जलविद्युत् कम्पनीको नाफा डेढ अर्ब

काठमाडौं, १० भदौ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जलविद्युत् कम्पनीले गतआर्थिक वर्षमा डेढ अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेका छन् । एक्सचेन्जमा अरुण भ्याली हाइड्रोपावर, बुटवल पावर कम्पनी, चिलिमे हाइड्रोपावर र नेसनल हाइड्रोपावर सूचीकृत रहेकामा नेसनल हाइड्रोपावरको साधारणसभा विवादका कारण चौथो त्रैमासिक प्रतिवेदन प्रकाशित भएको छैन । वित्तीय विवरण प्रकाशन गरेका तीन कम्पनीले सो मुनाफा आर्जन गरेका हुन् ।

हाइड्रोपावर कम्पनीले अघिल्लो आवमा कुल एक अर्ब १७ करोड ८९ लाख रुपियाँ खुद मुनाफा गरेकामा चालु आवमा तीन कम्पनीले कुल एक अर्ब ५३ करोड ६३ लाख रुपियाँ खुद मुनाफा गरेका हुन् ।
मुनाफाका आधारमा सबैभन्दा बढी मुनाफा चिलिमे हाइड्रोपावरले गरे पनि अघिल्लो वर्षका तुलनामा सबैभन्दा बढी मुनाफा गर्ने कम्पनीमा भने बुटवल पावर कम्पनी रहेको छ । उक्त कम्पनीले गत आवका तुलनामा ८४ प्रतिशत बढी मुनाफा आर्जन गरेको छ । अरुण भ्यालीको खुद मुनाफामा करिब ३७ प्रतिशतको वृद्धि देखिन्छ भने नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत लगानी रहेको चिलिमे हाइड्रोपावरको खुद मुनाफामा १० प्रतिशतले मात्र वृद्धि गरेको छ ।
प्रतिसेयर आम्दानीका हिसाबले चिलिमेको सेयर उत्कृष्ठ रहेको छ । कम्पनीद्वार प्रकाशित वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ६९ रुपियाँ रहेको छ । गतवर्ष ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश बाँडेका कारण कम्पनीको चुक्ता पुँजीमा वृद्धि भएको र प्रतिसेयर आम्दानी घटेको हो । कम्पनीको गतवर्ष प्रतिसेयर आम्दानी एक सय दुई रुपियाँ थियो । प्रतिसेयर ६९ खुद आम्दानी रहे पनि कम्पनीले अन्य आयोजनामा पनि सेयर लगानी गर्ने भएका कारण कम्पनीले आम्दानीको करिब २० प्रतिशत सञ्चित गरेर बाँकी बाँढ्ने गरेको छ । गतवर्षको मुनाफाबाट कम्पनीले अधिकतम ५० प्रतिशतसम्म बोनस सेयर र नगद सम्मिश्रण गरेर लाभांश बाँढ््ने प्रस्ताव गरेको कम्पनी सञ्चालक समितिका एक सदस्यले बताए । पुँजी आधारमा वृद्धि भएअनुसार मुनाफा वृद्धि नभएका कारण कम्पनीको नेटवर्थ प्रतिसेयर पनि घटेको छ । अघिल्लो वर्ष नेटवर्थ प्रतिसेयर चार सय ९५ रुपियाँ रहेकामा सो घटेर गतवर्ष तीन सय ९३ रुपियाँमा सीमित हुनपुगेको छ । नेटवर्थ कम्पनीको यथार्थ मूल्य हो । यसको अर्थ तत्काल कम्पनी खारेजीमा गएमा प्रत्येक एक सेयर भएका सेयरधनीले तीन सय ९३ रुपियाँ पाउँछन् । चिलिमेमा नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणका कर्मचारीको मुख्य सेयर लगानी रहेको छ । त्यसको अलावा चिलिमे जलविद्युत्मा प्रवाहित जनताको १० प्रतिशत र बाँकी लगानी सर्वसाधारणको रहेको छ । स्वदेशी पुँजीमा स्थापित यो पहिलो हाइड्रोपावर कम्पनी हो ।
सांग्रिला इनर्जी लिमिटेडको मुख्य लगानी रहेको बुटवल पावर कम्पनीको खुद मुनाफा, प्रतिसेयर आम्दानी र नेटवर्थसमेत वृद्धि गरेका कारण कम्पनीका सेयरधनीले गतआवको नाफाबाट सेयरधनीले ठूलो लाभांशको आशा गरेका छन् । अघिल्लो वर्ष ३० करोड ४८ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको बुटवल पावर कम्पनीले गतवर्ष भने ५६ करोड ११ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३० रुपियाँ रहेकामा गतवर्ष खुद मुनाफामा वृद्धिसँगै प्रतिसेयर आम्दानी ३० रुपियाँ पुगेको छ । कम्पनीले अघिल्लो २५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो भने यसपटक भने ५० प्रतिशतसम्म लाभांश घोषणा गर्ने स्थिति देखिएको छ । अघिल्लो वर्ष दुई सय ७३ प्रतिसेयर नेटवर्थ दुई सय ७३ रहेकामा
गतवर्ष भने यो बढेर दुई सय ९९ रुपियाँ पुगेको छ ।
त्यसैगरी अरुण भ्याली हाइड्रोपावर कम्पनीले गतआव भन्दा ३७ प्रतिशतले खुद मुनाफामा वृद्धि गरी चार करोड २५ लाख रुपियाँ खुद मुनाफा गरेको छ । कम्पनी अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ११ रुपियाँ रहेकामा गतआवमा बढेर १६ रुपियाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थमा पनि केही वृद्धि भएको छ । गतवर्ष १५ प्रतिशत नगद लाभांश बाँढेको कम्पनीले यस वर्ष पनि १५ प्रतिशत नै बोनस सेयर बाँढ्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया