गाविस सचिवलाई मार्ने धम्की

दाङ, १४ भदौ । ढिकपुर गाविसका सचिवलाई उपभोक्ता समितिका अध्यक्षले नै मार्ने धम्की दिएका छन् ।

ढिकपुर गाविसमा विद्युत् विस्तारका लागि गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण शाहले अनियमितता गरेको प्रमाणित भएपछि गाविस सचिव खिमेन्द्रसिंह खड्कालाई ज्यानमार्ने धम्की दिएका हुन् । ढिकपुर गाविसअन्तर्गत बकुलाई, अस्परी, कर्मटुवा र भगुवारमा विद्युत् विस्तारका लागि तीन लाख रुपियाँको योजनामा भ्रष्टाचार गरेपछि गाविसको सर्वपक्षीय एवं सर्वदलीय बैठकले शाहसँग रकम असुल गर्ने निर्णय गर्नुका साथै शाहप्रति खेद व्यक्त गरेको थियो ।
१० भदौमा गाविसमा पुगेका शाहले आफूलाई तथानाम गाली गर्दै धम्क्याएको गाविस सचिव खड्काले बताए । मंगलबार गाविसमा बसेको सर्वपक्षीय बैठकले शाहविरुद्ध प्रहरीमा उजुरी दिने निर्णय गरेको छ । शाहले गाविसबाट ल्याएको पैसामध्ये सामान नकिनेर पनि बिल बनाएको पत्ता लागेपछि गाविस सचिव र राजनीतिक दलका प्रतिनिधिले घोराहीमा रहेको पसलबाट रकम फिर्ता लगेका थिए ।
गाविस सचिव खड्काले शाहले आफूलाई अपशब्द प्रयोग गर्दै गाली गरेको र ज्यानमार्ने धम्की दिएकाले सुरक्षाका लागि प्रशासनसँग माग गरेका छन् ।

प्रतिक्रिया