कसो नमरेकी

बेइजिङ : लेखान्तलाई आखिर कसले पो टार्न सक्दो रै’छ र † चिनियाँ नागरिक सेङ फिको भाग्यमा सायद मृत्यु लेखिएको थिएन होला । त्यसैले त उनी मृत्युको मुखैमा पुगेर फर्किन सफल भएकी छन् ।
चीनको झान्जियाङ निवासी सेङको आत्महत्या प्रयास असफल भएपछि उनी बाँचेकी हुन् । आत्महत्या गर्न उनले नौतले घरबाट आफूलाई हुत्याएकी पनि थिइन् तर धन्न † परिवारका सदस्य, इष्टमित्र र उद्धारकर्ताले उनको खुट्टा समात्न भ्याए र उनी बाँचिन् ।
उद्धार गरेपछि थाहा भयो, आत्महत्या प्रयास गर्नु ठीक एक घन्टाअघि उनले आफ्ना चारवर्षीय भान्जाको हत्या गरी शवलाई सोही घरबाट तल हुत्याएकी रहिछन् । हत्याको अभियोगबाट बच्न उनले आत्महत्या प्रयास गरेको अनुमान गरिएको छ ।
नन्दसँग झगडा चर्किएको झोँकमा उनले नन्दका छोरा (भान्जा) को हत्या गरी आत्महत्या प्रयास गरेको उद्धारपछि मात्रै खुल्यो । सेङ स्वयंले चारवर्षीय भान्जाको हत्या गरेको र उसलाई सय फिट अग्लो घरबाट तल हुत्याइदिएको स्विकारेकी प्रहरीले जनाएको छ ।
सेङ घरको छततर्फ गएको देखेपछि र उनको गतिविधि शंकास्पद लागेपछि छरछिमेकले उद्धारकर्तालाई खबर गरेका थिए । घटनास्थल पुगेका उद्धारकर्मीले सेङकी छोरीलाई आमासँग कुरा गर्न लगाई एकछिन अलमलाए । त्यही मौका छोपी उद्धारकर्ताले सेङको एउटा खुट्टा समात्न भ्याए र उनको आत्महत्या प्रयास तुहियो । (डेलिमेल)

प्रतिक्रिया