सुरक्षा भत्ता नपाएको गुनासो

राजविराज, १२ भदौ । वरैया गाविस सचिवका कारण सामाजिक सुरक्षा भत्ता नपाएको वृद्धवृद्धा, एकल महिला तथा अपांगहरूले गुनासो गरेका छन् ।

गाविस सचिव देवनारायण साहले ६ महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमको भत्ता उपलब्ध नगराएको उनीहरूले बताए । आफ्नो भत्ता रकम समयमा उपलब्ध नगराएपछि कार्यालयमा बुझ्न जाँदा गाविस सचिव साह कार्यालयमै आउन छाडेको उनीहरूले बताए । पटकपटक कार्यालयमा जाँदा सचिव नभेटिएपछि सोमबार वृद्धवृद्धाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाई उपलब्ध गराइदिन माग गरेका छन् ।
करिब ३० किलोमिटर टाढाबाट तीन हजार रुपियाँ तिरेर ट्रयाक्टरमा आएका वृद्धवृद्धाले प्रशासनमा सरकारले दिएको रकम सचिवका कारण नपाएको भन्दै रोष प्रकट गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा समेत पटकपटक जानकारी गराउँदा सुनुवाइ नभएको उनीहरूले बताए । जिल्ला प्रशासन कार्यालयमा सचिवको कार्यशैली र स्थानीयलाई परेको समस्याका विषयमा तीनपटक जानकारी गराइसकेको वरैवा–३ का खटर खंगले बताए ।

प्रतिक्रिया