अरुभन्दा भिन्न संसार आफ्नै

काठमाडौं, १४ भदौ । चलिरहेका भन्दा अलि भिन्न कथानक बोकेको छ, संसार आफ्नैले । भन्न सकिन्छ, यसको कथा पनि मौलिक छ । ‘हिरो’ले जितेको कथालाई मरमसलासहित पर्दामा उतारेर दर्शकको ताली खाने ट्रेन्डबीच संसार आफ्नैले भने वियोगान्त ‘इन्डिङ’ का साथ सामान्य ‘रिस्क’ मोलेको छ, बजारसँग । निर्माणको हिसाबले बजारमा चलरिहेका चलचित्रको तुलनामा यसलाई राम्रो
मान्न सकिन्छ ।
शीर्ष भूमिकामा अभिनय गरेका गोविन्द शाही (अमर) र सुमन सिंह (प्रेम) को बेग्लाबेग्लै ‘केटी–चक्कर’ कथामा उतारिएको छ । सहरका केटीहरूसँग रोमान्स र मनोरञ्जनमा रमाएको प्रेमले केटीलाई ‘युज’ मात्र गरिरहेको हुन्छ । साथी अमरलाई पनि रोमान्स गर्न उक्साइरहेको हुन्छ । तर, अमर भर्खरै विदेशबाट फर्केको हुन्छ, स्वभाव अलि भिन्न छ । ऊ क्यानभासमा सधैँ केटीको चित्र बनाइरहन्छ तर सन्तुष्टि पाइरहेको हुँदैन । त्यसैले ऊ रिफ्रेस हुन गाउँ पस्छ । अमरले क्यानभासमा गाउँकै एक चञ्चले केटी हिमाली (नायिका झरना थापा) को पोट्रेट उतारेको हुन्छ । क्रमश: मायाको चक्करमा पर्छन् दुवै । ‘हिरोइन’ बन्ने सपना देखेकी हिमाली आफ्नो ‘हिरो’सँगै सहर पस्छे । सहरमा ऊ एउटा निर्देशकको जालमा फस्छे । यता सदैव रोमान्समै जिन्दगी बित्छ भन्ने सोचिरहेको प्रेम पनि त्यतिखेर झसंग हुन्छ जतिखेर उसले बिहे गर्ने झुटो आश्वासन दिएकी केटीले आत्महत्या गर्छे । यसबीच चलचित्र ‘क्लाइमेक्स टच’मा हुन्छ । प्रेमले साँचो प्रेम बुझ्छ अनि यता साँचो प्रेममै डुबेका अमर र हिमाली बिलखबन्दमा पर्छन् । आफ्नो प्रेमीलाई विष खुवाएर मार्नुपर्ने बाध्यतामा परेकी हिमालीले अन्तत: खलनायकले अह्राएकै काम गर्छे । प्रेमीलाई चिहानमा राखेर उसले पनि आत्महत्या गर्छे ।
समग्रमा चलचित्रले साँचो माया गर्ने प्रेमीप्रेमिकाको संसारलाई देखाउन खोजेको छ । पुरानो समयमा ‘हिट’ भएका चलचित्रले बोक्नेजस्तै कथानक वर्तमान समयमा पनि ठिकै लागेको छ । परम्परागत शैलीको निर्माणबाट चलचित्र उम्कन सकेको छैन । चलचित्रले केही नयाँ कुरा बोकेको तर पुरानै प्रस्तुतिलाई नयाँ तरिकाले प्रस्तुत गर्न खोजेको छ । कतिपय दृश्यले फोकस गरेका भावलाई समात्न सकेको छैन तर चलचित्रमा डुबिरहेका दर्शकले त्यो आभास नपाउन सक्छन् । अनावश्यक दृश्य राखेर चलचित्रलाई लामो बनाउने परिपाटीबाट भने यो चलचित्र मुक्त हुन खोजेको छ । निर्देशकले राम्रै क्षमता देखाएका छन् । हरेक चलचित्रको अत्यमा ‘लास्ट फाइट’ राख्नैपर्ने परम्परागत सोचबाट चलचित्र मुक्त छ । गीतका शब्द र चलचित्रको विषयवस्तुअनुसार कोरियोग्राफी उचितै लाग्छ । शीर्ष भूमिकामा खेल्ने गोविन्द शाहीको रोमान्टिक रोललाई उनको गेट अप र नरम स्वरले साथ दिएको छ । यता सुमन सिंहको भूमिकामा पनि उति खोट लाउने ठाउँ छैन । झरना थापाको परिपक्व अभिनय क्षमतालाई चलचित्रले चाहेजति निकालेको छ । नयाँ अनुहारका सहायक रोलका कलाकारको अभिनय अलि फितलो छ तर मुख्य भूमिकाका कलाकारले त्यसलाई मेकअप गरिदिएका छन् ।

प्रतिक्रिया