‘निकासको मार्गचित्र चाँडै दिनुस्’

काठमाडौं, १५ भदौ । राष्ट्रपति डा. रामवरण यादवले प्रमुख चार दलका शीर्ष नेताहरूलाई संविधानसभा पुन:स्थापना वा नयाँ चुनावमा जाने विकल्पबारे स्पष्ट मार्गचित्र चाँडै तय गर्न आग्रह गरेका छन् । राष्ट्रपति डा. यादवले निकासका विषयमा दलहरू चाँडै सहमतिमा नपुगे संकट गहिरिने स्पष्ट पार्दै सहमतिमा निकास खोज्न आग्रह गरेका हुन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले बिहीबार राष्ट्रपतिसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा सामूहिक भेट गरेका थिए । राजनीतिक निकासका लागि भइरहेको प्रयासबारे बुझ्न राष्ट्रपतिले प्रमुख चार दलका नेतालाई शीतलनिवास बोलाएका थिए ।
‘मुलुकको अवस्थालाई लिएर राष्ट्रपति चिन्तित हुनुहुन्छ, उहाँले निकासका लागि सबै विकल्पमा छलफल गरेर टुंगोमा पुग्न आग्रह गर्नुभएको छ,’ राष्ट्रपतिसँगको भेटपछि एमाले अध्यक्ष झलनाथ खनालले भने, ‘संविधानका विवादित अन्तरवस्तुमा सहमति गरेर पुन:स्थापना गर्ने वा प्रक्रियामा गएर ताजा जनादेश लिने विषयमा छलफल भइरहेको जानकारी हामीले गरायौँ ।’
अध्यक्ष खनालले संविधानका विवादित मुद्दामा सहमति गरेर संविधानसभा पुन:स्थापना गर्ने र त्यसो हुन नसके नयाँ प्रक्रियामा गएर चुनाव गर्नुपर्ने धारणा व्यक्त गरे । खनालका अनुसार दलहरूबीच पछिल्लोपटक निकासका विषयमा संवाद सुरु भएको र संविधानसभा पुन:स्थापना वा नयाँ चुनावको दुई विकल्पमै छलफल भएको जानकारी राष्ट्रपतिलाई गराइएको थियो ।
‘निकासका लागि दलहरू छलफलमा सामेल भएका छौँ सबै विकल्पबारे छलफल गरेर चाँडै टुंगोमा पुग्छौँ भनेका छौँ,’ उनले भने ।
संविधानसभा विघटनपछि आरोप/प्रत्यारोपमा रहेका दलहरूले पछिल्लोपटक निकासका लागि थालेको संवादप्रति राष्ट्रपतिले खुसी व्यक्त गरेका थिए । ‘दलहरूबीच निकासबारे छलफल आरम्भ भएकामा राष्ट्रपति खुसी हुनुहुन्छ,’ भेटपछि कांग्रेस सभापति सुशील कोइरालाले भने, ‘पुन:स्थापना वा नयाँ चुनावका दुई विकल्पमध्ये एकमा सहमति गर्न सुझाव दिनुभएको छ ।’
राष्ट्रपतिले संविधानका विवादित मुद्दामा सहमति गरी संविधानसभा पुन:स्थापना वा त्यसो नभए नयाँ चुनाव पनि संविधानसभाको हुने वा संसद्को हुने भन्नेमा स्पष्ट टुंगो गर्न दलहरूलाई भनेका थिए । नयाँ चुनावमा जाने भए संविधानसभा वा संसद्को चुनाव र त्यसको संख्याबारे पनि स्पष्ट रूपमा सहमति गर्न नेताहरूलाई उनको सुझाव थियो ।
‘सहमति जुटाई संविधान ल्याउने विषयमा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभयो,’ फोरम लोकतान्त्रिकका अध्यक्ष तथा मोर्चाका संयोजक गच्छदारले भने, ‘संविधानका विवादित अन्तरवस्तुमा सहमति गरेर संविधानसभा पुन:स्थापना गर्ने र त्यसो नभए चुनावै हो भन्ने हाम्रो कुरा राखेका छौँ ।’
शीर्ष नेताहरूसँगको भेटमा राष्ट्रपतिले सरकार सहमतिमा भन्दा अध्यादेशमार्फत अगाडि बढ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए । उनले अत्यावश्यक विषय भए दलहरूबीच सहमति जुटाएर मात्रै अध्यादेश ल्याउन नेताहरूलाई सचेत गराए । ‘नभई नहुनेछ भने सहमति गरेर अध्यादेश ल्याउनुस्, नभए अध्यादेशबाट मुलुक चलाउने पद्धति बसाल्नु हुँदैन,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया