औषधि उद्योगमा आमहडताल

वीरगन्ज : वीरगन्ज आदर्शनगरस्थित औषधि उद्योग जिडी फर्मास्युटिकल्स प्रालिका मजदुर कर्मचारीले मंगलबारदेखि अनिश्चितकालीन हडताल गरेका छन् ।
विभिन्न ११ बुँदे माग राख्दै ११ साउनदेखि उद्योग व्यवस्थापनलाई अल्टिमेटम दिएका मजदुरले मागको सुनुवाइ नभएपछि अनिश्चितकालीन हडताल गरेका हुन् । नेपाल स्वतन्त्र केमिकल मजदुर युनियन इकाइका अध्यक्ष रामाकान्तलाल कर्णले उद्योग व्यवस्थापन मागप्रति गैरजिम्मेवार भएकाले आन्दोलनमा उत्रिनुपरेको बताए ।
युनियनले अघि सारेको २१ बुँदे मागपत्रमा श्रम ऐन पूर्णरूपमा कार्यान्वयन गर्दै दुई सय ४० दिन काम गरेकालाई स्थायी नियुक्ति दिनुपर्ने, २ मंसिर ०६६ र १ चैतमा भएको सहमति कार्यान्वयन गर्न, रोजगारीको ग्यारेन्टी गर्न, सबै कामदार कर्मचारीलाई परवानीपुरस्थित युनिट–२ कारखानामा स्थानान्तरण गर्न र घरभाडाबापत एक हजार रुपियाँ सुविधा दिन माग गरेको थियो ।
जिडी फर्मास्युटिकल्सको आदर्शनगरस्थित युनिट–१ मा ३६ मजदुर कर्मचारी छन् । त्यस्तै जिडी फर्मास्युटिकल्सकै परवानीपुरस्थित युनिट–२ मा २४ जना कार्यरत छन् ।

प्रतिक्रिया