‘बढी मूल्य लिनेलाई कारबाही’

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढी मूल्य लिनेलाई कारबाही गर्ने बताएका छन् । दाल, चामल, चिनी, तेलजस्ता दैनिक उपभोगका अत्यावश्यक वस्तु र यातायात क्षेत्रमा मूल्यवृद्धि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दे उनले भने, ‘कसैले बढी मूल्य लिए कडा कारबाही हुन्छ ।’
प्रधानमन्त्रीको अध्यक्षतामा सोमबार बसेको बजार अनुगमन, आपूर्ति तथा दसैँ, तिहार र छठजस्ता चाडपर्वका अवधिमा वस्तु र सेवाको आपूर्ति व्यवस्थापन र मूल्य नियमनसम्बन्धी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
वस्तु र सेवाका आपूर्ति व्यवस्था मिलाउन तीन महिने कार्ययोजना वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत लागू गरिसकिएको जानकारी दिँदै प्रधानमन्त्री भट्टराईले भने, ‘कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइसकेको छु ।’
तर, बजारमा भने आमनागरिक महँगो मूल्यमा सामान किन्न बाध्य छन् । सरकारले पूरा गर्छु भनेको कुनै पनि कार्य लागू नहँुदा उनीहरू महँगोमा वस्तु तथा सेवा लिन बाध्य छन् । दाल, चामल र तरकारीको मूल्य आमनागरिकको पहँुच भन्दाबाहिर गएको छ । यसअघि पनि सरकारले बजार मूल्य नियन्त्रण गर्ने बताएको थियो । तर, ती सबै कुराहरू व्यवहारमा लागू हुन सकेन । राष्ट्र बैंकले मूल्यवृद्धि ९ दशमलव ९ प्रतिशत रहेको बताए पनि यथार्थमा भने मूल्य धेरैमाथि पुगेको छ । सरकारले नाममात्रैको आश्वसान बाँढ्ने कामबाहेक अरू गर्न नसकेको गुनोसो उपभोक्ताको छ ।
कार्यक्रममा मुख्यसचिव लीलामणि पौडेलले दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन र दैनिक बजार अनुगमनलाई जारी राख्न सम्बन्धित निकायलाई निर्देशन दिए । त्यसैगरी आपूर्ति व्यवस्था र मूल्य नियमनसम्बन्धी गृह, कृषि, विकास र भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालयका सचिवले आआफ्ना मन्त्रालयले गरिराखेका कार्यबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया