एक आकर्षक बिहानी, म ओशो तपोवनमा हुन्छु । संवादका लागि अगाडि छन् स्वामी आनन्द अरुण । नागार्जुन हिलका मन्दिरजस्ता घर, वरिपरि मधुर रातो पहिरनमा सन्यासीहरू आहोरदोहोर गरिरहेका छन् । मेरो मस्तिष्कमा अनेक सिद्धान्तका बनिबनाउ परिधि छन्, दर्शनका, धर्मका, पेसाका र बुद्धिका अनेक विरोधाभाष र सीमानाहरूले मन अल्मलिएको छ । वेद, बाइवल, त्रिपिटक र कुरानबीचको अलमल, अध्यात्मवाद र भौतिकवाद दुवैले सिर्जना गरेका सुख र दु:खभोगबीचको अलमल, जीवनमा सफलता र असफलताबाट प्राप्त गरेका खुसी र वेदनाबीच यस्तै अलमलको अर्काे गाँठो छ । विचार र दर्शनका असंगत सीमाना र विरोधाभाष दिमागमा छन् । मानिस आफैँमा दु:खी छ र सुखी पनि । दु:खको कारण छ र सुखको पनि कारण छ त्यो मानिस भित्रैको, आत्मनियन्त्रण र बन्धन हो । म कारण खोज्छु, ‘ओशोसन्यास सुखी र सही जीवन जिउने कला हो, जीवन मोस्ट प्रोडक्टिभ भएर सम्यक जीवन जिउने कला,’ अरुण भन्छन् । शान्त अनुहार र स्निग्ध उनका आँखाबाट आनन्दको फोहोरा छुटेझैँ लाग्छ ।
जंगलबीचको एक शान्त कम्युन, जहाँ मानसिक रुकावट छैन, आत्मानिषेधले उत्पन्न पीडा मानिसका अनुहारमा देखिँदैन । सन्यासीहरू छन्– ध्यानमा, सत्संगमा र आत्मविलयनमा सुखी जीवनको कला खोजिरहेका । ओशोलाई मानिसहरू यौन गुरुका रूपमा व्याख्या गर्छन् । लाग्छ, मानिसभित्र मडारिएको यौनको भोकले ओशोलाई हेर्ने सम्पूर्ण दृष्टि छोपिरहेको छ । जीवनलाई अल्झाउने अनेक गाँठाहरू सधैँका लागि ओशोले फुकाएका छन् तर मानिसको ध्यान त्यता छैन । बरु ऊ यौनलाई गाली गर्छ, तुच्छकर परिभाषा दिन्छ र हर्दम यौनकै पछिपछि कुदिरहन्छ । यसले मानिसको सिर्जनात्मक सोचाइको नैसर्गिकतामा आँच पुर्याएको छ । स्वामी आनन्द भन्छन्, ‘धर्मको परिभाषा गर्ने पण्डित, पोप, भिक्षु र हाजीहरूले धर्मलाई जीवनको पलायनवादसँग गाँसे, ओशोले त्यसलाई अस्वीकार गरे, उत्साह र उमंगसँग बाँच्न सिकाए ।’
ििि
सम्झेँ, एक साँझ, बानेश्वरको मूल सडकमा म साथीको मोटरसाइकलमा लिफ्ट लिएर पछाडि बसेको छु । सडकमा गाडी ताँती लागेका छन्, बीचमा प्रहरीको एक भ्यान छ । भ्यानमा अर्धनग्न केही युवती रुमालले आँखा छोपेर बसेका छन्, अगाडि फर्काइएको कपालको झाँक्रो र झाँक्रो फाटेर कापबाट चुहिएको उनीहरूको अनुहारमा लज्जा देखिन्छ । सँगै छन् कानमा मुन्द्रा लगाएका केही केटा । थाह भयो, कुनै होटेलमा दैहिक आनन्दमा लीन रहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीवनका, प्रकृतिका आयामहरूमाथिको बन्देजले आजको मानिसको मन अशान्त छ । प्रकृतिको एक सतत प्रक्रिया र त्यसमाथिको बन्देजले मानिसभित्रको सिर्जनात्मक ऊर्जा विनाशकारी बाढीमा परिणत भएको छ ।
मानिस दैहिक आनन्दको प्रतिफल हो र उसको मन हर्दम आनन्दकै खोजीमा हुन्छ । यौनको नैसर्गिकतामाथिको बन्देजले यौनलाई हेय दृष्टिले हेरेरै र यौनलाई पाप हो भनेरै मानिस लुकीलुकी यौनकै पछि कुदिरहेको छ । ओशोले सेक्सलाई प्रेमको मुहान मानेका छन्, यसको नैसर्गिकता दबाउन खोज्दा आउने परिणतिको व्याख्या गरेका छन् । आजको संसार सेक्सलाई घृणा गरिरहेको छ र सँगसँगै सेक्स डट कमका भ्युवरहरू त्यत्तिकै बढिरहेका छन् । तर, सेक्स प्रेमको मुहान हो भन्ने मान्न संसार तयार छैन । ‘सेक्स प्रेमको मुहान हो भन्ने मान्यो भने त सेक्स डट कम बन्द भइहाल्छ नि, सन्सार सेक्सप्रति इन्बायलेन्स जीवन जिइराखेको छ,’ स्वामी आनन्द जीवनको नैसर्गिकतामाथि गरिएको निषेधले अपराध बढेको मलाई बताउँछन्, म कन्भिन्स हुन्छु ।
आजको मानिस धर्म, कानुन र संस्कारहरूको आँखा छलेर साइबर जान्छ, वेश्यालय धाउँछ, गृहिणीहरू ‘जिगोलो’को खोजीमा भौँतारिन्छन्, संसारमा यौनको राग चलिरहेको छ । मानिसका हृदयमा यौनकै कारण एक प्रेम स्थापना भएको हुन्छ, प्रेम प्रकटीकरणको बन्देजले युवती हरेक दिन स्कर्ट छोट्याएर हिँड्छे, युवक उसलाई पछ्याइरहेको हुन्छ, तेस्रो मानिस त्यसको चियो गर्छ, सबैका मनमा सेक्स छ, सबैले सेक्सलाई घृणा गरेको एक नाटक गरिरहेका छन् । संसारका धर्म र कानुन सेक्सलाई दबाउन र मानिसको मन सेक्सलाई जगाउन नै समय खर्चिरहेको छ । कामको दमनले कामुकताको महाविनाश संसारभर चलिरहेको छ । मानिस त्यसैको पीडामा छ । ‘सेक्स नेचुरल हुनासाथ त्यसको पीडा हराउँछ, सेक्स रहन्छ सेक्स्वालिटी हराउँछ । भनेर कामुकता हट्दैन, जबसम्म सेक्स नेचुरल हुँदैन । मानिसबाहेक कुनै पनि जीवमा कामुकता छैन, कसैले पोर्नाेग्राफी हेर्दैनन्, कुनै जनावरले अर्काले सेक्स गरेको लुकेर हेर्दैनन् किनभने उनीहरू सेक्सको प्राकृतिक उपभोग गर्छन्, धर्मले र कानुनले बाँध्दैनन् ।’ यो स्वामी आनन्दको भनाइ हो । भ्यानमा कोचेर ल्याइएका युवायुवती सम्झेँ, तिनीहरूलाई नियन्त्रणमा लिन खटिरहेका प्रहरी सम्झेँ, संसार निरर्थक दौडमा समय खर्चिरहेछ ।
ििि
अन्तर्राष्ट्रिय मुद्राकोषका अध्यक्ष डोमिनिक स्ट्रस कान, न्युयोर्कको एक होटेलमा बास बस्छन् । होटेलकी एक वेटर, बेल्जियमकी युवतीसँग रात बिताएको अभियोग उनीमाथि लाग्छ । फ्रान्सको भावी राष्ट्रपतिका रूपमा हेरिएका स्ट्रस कानको सार्वजनिक जीवन प्राय: समाप्त हुन्छ । सम्झना आउँछ– अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनको । उनको वीर्य कट्कटिएको मोनिका लिवेन्स्कीको मिनिस्कर्ट परीक्षणका लाग जुरीमा पेस हुन्छ । उनको व्यक्तिगत मामिला भनी सारा अमेरकीहरूले उनलाई क्षमादान दिन्छन् । यौन, अपराध वा प्रकृतिको सतत प्रक्रिया यी दुई मौलिक घटनाहरूलाई केलाउँछु म । स्वामी आनन्द भन्छन्, ‘मानिस दृश्यबाट होइन, आफ्नो दृष्टिबाट चलेको हुन्छ र ऊ त्यसैबाट सुखी वा दु:ख हुन्छ ।’ ओशोले आफ्नो प्रवचनमा भनेको एक कथा पढेको थिएँ, स्वामी आनन्दसँग भेटेर फर्कंदा दिमागमा आयो । कथामा, एक बटुवा मन्दिर निर्माण हुँदै गरेको ठाउँमा पुग्छ । धेरै मजदुरहरू मन्दिर बनाउन कडा पत्थर फुटाइरहेका छन् । बटुवाले एक मजदुरलाई सोध्छ, ‘तपाईं के गरिरहनुभएको छ ?’ मजदुरले क्रोधपूर्वक जवाफ दिन्छ, ‘तपाईंका आँखा छैनन्, मैले चट्टान फुटाइरहेको देख्नुभएको छैन ?’ बटुवाले अर्काे मजदुरलाई पनि यसैगरी सोध्छ, उसले शिथिल भएर जवाफ दिन्छ, ‘म रोजीरोटीका लागि काम गरिरहेको छु ।’ बटुवा तेस्रो मजदुरकहाँ पुग्छ, मजदुर गीत गुन्गुनाउँदै त्यसैगरी चट्टान फुटाइरहेको हुन्छ । उसलाई पनि बटुवाले सोध्छ र मजदुरले उल्लासपूर्वक जवाफ दिन्छ, ‘म भगवानको मन्दिर बनाइरहेको छु ।’ यहाँ तिनैजना मजदुरले एउटै काम गरिरहेका छन् तर, एउटै कामप्रतिको उनीहरूको दृष्टि फरक छ । एउटा दृष्टिले क्रोध जन्माएको छ, अर्काेले शिथिलता र तेस्रोले जीवनलाई एक आनन्द बताएको छ । व्यक्तिको दृष्टि सम्पूर्णतामा जस्तो छ, संसार र उसको जीवन पनि त्यस्तै हुन्छ । घृणा, अपराध र अशान्ति हटाउन सम्यक् जीवनदृष्टि आवश्यक ठान्दै फर्किएँ म तपोवनबाट ।
प्रतिक्रिया