मर्मत अभावले वर्षामै विद्युत् उत्पादन कम

काठमाडौं, १० भदौ । सरकारले निर्माण गरेमध्येका एक मल्टिफ्युलसहित अधिकांश साना आयोजनाको उत्पादन वर्षामै क्षमताभन्दा कम देखिएको छ । भारतले विद्युत् कटौती गरेलगत्तै साताको ३५ घन्टाबाट ४८ घन्टा लोडसेडिङ पुर्‍याए पनि सरकारद्वारा निर्मित आयोजनाले भने वर्षामा क्षमताभन्दा कम विद्युत् उत्पादन गरिरहेका छन् । त्यस्ता परियोजनाले क्षमताअनुसार विद्युत् उत्पादन गरेका भए अहिले लोडसेडिङ बढाउनुपर्ने अवस्था आउने थिएन ।
ऊर्जासंकटका कारण आगामी हिउँदमा १९ घन्टाभन्दा बढी लोडसेडिङ हुने अनुमान भइरहेका अवस्थामा डा.बाबुराम भट्टराई सरकारले भने १२ घन्टामा झार्ने कार्ययोजना बनाइरहे पनि सरकारले निर्माण गरेका आयोजनाको उत्पादन क्षमताभन्दा धेरै कम छन् । मर्मत नहुँदा ती अधिकांश आयोजना पूर्ण उत्पादन गर्नसक्ने अवस्थामा छैनन् । त्यस्ता आयोजनाका अधिकांश विद्युत् युनिट बिग्रेको अवस्थामा छन् ।
बजेट अभाव, विस्तृत अध्ययन र डिजाइन नहुनाले तत्काल उत्पादन बढाउन असम्भव देखिए पनि प्रधानमन्त्रीले १२ घन्टा लोडसेडिङ झार्न निर्देशन दिएपछि ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि लोडसेडिङ घटाऊ अभियानमा लागेका छन् । ‘अघिल्लो हिउँदमै सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरण सक्रिय भएको भए कमसेकम ७० मेगावाट विद्युत् उत्पादन बढाउन सकिन्थ्यो,’ प्राधिकरणका एक अधिकारीले भने । तर, ती अधिकारीका अनुसार अहिले तत्काल सुरु गरेर हिउँदसम्म उत्पादन बढाउने सम्भावना कम रहन्छ ।
प्राधिकरणका अनुसार साना तथा मझौला २२ आयोजनाका एक सय १५ मेगावाट विद्युत्मध्ये ३८ मेगावाट अर्थात् करिब ३३ प्रतिशत मात्र विद्युत् उत्पादन भइरहेको छ । हिउँदमा लोडसेडिङको चरम समस्या आउने अनुमानसँगै सरकार त्यस्ता आयोजना मर्मत गर्ने अभियानमा जुटेको छ । प्राधिकरणले ती युनिट तत्काल मर्मत गरी उत्पादन बढाउने लक्ष्य राखे पनि बजेट अभाव छ । ‘मल्टिफ्युलबाट विद्युत् उत्पादन गर्दा बढी लाग्ने लागत ग्यारेन्टी नगरे तथा मर्मतका लागि सरकारले तत्काल बजेट नदिए यी आयोजनाबाट विद्युत् बढ्ने सम्भावना छैन,’ प्राधिकरणका ती अधिकारीले भने ।
प्रतिबद्धताअनुसार पहिला भारतबाट आएको विद्युत् फरकताको रकम दुई अर्ब २९ करोड नदिएकाले सरकारको भर छैन तर प्रमले अर्थलाई समेत निर्देशन दिएका छन् । प्राधिकरणले बिग्रेका अवस्थामा रहेका सबै युनिट मर्मत तथा सञ्चालनका लागि कार्यतालिका बनाइसकेको छ । महँगै पर्ने भए पनि ३९ मेगावाटको दुहबी मल्टिफ्युलको ६ मेगावाटको ५ नम्बर युनिट मात्र चालु हुने अवस्थामा छ । बाँकी सबैलाई मर्मत गर्नुपर्नेे छ । प्राधिकरणले हिउँदमा लोडसेडिङ घटाउनका लागि १, २ र ६ नम्बर युनिट असोजभित्रै र ३, ४ युनिट कात्तिकभित्र मर्मत गरेर उत्पादनको तयारी अवस्थामा राख्नलागेको प्राधिकरणले जनाएको छ । १४ मेगावाटको हेटांैडाको डिजेल प्यान्ट भने उत्पादनका लागि तयारी अवस्थामा छ ।
१४.८ मेगावाटको मोदी जलविद्युत् केन्द्रले अहिले ५ मेगावाट मात्र उत्पादन गरिरहेको छ । हेड गेटको सिभिल संरचना र इलेक्ट्रिकमा समस्या देखिएको आयोजनाको मर्मतको डिजाइन गरेर सम्पन्न गर्न एक वर्ष लाग्छ । तर, अस्थायी रूपमा मर्मत गरेर मंसिरदेखि करिब ६ मेगावाट विद्युत् चलाउने योजनामा प्राधिकरणको छ । २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजनाको उत्पादन अहिले १५ मेगावाट मात्र छ । १ र ६ नम्बर युनिट बिग्रेकामा १ नम्बर युनिट भदौभित्र तथा अर्को ६ नम्बर युनिट मर्मतका लागि ६ महिना लाग्ने अनुमान छ । १५ मेगावाटको गण्डक जलविद्युत् केन्द्रबाट ४ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । २ नम्बर युनिट भदौभित्र मर्मत गरिसक्ने लक्ष्य राखेको प्राधिकरणले १ नम्बर युनिट भने यो आर्थिक वर्षभित्र मात्र पूरा गर्ने लक्ष्य राखेको छ । १ नम्बर युनिट ०६५ सालदेखि बिग्रेको हो ।
३ दशमलव २ मेगावाटको चतरा जलविद्युत् केन्द्रको ०५७ सालदेखि उत्पादन बन्द छ । नम्बर युनिट भदौभित्र र २ नम्बर युनिट असोजभित्र मर्मत गर्ने लक्ष्य प्राधिकरणको छ । २.४ मेगावाटको पनौती जलविद्युत् केन्द्रले अहिले चार सय ५० किलोवाट मात्र विद्युत् उत्पादन गरिरहेको छ । १ नम्बर युनिट आगामी वर्षभित्र र २ नम्बर युनिट भदौभित्र मर्मत गरिसक्ने लक्ष्य प्राधिकरणले राखेको छ । पाँच सय मेगावाटको फर्पिङ पानीको अभावमा बन्द छ । त्यसैगरी अन्य साना एक मेगावाटभन्दा साना १६ आयोजनासमेत मर्मत अभावमा विद्युत् उत्पादन गर्ने अवस्थामा छैनन् । ‘हिउँदसम्म सञ्चालनमा आउनसक्ने अधिकांश साना आयोजनाको मर्मत गरेर उत्पादनका लागि तयारी अवस्थामा राख्दैछौँ,’ प्राधिकरण उत्पादन, सञ्चालन तथा मर्मतका कायममुकायम महाप्रबन्धक केशवराज भट्टले भने, ‘हिउँदको लोडसेडिङ घटाउनका लागि सहयोग पुगोस् भनेर मर्मत कार्य अगाडि बढाएका छौँ ।’ प्राधिकरणका अनुसार मध्यमस्र्याङदी, कालीगण्डकी ‘ए’, सुनकोसीलगायत अधिकांश जलविद्युत् आयोजनले भने पूर्ण रूपमा विद्युत् उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया