झन्डा च्यातिएकोमा आपत्ति

टोकियो : चीनका लागि जापानी राजदूत सवार गाडीमा फहराइरहेको जापानी झन्डा एक अज्ञात मानिसले च्यातेको घटनाप्रति जापानले आपत्ति जनाएको छ । घटना ‘चरम दुर्भाग्यपूर्ण’ भएको प्रतिक्रिया जापनले मंगलबार दिएको छ । सोमबार जापानी राजदूत सवार गाडीलाई दुईवटा कारले घेरेर रोकेका थिए । त्यत्तिकैमा एउटा मानिस उफ्रिएर अघि आए र राजदूत सवार गाडीमा फहराइरहेको झन्डा झिकेर च्यातचुत पारे । घटनाप्रति दु:ख व्यक्त गर्दै चीनले विदेशी कूटनीतिक नियोग र कूटनीतिज्ञको सुरक्षाप्रति आफू प्रतिबद्ध रहेको जनाएको थियो ।
जापानी विदेशमन्त्री कोइचिरो गेम्बाले घटनाबारे प्रहरी अनुसन्धान थाल्न माग गरेका छन् । जापानले चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई औपचारिक पत्र पठाएर घटनाप्रति असन्तुष्टि व्यक्त गर्ने तय गरेको बुझिएको छ । उता चिनियाँ सञ्चारमाध्यमले भने घटनामाथि चीनले गम्भीर छानबिन गरिरहेको जनाएका छन् । ‘इस्ट चाइना सी’ को विवादित टापुको स्वामित्वलाई लिएर दुई देशबीच विगत केही समययता विवाद चर्किएपछि झन्डा च्यात्ने काम भएको हो । विवादपछि चीन र जापानमा राष्ट्रवादीहरूले आ–आफ्ना राष्ट्रका पक्षमा र्‍याली निकाल्ने र कार्यक्रम गर्ने क्रमलाई अझै जारी राखेका छन् । यसै क्रममा जापानी राजदूत सवार गाडीको झन्डा च्यातिएको हो ।
‘राष्ट्रिय झन्डा मुलुकको शासन हो । कुनै पनि मुलुकको झन्डाको सम्मान गर्नु अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तअन्तर्गत पर्छ । झन्डा च्यात्ने काम चरम दुर्भाग्यपूर्ण कार्य हो,’ जापानी विदेशमन्त्री गेम्बाले भने । घटना अत्यन्तै दु:खद् भएको र यसले दुई देशबीचको सम्बन्धलाई नराम्रो बनाउने चेतावनी दिँदै उनले घटनाबारे बुझ्न जापानले एकजना दूत चीन पठाउने जानकारी दिए । (एजेन्सी)

प्रतिक्रिया