दक्षिणपन्थी मोर्चाको गेमप्लान

‘कमन सेन्स एन्ड न्युक्लियर वारफेयर’ जस्तो चर्चित कृतिका लेखक एवं नोबेल पुरस्कार प्राप्त चिन्तक बट्रेन्ड रसेलले एक प्रसंगमा भनेका थिए– ‘त्यो देश साह्रै अभागी हो, जहाँ कुनै व्यक्ति वा समूहको शासकीय महत्त्वाकांक्षाखातिर आमजनताको भविष्यलाई बलि चढाइन्छ ।’ रसेलको कठोर निष्कर्षलाई प्रमाणित गर्दै सत्ताको उग्र भोकले रन्थनिएका एमाओवादी अध्यक्ष प्रचण्डको काठमाडौं संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन (एफडिआरए) को रचना भएको छ । देश लुट्ने लाइसेन्सको एकलौटी हकदाबी गर्ने यो यस्तो मोर्चा हो, जहाँ क्रान्तिबाट प्रतिक्रान्तिमा हनुमान जम्प गर्नेहरूदेखि कुख्यात अपराधी, देशद्रोही, तस्कर भ्रष्टाचारी र राजावादीहरूले सेल्टर पाएका छन् । पार्टी विभाजन र प्रकाश–बिना तेस्रो विवाहकाण्डमार्फत चुलिएको पारिवारिक विघटनले झन्डै राजनीतिक डिप्रेसनमा पुगिसकेका प्रचण्ड मोर्चा गठनपश्चात् उत्ताउलो दम्भ प्रदर्शनको पुरानै प्रवृत्तिमा फर्किएका छन् । देश र जनताको मुक्तिको भाग्यरेखा कोर्ने मोर्चाको दाबी क्रूर मजाक सिवाय केही होइन । राष्ट्रघात, वर्गघात, पार्टीघात, विचारघात र जनघातमा ऐतिहासिक रेकर्ड बनाइसकेका विभिन्न रूप–रंगका विश्वासघातीहरूको लुटाहा मोर्चाका रूपमा यसको पतन अनिवार्य छ ।
एकल रूपमा चुनाव फेस गर्ने आत्मविश्वास गुमाइसकेका बदनाम दलहरूको चुनावी मोर्चा हो यो । खासमा काठमाडौंको सत्तामा गुम्दै गएको नयाँदिल्लीको प्रभावलाई पुन:स्थापित गर्ने नयाँ कार्ड हो– एफडिआरए । मोर्चारूपी भारतीय छातामुखी ओत लागेर ‘पोलिटिकल– रेस्क्यु’ खोज्ने यी चरम दक्षिणपन्थीहरूले सत्ता सौदाबाजीमा बाँकी नदीनालाहरू पनि बुझाउँदै थप राष्ट्रघात गर्ने खतरा बढ्दो छ । क्रान्ति र शान्तिको नाममा जनतासँग इमोसनल ब्ल्याकमेलिङ गर्ने सेक्सपियरको ‘स्याडिस्ट’ पात्र साइलकजस्ता यी सपनाका व्यापारीलाई समयमै ठेगान लगाउन सकिएन भने देश बर्बाद हुनेछ । गाउँबाट खेदिएर सहर थुप्रिएका र त्यसमा पनि सिंहदरबारको बलमा अस्तित्वको अन्तिम युद्ध लडिरहेका राजनीतिक शरणार्थीहरूको मोर्चाको भित्री उद्देश्य हो– ‘कुर्सी हत्याउनु, अर्बौं, कुम्ल्याउनु र भारतीय राष्ट्रघाती गेमप्लान कार्यान्वयन गर्नु । जनताबाट अस्वीकृत पुराना सोच र कार्यशैलीका मोर्चा मालिकहरूको नयाँ शक्ति निर्माणको नक्कली दृढताको महत्त्व स्यालको हुइँया जति पनि हुने छैन ।
क्रान्ति र देशलाई सखाप पारी सत्तामा पुग्ने गुप्त सम्झौतास्वरूप प्रचण्ड–बाबुरामद्वारा गरिएको १२ बुँदे समझदारीको स्वामित्व लिने प्रणव मुखर्जी (अल जजिरा टिभीमार्फत) भर्खरै भारतीय राष्ट्रपतिमा निर्वाचित भएका छन् । १२ बुँदेको रोडम्याप कार्यान्वयन गरी दिल्लीले अनगिन्ती लाभ लियो । तर, विश्वशक्ति सन्तुलनमा आएको पछिल्लो बदलाव र विशिष्ट भू–रणनीतिका कारण महाशक्ति अमेरिकाको ‘राइभल’ अर्थात् उदयीमान महाशक्ति चीनको नेपाल सरोकार बढ्दो छ । पहिलेभन्दा व्यापक छ, निर्णयक छैन । उसको ठम्याइमा यहाँ चीन–फ्याक्टर प्रभावी बन्दै छ र प्रभुत्व पकडको दृष्टिले ‘डिसेन्टिङ अर्डर’ मा झर्दै छ । चीनलाई कमजोर बनाउने सामरिक उद्देश्यका निम्ती पश्चिमा र भारतीयहरूलाई नेपालमा दलाल सरकार र प्रतिपक्षको बलियो उपस्थिति नितान्त जरुरी छ । त्यसैले यहाँसम्म आइपुग्दा बाह्रबुँदेको ‘मनोटोनस यात्रा’ बाट आजित जनतालाई क्रान्तिकारी शक्तिसँगको आकर्षण र आबद्धताबाट मुक्त राख्न नयाँ शक्ति (मोर्चा) निर्माणको भ्रामक कार्ड फ्याक्नु अनिवार्य थियो । बाह्रबुँदेको च्याप्टर क्लोजको घोषणा नगरेर एमाले–कांग्रेसलाई बाहिर राखी भारतीय गोप्य पहलमा तयार भएको मोर्चाबन्दी कुनै नयाँ ब्रेक थ्रु होइन, राष्ट्रघातको नयाँ राजमार्ग बनाउने दुष्ट संकल्प हो ।
मोर्चा खासमा भारतीय संकटमोचनखातिर दिल्लीमा तयार पारिएको योजनालाई एमाओवादी, मधेसी मोर्चालगायत दलाल दलमार्फत नेपालमा कार्यान्वयन गर्ने उद्देश्यले जन्माइएको हो । मोर्चाका नेताको हैसियत भारतीय रिमोर्टमा चल्ने रोबर्टसरह छ भन्नु तिनको अपमान हुनेछैन । दिल्लीका माइकतुल्य प्रचण्ड–बाबुरामबाट राष्ट्रियताका भावुक भाषण सुन्नुभन्दा मनोज गजुरेलको प्यारोडी सुन्नु स्वास्थ्यका लागि फाइदाजनक हुनेछ । सुशील, केपी र वामदेवहरूले परिभाषित गरेझैँ यो जरुरी मुठभेडको ‘फ्रन्ट’ बन्दै छ । तर, दिल्लीको कसानमा सिकारी पोजिसनमा एलर्ट राखिएका प्रचण्ड–बाबुराम–गच्छदारको मुख्य निसाना हुनेछ, मोहन वैद्य किरणको संरक्षण र सिपी गजुरेलको नेतृत्वमा रहेको संघीय जनगणतान्त्रिक मोर्चा । एमाले– कांग्रेसले त साँढेको जुधाइमा बाच्छाको मिचाइ नियति मात्र भोग्नेछन् । फुटाएर शासन गर्ने विस्तारवादी ‘ग्रान्ड–स्ट्राटेजीअन्तर्गत लोकतान्त्रिक ‘रिकन्सिलेसन’ को कोर्स समाप्त पारी अधिनायकवादी कन्फन्टेसनमा नेपाललाई जर्बजस्त धकेलिँदै छ । साउथ ब्लकको ठम्याइमा सिपी नेतृत्वको ‘प्रोन्चाइनिज’ मोर्चाको काउन्टर ब्यालेन्समा प्रचण्ड नेतृत्वको प्रो इन्डियन–वेस्टर्न मोर्चा उतारेपछि ‘वामन्थीविरुद्ध वामपन्थी भिडाउँदै भारतीय माओवादीलाई सबक सिकाउन सजिलो होला । प्रचण्ड मोर्चाको नाम, समय र परिवेश हेर्नुस्– यो सिपीवाला मोर्चाविरुद्ध प्रतिशोधको जवाफी फायर भएको प्रस्ट हुन्छ । सिपी नेतृत्वको संघीय जनगणतान्त्रिक मोर्चाकै मिल्दोजुल्दो नाम जुराइएको छ । प्रचण्ड नेतृत्वको मोर्चाको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन सिपीवाला मोर्चा गठनलगत्तैको समय रोजिएको छ– प्रचण्डको नेतृत्वको मोर्चा जन्माउनेका निम्ति । चाहेर/नचाहेर देश अब व्यापक मोर्चाबन्दीको चरणमा प्रवेश गर्‍यो । सम्भावित धु्रवीकरणमा राष्ट्रियभन्दा ज्यादा अन्तर्राष्ट्रिय फ्याक्टर प्रभावी बन्दै नेपाल ग्लोबल सुपरपावरहरूको परेड ग्राउन्ड बन्न सक्ने पोजिसनमा पुग्दै छ । सम्भावित महासंकटलाई कूटनीतिक–वैचारिक रूपमा प्रगतिशील सम्भावनामा बदल्न सकियो भने नेपालमा क्रान्ति सम्भव छ, होइन भने राष्ट्रियताको मेरुदण्ड भाँचिएर प्रतिक्रान्तिमार्फत नेपाल असफल राज्यको रुवान्डापथमा धकेलिनेछ । विघटित संविधानसभाको समीकरणलाई वर्तमान शक्ति सन्तुलनको यथार्थ मान्न सकिन्न । त्यो राजनीतिक गणितलाई अतीतको विषय मानेर, वस्तुगत धरातलमा टेकी भविष्यतिर आँखा सोझ्याउने हो भने अवैचारिक जगमा टेकेको प्रचण्ड मोर्चाभन्दा सैद्धान्तिक गर्भबाट जन्मिएका सिपी मोर्चा धेरै हदसम्म प्रभावशाली हुनेछ । फ्रान्सिस फुकुयामा र स्यामुअल पी हन्टिङटनको भविष्यवाणीलाई असफल पार्दै संसारमा कर्पोरेट पुँजीवादविरुद्ध वामपन्थको लहर चलिरहेका बेला ज्याक डेरिडाको ‘विचारधाराको मृत्यु’ को उत्तरआधुनिकतावादी निष्कर्षलाई फलो गर्दै यहाँ प्रचण्डहरूले यस्तो विचारशून्य मोर्चा गठन गर्नु राष्ट्रिय लज्जा नै मान्नुपर्ला । भारतमा दुई ठूला दलहरू कंग्रेस आई र भाजपाले चुनावी असफलताको भयले सानादलहरू मिलाएर मोर्चाबन्दी गरेका थिए ।
कांग्रेसले सन् २००४ देखि युनाइटेड प्रोगेसिभ एलाइन्स (युपिए) मार्फत सरकार चलाइरहेको छ भने १९९८ देखि २००४ सम्म भाजपाले नेसनल डेमोक्रेटिक एलाइन्स (एनडिए) मार्फत सरकार चलाएको थियो । नेपालमा प्रचण्ड–महन्थहरूले त्यसैको अन्ध नक्कल गर्न खोजेका होलान् । यो गठबन्धन अवैचारिक, प्रतिक्रियावादी छ । जहाँ चुनावमा जमानत जफत हुने स्तरका अत्यन्तै अराजनीतिक मान्छे अटाएका छन् । ‘रअ’ सिआइएका एजेन्ट, फ्रि–तिब्बतका दलाल, दुर्नाम भ्रष्टाचारी, व्यभिचारी र सामाजिक रूपमा बहिष्कृतहरूको अपवित्र क्लबलाई मोर्चाको होडिङ बोर्डले सजाउनु गधालाई धोएर गाई बनाउन खोज्नुजस्तै हो । मधेसी मोर्चा नामक दोस्रो ठूलो घटक तराईको वास्तविक जनाधार गुमाएर जमिनदारहरूको मौजामा परिणत भइसकेको छ । बाँकी अन्य दल राजनीतिक इतिहास, दर्शन र भूमिकाको दृष्टिले गरिब छन् र ती प्राय: ०६३ को आन्दोलनपछि भेल छोप्न जन्मिएका अवसरवादीहरू हुन् । प्रचण्ड मोर्चाको लक्ष्य (साध्य) चुनाव जितेर सत्तामा पुग्नु मात्रै हो । सिपी मोर्चाको निम्ति चुनाव र सत्ता साधन मात्रै हुन् । त्यसको मुख्य ध्येय हो– कम्तीमा जनवादी क्रान्ति । मणि थापा र मातृका यादवसहितको जनगणतन्त्रात्मक मोर्चा समाजवाद, साम्यवादलाई विपनामा रूपान्तरण हुन सक्ने मूल्यवान् सपना ठान्छ । अब हेर्नुछ– एमाले–कांग्रेसले अन्य साना घटक समेटेर बनाउने निर्माणाधीन संसद्वादी अर्को चुनावी मोर्चाको प्रवेश राष्ट्रिय राजनीतिमा कसरी हुनेछ ?

प्रतिक्रिया