८० लाखलाई दादुरा रुबेलाविरुद्धको खोप दिइने

काठमाडौं : सरकारले ६० जिल्लाका ८० लाख बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज र मंसिरमा गरी दुई चरणमा ६० जिल्लाका बालबालिकालाई खोप दिन लागेको हो । दादुरा रुबेला खोप कार्यक्रमको पहिलो चरणअन्तर्गत गत फागुनमा सुदूरपश्चिम र मध्यपश्चिमका १५ जिल्लाका १८ लाख बालबालिकामा खोप लगाइएको थियो ।
सन् २०१२ लाई सघन खोप कार्यक्रम वर्षका रूपमा लिई मन्त्रालयले त्यसअन्तर्गत दोस्रो र तेस्रो चरणका कार्यक्रम गर्न लागेको हो । अभियानका रूपमा चलाउन लागिएको यस कार्यक्रमको दोस्रो चरण १ असोजदेखि मध्यश्चिम तथा पश्चिमाञ्चलका २५ जिल्लामा र तेस्रो चरणको कार्यक्रम २९ मंसिरदेखि मध्यमाञ्चल र पूर्वाञ्चलका ३५ जिल्लामा सञ्चालन हुन लागेको जानकारी आइतबार आयोजित कार्यक्रममा दिइयो ।
मन्त्रालयले गत आर्थिक वर्षमै सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको भए पनि भ्याक्सिन खरिदमा ढिलाइ हुँदा कार्यक्रम प्रभावित बनेको थियो । खोप अभियानकै कारण विफर उन्मूलन, दादुरा निवारण र पोलियो उन्मूलनको चरणमा पुगेकाले दादुरा र रुबेला नियन्त्रणका लागि पनि अभियान चलाइएको स्वास्थ्यमन्त्री राजेन्द्र महतोले बताए । ‘अहिलेसम्म मन्त्रालयले यति धेरै संख्यामा बालबालिकालाई खोप दिएको थिएन,’ उनले भने, ‘झन्डै एक करोड बालबालिकालाई हुने गरी चलाइएको खोप अभियान यो नै पहिलो हो ।’ स्वास्थ्यसचिव डा.प्रवीण मिश्रले मन्त्रालयले ९ महिनादेखि १५ वर्षमुनिका एक करोड बालबालिकालाई १४ फागुनदेखि दादुरा रुबेला खोप अभियान सुरु गरिएको बताए । (सौस)

प्रतिक्रिया