विद्यार्थीलाई आएको पैसामा रेक्टरको रजाइँ

काठमाडौं, १४ भदौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका शिक्षाध्यक्ष (रेक्टर) डा.श्रीकृष्ण गिरीले विद्यार्थीका लागि आएको करिब एक लाख अमेरिकी डलरमा आफै विद्यार्थी बनेर मस्ती गरेका छन् । पाँच जना विद्यार्थीलाई विदेशमा तालिम दिन आएको रकम उनी एक्लै चार देश घुमेर सकेका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरूलाई ‘जुनियर डाक्टर ट्रेनिङ’ शीर्षकमा ६० हजार अमेरिकी डलर र ‘हेल्थ स्टाटिस्टिक ट्ेरनिङ’ शीर्षकमा वार्षिक १९ हजार युरो दिने गरेको छ । डा.गिरीले विद्यार्थीका तर्फबाट कोही पनि तालिममा जान नमानेको भन्दै गत आर्थिक वर्ष डब्लुएचओले दिएको रकममा रजाइँ गरेका थिए ।
सो रकममा अध्ययनका लागि पठाउने नामको छनोट न्याम्सको एकेडेमी काउन्सिलले गर्छ, जसको अध्यक्ष डा.गिरी स्वयं हुन् । ११ सदस्यीय काउन्सिलमा डेढ वर्षदेखि ६ जना मात्रै छन् । उनीहरू पनि प्राय: गिरीले नै नियुक्ति गरेका भएकाले उनलाई निर्णय गराउन कुनै समस्या भएन । डब्लुएचओको पैसामा उनी एक्लैले अस्ट्रेलिया, श्रीलंका, स्विजरल्यान्ड र अस्ट्रिया भ्रमण गरेका थिए ।

डब्लुएचओले पोस्ट ग्रयाजुएट गरिरहेका चिकित्सकहरूलाई थेसिस लेख्न सिकाउने तथा रिसर्च गर्न सिकाउने उद्देश्यले विदेशमा अध्ययन गर्नका लागि उक्त शीर्षकमा रकम उपलब्ध गराउने गर्छ । गत आर्थिक वर्षमा कुनै पनि विद्यार्थी जान नमानेकाले आफू गएको डा.गिरीको दाबी छ । डब्लुएचओको पैसामा विदेशमा गएको कुरा गत ७ भदौमा न्याम्समा भएको छलफलमा उनले स्वीकार गरेका थिए ।
छलफलका एक सहभागीका अनुसार रेसिडेन्ट डाक्टरहरूले डब्लुएचओको पैसाको विषयमा कुरा उठाएपछि डा.गिरीले रेसिडेन्ट चिकित्सकहरूलाई अध्ययनका लागि जाने भनेर सोधेको तर कोही पनि जान नमानेपछि आफै गएको दाबी गरे । तर, उनले त्यस विषयमा कसैलाई नसोधी सुटुक्क निर्णय गराएको स्रोतले बतायो ।
विद्यार्थीको पैसामा शिक्षाध्यक्ष आफै अध्ययनका लागि जानुभएछ नि † भन्ने प्रश्न राख्दा डा.गिरीले अरू कोही जान नमानेकाले आफू गएको बताए । ‘वास्तवमा त्यो रकम विद्यार्थीका लागि भनेर नै तोकेर आएको थिएन । रकम आएपछि मैले अरूलाई जाने कोही छ भनेर सोधेको हुँ’, उनले सौर्यसँग भने, ‘तर अध्ययनका लागि जाने कोही नदेखिएपछि म गएको हुँ ।’ संगठनले जुन विषयमा अध्ययनका लागि रकम दिन्छ त्यो विषय निकै गाह्रो हुने भएकोले कसैले पनि आँट नगरेको उनको भनाइ छ ।
सो शीर्षकको रकममा तीन वर्षअगाडि न्याम्सको सहमतिमा युरोलोजीका डा.यौवनचन्द्र शिवाकोटी गएका थिए भने दुई वर्षअगाडि प्लास्टिक सर्जन डा.पीयूष दाहाल गएका थिए । तर, गत वर्ष भने रेक्टरले कसैलाई खबर नगरी आफै गएको थाहा पाएपछि वीर अस्पतालको हाडजोर्नी विभागका चिकित्सक र न्याम्समा अध्ययनरत आवासीय चिकित्सकहरूले भदौ पहिलो साता विरोध जनाएका थिए ।
यस विषयमा रेक्टर डा.गिरीसँग ६ गते कुरा गर्न खोज्दा ग्यास्ट्रो विभागका डा.जैनेन्द्र चौधरीसँग उनको भनाभन नै भएको थियो । संगठनको रकम र न्याम्सले ३ भदौमा एमडी, एमएस, एमसिएच, बिएन र स्टाफ नर्सको भर्ना खोलेको विषयमा छलफल हुँदा डा.गिरीले आक्रामक रूपमा कुरा गरेपछि झन्डै हातहालाहालको स्थिति आएको डा.चौधरीले बताए । डा.चौधरीले रेक्टरले आफूमाथि हातपात गरेको र सुरक्षाको अवस्था नरहेको भन्दै न्याम्स उपकुलपति डा.दामोदर पोखरेलसमक्ष उजुरी दिएका छन् । रेक्टर डा.गिरीले पनि चिकित्सकले आफूलाई हातपात गरेको भनी सुरक्षाको माग गर्दै उपकुलपतिसमक्ष उजुरी दिएका छन् ।
दुवैपक्षबाट आएको उजुरीलाई समाधान गर्न उपकुलपति डा.पोखरेलले छानबिन समिति बनाएका थिए तर छानबिन समितिले उपकुलपतिसमक्ष प्रतिवेदन बुझाउन नपाउँदै रेक्टर डा.गिरीले आफूनिकटका कर्मचारी संगठनलाई प्रयोग गरी न्याम्समा तालाबन्दी गराएका छन् । डा.गिरीले उपकुलपतिले चासो नदिएपछि कर्मचारीहरूले आफ्नो समस्या बुझेर आफै ताला लगाएको बताएका छन् ।
‘कर्मचारीहरूले मप्रति अन्याय भएको बुझेर नै यसो गरेका हुन्’ उनले भने तर न्याम्सका आवासीय चिकित्सकहरू भने डा.गिरीले छानबिन समितिमार्फत पोल खुल्ने डरले न्याम्समा ताला लगाउन लगाएको बताउँछन् । डा.गिरीको रेक्टरको पदावधि आगामी पुसबाट समाप्त हुँदै छ ।

प्रतिक्रिया