प्रशासनद्वारा अर्को स्पष्टीकरण

राजविराज, १४ भदौ । गत वर्षको दर्ता–चलानी किताबका बीचबीचमा खाली राखेर प्रयोगमा ल्याउनुपर्ने औचित्य पुष्टि गर्न राजविराज नगरपालिकालाई धौधौ परेको छ ।

यसअघि पठाएको पत्र चित्तबुझ्दो नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार दोस्रोपटक ताकेता गरेपछि नगरपालिकाका कर्मचारी समस्यामा परेका छन् ।
दुईवटा दर्ता–चलानी किताब प्रयोग गर्नुपर्ने उद्देश्य लिखितरूपमा शुक्रबार पेस गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको निर्देशनलाई बेवास्ता गरी आपतकालीन बैठक बसेर पठाएको पत्र चित्तबुझ्दो नभएको भन्दै पुन: अर्को पत्र आएपछि कर्मचारी अहिले छटपटीमा परेका हुन् । नगरपालिकामार्फत गत आइतबार पठाइएको पत्रमा गलत गर्ने मनसायले नभई भूलवश दर्ता–चलानी नम्बर खाली रहेको उल्लेख छ ।
नगरपालिकाले पठाएको पत्र चित्तबुझ्दो नभएकोले वास्तविक कुरा पेस गर्न मंगलबार पुन: अर्को पत्र पठाइएको सिडिओ हरिराज पन्तले बताए । ‘आइतबार पठाएको पत्र चित्तबुझ्दो देखिएन,’ सिडिओ पन्तले भने, ‘फेरि अर्को पत्र पठाइएको छ ।’ नगरपालिकाको जवाफ आएपछि के गर्ने भन्ने टुंगो लाग्ने उनले बताए ।
अत्यधिक रूपमा दर्ता–चलानी नम्बर खाली राखिएको विषय आफैमा गलत हो नि † भन्ने सौर्यको जिज्ञासामा छानबिनको विषय भएकोले जवाफ आएपछि कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय लिइने पन्तले बताए ।

प्रतिक्रिया