो साहित्य यो मामिलामा कत्तिको प्रभावकारी छ ?
राजनीतिले हाम्रो शयनकक्षसम्म हस्तक्षेप गर्छ । त्यसैले राजनीतिबाट निरपेक्ष हामी कोही पनि हुन सक्दैनौँ । तर, आख्यानले राजनीतिलाई कसरी प्रभाव पारेको छ, त्यसको लेखाजोखा मबाट सम्भव छैन । साहित्यले आजको भोलि नै प्रभाव पार्ने पनि त होइन । यसले त समाजमा चेतनाको निर्माण गर्ने हो र बाँकी काम त्यही चेतनाले गर्ने हो । साहित्य लामो लडाइँ हो ।
तपाईंलाई मर्न डर लाग्छ कि नराम्रो कथा लेख्न ?
मर्न । किनभने बाँचे राम्रो लेख्न सकिने आशा पनि त हुन्छ ।
–प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय