अवार्ड मनोनयन सार्वजनिक

लन्डन, १५ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विभिन्न ११ विधाको अवार्डका लागि बिहीबार मनोनयन सार्वजनिक गरेको छ । आठ विधामा चार र बाँकीमा पाँच उम्मेदवार मनोनयन भएका छन् ।
श्रीलंकाका कुमारा सांगाकारा चार र दक्षिण अफ्रिकाका भर्नान फिलान्डर तीन विधामा मनोनयनमा परेका छन् । सांगाकारा र फिलान्डरसँगै दक्षिण अफ्रिकाका हसिम अमला र अस्ट्रेलियाका माइकल क्लार्क आइसिसी वर्षखेलाडी र आइसिसी टेस्ट वर्षखेलाडी दुवैका लागि मनोनयनमा परेका छन् । एकदिवसीय वर्षखेलाडी र पिपल्स चोइस अवार्डको मनोनयनमा पनि सांगाकाराको नाम छ ।
सांगाकारासँग पिपल्स चोइस अवार्डका लागि पनि फिलान्डरको प्रतिस्पर्धा हुनेछ । एकदिवसीय वर्षखेलाडीमा श्रीलंकाबाट सांगाकाराका अतिरिक्त लसिथ मालिंगा पनि परे भने बाँकी उम्मेदवारमा भारतका महेन्द्रसिंह धोनी र विराट कोहली छन् ।
आइसिसी टी–ट्वान्टी अन्तर्राष्ट्रिय पर्फर्मेन्स अफ द इयरमा श्रीलंकाका तिलकरत्ने दिलसान र अजन्था मेन्डिस तथा वेस्ट इन्डिजका क्रिस गेल र दक्षिण अफ्रकाका रिचार्ड लेभीले प्रतिस्पर्धा गर्नेछन् । आइसिसी इमर्जिङ क्रिकेटर अफ द इयरको मनोनयनमा न्युजिल्यान्डका डौग ब्रेसवेल, श्रीलंकाका दिनेश चण्डीमाल, वेस्ट इन्डिजका सुनिल नारायन र अस्ट्रेलियाका जेम्स प्याटिन्सन परे । पाकिस्तानका मोहम्मद हाफिज, दक्षिण अफ्रिकाका ज्याक कालिस, न्युजिल्यान्डका डयानिएल भिटोरी र दक्षिण अफ्रिकाका एब डी भिलियर्स आइसिसी स्प्रिट अफ क्रिकेट अवार्डका लागि मनोनयनमा परे । पिपल्स चोइस अवार्डका लागि इंगल्यान्डका जेम्स एन्डरसन, दक्षिण अफ्रिकाका ज्याक कालिस र भारतका सचिन तेन्दुलकरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया