शिक्षा अधिकारीद्वारा सरकारी गाडी दुरुपयोग

बाग्लुङ, ७ भदौ । कालिकोटबाट काठमाडौंका लागि हिँडेका शिक्षा अधिकारी विष्णु तिवारी बाग्लुङ पुगेका छन् ।

पाँच दिनअघि शिक्षा अधिकारीको ८ देखि ११ भदौसम्म काठमाडौंमा हुने केन्द्रीय भेलामा जाने भन्दै लिएको बा १ झ ९३०८ नम्बरको गाडी मनोमानीरूपमा बाग्लुङमा ल्याएका हुन् । कालिकोटबाट मुग्लिन हुँदै काठमाडौं जान सहज भए पनि कार्यक्रमको बहाना बनाएर परिवारलाई भेट्न उनी पाँच दिनअघि नै बाग्लुङ आएका हुन् ।
कार्यक्रममा जाने भनेर लिएको गाडीमा उनी केही दिन यता पत्नी र छोराछोरी राखेर गृह जिल्ला पर्वत र बाग्लुङ घुमिरहेका छन् । तर, कालिकोटमा भने महत्त्वपूर्ण काममा पनि शिक्षा कार्यालयका कर्मचारी पैदल हिँड्न बाध्य छन् । उनले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको गाडीमै लुगा धोएर सुकाउनेसमेत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयनजिकै खुलेआम रूपमा गाडीको दुरुपयोग हुँदासमेत सरोकारवाला निकाय मौन रहेको स्थानीय शैलेन्द्र श्रेष्ठले गुनासो गरे । काठमाडौंमा ८ भदौदेखि ११ गतेसम्म हुने सम्मेलनमा जाने भनेर जिशिअ तिवारीले सरकारी सेवासुविधामा मस्ती गरेर सरकारी सेवासुविधाको उपहास गरेको उनले बताए । ‘जिल्लाबाहिर जाँदा विभागीय प्रमुख र बिदाको दिन कतै जानुपरेमा सिडिओको स्वीकृति चाहिन्छ,’ शिक्षा कार्यालय बाग्लुङका एक कर्मचारीले भने, ‘तर, यहाँ काठमाडांै जाने बहानामा बाग्लुङमा आएर सरकारी साधनको दुरुपयोग भइरहेको छ ।’
शिक्षा अधिकारी तिवारीले आफू काजमा काठमाडांैका लागि आएको प्रतिक्रिया दिए । काजमा गाडी लिएर कार्यक्रमका लागि हिँडेकाले दुरुपयोग भन्न नमिल्ने उनले जिकिर गरे । गाडीमा कपडा सुकाएको विषयमा ड्राइभरले कमजोरी गरेको बताए । तर, कालिकोटबाट काठमाडांै जाने क्रममा बाग्लुङमा ल्याएर व्यक्तिगतरूपमा प्रयोग गर्नु दुरुपयोग भएको कर्मचारीहरू बताउँछन् । केही वर्ष जिल्ला शिक्षा कार्यालय बाग्लुङमा शाखा अधिकृत रहेका तिवारीले आफ्ना समकक्षीलाई देखाउन कार्यालयमै गाडी लिएर गएको शिक्षा स्रोतको दाबी छ । त्यसबखत उनले बाग्लुङमा काम गर्दाताका आफू भन्दा वरिष्ठ रहेकालाई समेत नमस्कार नगरेको भन्दै प्रत्यक्ष गुनासो गरेका थिए । शाखा अधिकृत पदमा कार्यरत तिवारीलाई एकीकृत माओवादी नेतृत्वको सरकारले जिशिअ बनाएर कालिकोट पठाएको थियो ।

प्रतिक्रिया