“बन्दुक पड्काउँदा सिस्नाको झाङमा परेँ”

भाइबहिनी हो, तिमीहरूले नाटकघर गुरुकुलको नाम पक्कै सुनेको हुनुपर्छ । हामीले केहीअघि बालनाटक महोत्सव पनि गरेका थियौँ । म गुरुकुलको कार्यकर्ता रंगकर्मी सुनील पोखरेल दाजु हुँ । मेरो जन्म २०२० साल असार २ गते नौलागाउँ खोटाङमा भएको हो । दुई बहिनी र तीन भाइमध्ये म जेठो हुँ । बुबा कर्मचारी, शिक्षक हुनुहुन्थ्यो तर हाल खेतीपाती गर्नुहुन्छ ।
पहिला र अहिलेको नौलागाउँमा आकाश र जमिनको फरक छ । पहिला बाटोघाटोको खासै सुविधा थिएन । अहिले कुन बाटो हिँडौँ भनेर दुविधा हुन्छ । हामी घन्टौँ हिँड्दा पनि स्कुल आउँदैनथ्यो । अहिले पाइलैपिच्छे अर्थात् हरेक पाँच–सात मिनेटको दूरीमा स्कुल छ अरे † हामी सानो हुँदाको मानिसको सोच, मूल्य मान्यता र अहिलेका मानिसबीच धेरै फरक आएको छ । हामी सानो हुँदा कसैको बारीमा पसेर फल खाँदा रूख चढेर खाऊ बाबु भन्थे । अहिले नसोधी फल टिपेमा राइफल पड्काउन बेर लाउँदैनन् । ती फलफूलले बाटोको सुविधा भएर बजारको मुख हेर्न पाएर होला यस्तो भएको ।
कखरा धुलेपाटीमा बुबाले लेख्न र चिन्न सिकाउनुभयो । सुरुमा देवी प्राइमरी स्कुलमा पढेँ । अनि सात कक्षासम्म भगवती स्कुलमा पढेँ । आठ कक्षादेखि विराटनगरको वरगाछीमा गोग्राहा हाइस्कुलमा पढेँ । बेबी उमेरमा देवी स्कुलमा पढ्दा बुबा केही समय त्यहाँको हेडमास्टर हुनुहुन्थ्यो । एक दिन एउटा साथीसँग मेरो झगडा पर्‍यो । उसले मेरो गाला बेस्सरी चड्कायो । म पनि कहाँ कम थिएँ र ? मज्जाले चड्काइदिएँ । अहिले दुब्लो पातलो भए पनि त्यो बेला म बलियो थिएँ । रिस थाम्न सकिनँ, त्यो केटाको सातो जाने गरी कपाल समाएर जाँतोझैँ र्‍वाइँर्‍वाइँ घुमाइदिएँ । घुमाउन छाडेर यसो हेर्छु त उसको टाउकाको रौँ मेरा हातमा पो छ । म छक्क परेर कहिले साथीको टाउको र कहिले आफ्नो हातको रौँ हेरिरहेको थिएँ । त्यति नै बेला बुबा कक्षामा आउनुभयो । बुबाले साथीलाई गालामा चड्याम्म हिर्काउनुभयो । त्यो बिचरोले तुरुक्क सुसु नै गरिदियो । उहाँले मलाई पनि चड्कन लगाउनुभयो  । म बिचरोले झन् धेरै सुसु गरिदिएँ । बुबा कक्षाबाट गएपछि अरू साथीले मुतुवा भनेर हल्ला र खल्ला गर्न थाले ।
हाम्रो गाउँमा दलितहरूको बस्ती थियो । बाहुनको छोराले दलितसँग खेल्नु/बोल्नु हुन्न भन्ने त्यस बेलाको अन्धविश्वास थियो । त्यसैले गर्दा मेरा खासै साथी थिएनन् । साथी भन्नु नै किताब र रेडियो थियो । गाउँमा विश्वकर्माहरू चरा मार्ने खालको भरुवा बन्दुक मर्मत पनि गर्थे । हामी चकचके केटाहरू केही न केही गरिरहन्थ्यौँ । एकचोटि त्यस्तै बन्दुक फुत्त तानेर हिँडेँ । अरू साथीहरू त्यसमा तितेपाती भरेर पड्काउँथे । मैले पनि त्यसै गर्ने सुर गरेँ । बन्दुक पड्कन न पड्क्यो भाइबहिनीहरू, मेरो त सातै पो लगिदियो । तर्सिएर सिस्नाको झाङमा पो परेँछु । सिस्नाले पोलेर हैरान । कुन्नि कसले हो, फलाम दल्नुपर्छ भन्दै सिस्नाले डामेको ठाउँमा खुकुरी दलिदियो । त्यसपछि त बन्दुक भनेपछि सातै जान थालिहाल्यो नि † स्कुले जीवनमा म सबै विषयमा सिपालु भए पनि अंग्रेजी र गणितमा आलुभन्दा पनि गएगुज्रेको कोक्याउने पिँडालु नै थिएँ । भाइबहिनी हो, भोलिपल्ट अंग्रेजीको जाँच छ भने म पर्सिपल्टको नेपाली विषय पढेर बस्थेँ । गणितका बेला सामाजिक पढ्थेँ । तल कट्टु, कहिले चप्पल, नत्र प्राय: खाली खुट्टा । माथि दौरा र कमिजजस्तो सर्ट लाएर बेलैमा हातमा किताबकापीको खात बोकेर म डेढ घन्टा टाढाको स्कुलमा पढ्न जान्थेँ । स्कुलमा खाजा खाने वा लाने चलनै थिएन । स्कुलबाट त्यत्रो लामो बाटो हिँडेर आउँदा भोक लाग्थ्यो । कसैको बारीमा पसेर फलफूल टिपेर वा चोरेर नखाएसम्म चित्त नै बुझ्दैनथ्यो ।
स्कुले जीवनमा हाजिरीजवाफ कार्यक्रम र साहित्य गोष्ठीमा भाग लिन्थेँ । साहित्य गोष्ठीमा मैले भाग लिएको चाल पाउँदा कति साथी अँध्यारो मुख लाएर भाग नलिई मलाई हापिदिन्थे । किनभने साहित्यमा मेरो सधैँ पहिलो स्थान सुरक्षित नै हुन्थ्यो । सानो बेलामा घरायसी काम घाँस काट्ने (राम्ररी काट्न आएन), मही पार्ने, दूध दुहुने पनि गरेँ । हजुरबा र हजुरआमाको नङ काटिदिएर सहयोग पुर्‍याउँथेँ । मैले बुबालाई कहिल्यै सोधिनँ तर अरूबाट के चाल पाएँ भने बुबालाई सुनील दत्त हिरो असाध्यै मन पथ्र्यो । त्यसैले उहाँले मेरो नाम सुनील राख्नुभएको हो अरे † आमा म चार वर्षको हुँदा बित्नुभएकाले उहाँले के भनेर बोलाउनुहुन्थ्यो थाहा भएन । हजुरबा र हजुरआमाले मलाई कुमार भनेर बोलाउनुहुन्थ्यो । भाइबहिनी हो, मेरो अर्को न्वारानको नाम पनि छ, त्योचाहिँ भन्दिनँ ल ।
सानो छँदा कुकुरदेखि साह्रै डर लाग्थ्यो तर मन पनि पथ्र्यो । बिरालोचाहिँ कहिल्यै मन परेन । पहाडमा अँगेनामा बसेर हजुरबुबाहरू भूतको कथा सुनाउनुहुन्थ्यो । नडराउने कुरै भएन । सानोमा विषयबाहेकको किताब पढ्दा बडो आनन्द आउँथ्यो । फुच्चे बेलामा रेडियोमा बालकार्यक्रम सुन्थेँ । धामी गीत पनि सुन्थेँ । त्यसैले वासुदेव मुनाल, हिरण्य भोजपुरे र गणेश रसिकको नाम थाहा थियो । कहिलेकाहीँ गाउँमाथिबाट प्लेन उड्दा बडो अचम्म लाग्थ्यो । त्यो कहाँबाट आएको होला, कहाँ जान्छ होला, त्यहाँभित्र को होला, कसरी उडेको होला, तल कसरी आउलाजस्ता जिज्ञासामा घोत्लिएर घन्टौँ कलिलो मगज ख्याउँथेँ । उत्तर जहिले पनि उही र उस्तै फुस्सा । विराटनगर मामाघर आएका बेला फिल्म पनि हेरेको थिएँ । मामाले भन्नुभएको थियो– ‘फिलिममा बाघ देखियो भने नतर्सनु है भान्जा, फिलिमको बाघले खाँदैन ।’ मैले हेरेको त्यो हिन्दी फिल्म थियो– सावनभादो ।
एकपटक बाजी थापेर टार्जनझैँ बलियो हुँदै एकै दिनमा एक दर्जन किताब पढिदिएँ । एसएलसीको जाँच हुँदा म पुस्तक पसलमा लुकेर उपन्यास पढ्थेँ । स्कुले जीवनमा साथीहरू भन्थे– ‘वीरसिक्का पढिस् भने खुस्किन्छस् ।’ मैले खोजेर पढेँ, बौलाइनँ । अनि ‘इन्द्रजाल’ (तन्त्रमन्त्र) को पुस्तक पढिस् भने पक्कै सड्किन्छस् भन्थे । मैले त्यो पनि खोजेर पढेँ, केही भएन । त्यसपछि मैले साथीभाइलाई भनेँ– ‘पुस्तक पढेर पनि कोही बौलाउँछ, त्यो त ज्ञानगुनले झन् मौलाउँछ ।’
भाइबहिनी हो, गोग्राहा हाइस्कुलबाट १३ वर्षको उमेरमा २०३३ सालमा एसएलसी परीक्षा दिएँ । फेल भएँ । २०३४ मा फेरि जाँच दिएँ, उत्तीर्ण भएँ । त्यसपछि मेरो स्कुले जीवन सदाका लागि समाप्त भयो ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया