मिर्गौला रोगीले अनसन रोके

काठमाडौँ, ६ भदौ । सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि मिर्गौला रोगीले १३ दिनदेखि जारी राखेको रिले अनशन स्थगन गरेका छन् ।

आर्थिक अभावका कारण उपचार गराउन नसक्दा धेरैले ज्यान गुमाउन बाध्य हुनुपरेको भन्दै नि:शुल्क उपचारको माग गर्दै अनशनमा बसेका मिर्गौला रोगीका माग समाधान गर्न सरकार सकारात्मक भएपछि उनीहरूले अनशन स्थगन गरेका हुन् । नि:शुल्क उपचारलगायतका माग राखेर १३ दिनदेखि अनशन बसिरहेका मिर्गाैला रोगीहरूको मागका बारेमा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले सरकार सकारात्मक रहेको र यसबारे मन्त्रपरिषद्मा लैजाने प्रतिबद्धता जनाएपछि अनशन केही दिनका लागि स्थगन गरिएको किड्नी समाजका अध्यक्ष राजु तुलाधरले बताए ।
‘स्वास्थ्यमन्त्रीले केही दिनमै माग पूरा गर्ने आश्वासन दिनुभएको छ,’ समाजका अध्यक्ष राजु तुलाधरले भने, ‘माग सम्बोधन गर्ने भनेकाले केही समयका लागि अनशन स्थगन गरेका हौँ,’ उनले माग सम्बोधन नभए पुन: आन्दोलन गर्ने बताए ।
मन्त्री महतोले मिर्गौला रोगीको माग सम्बोधनका लागि सरकारले सहमति बनाएको र समितिले दिएको सुझावका आधारमा एक महिनामा माग सम्बोधन हुने बताए । ‘मिर्गौला रोगीको माग सम्बोधनका लागि मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा.तीर्थराज बुर्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय समिति बनाइएको छ,’ मन्त्री महतोले भने, ‘उहाँहरूले एक महिनाभित्र सबै मागको समाधानको बाटो दिनुहुन्छ र त्यहीअनुसार माग पूरा हुनेछ ।’ मन्त्री महतोले केही माग सम्बोधनका लागि मन्त्रिपरिषद्मा जानुपर्ने भएकाले ती मागलाई मन्त्रिपरिषद्मा लैजानेसमेत बताए ।
सरकारले मिर्गौला रोगीको नि:शुल्क उपचार र हेमोडायलासिसमा लाग्ने सम्पूर्ण खर्च नि:शुल्क गराउनुपर्ने, उपचारका लागि एकमुष्ट आर्थिक सहयोग गर्नुपर्ने, स्वेच्छाले अंगदान गर्न पाउनुपर्ने, ब्रेनडेथ भएकाहरूको मिगौला निकाली प्रत्यारोपण गर्ने व्यवस्था गरिनुपर्ने, प्रत्येक जिल्लामा कम्तीमा एउटा हेमोडायलासिस केन्द्र सञ्चालन गर्नुपर्ने, डायलायसिस सेवा २४ घन्टा नै सञ्चालन गर्नुपर्ने, बन्द, हडतालका बेलामा मिर्गौला रोगीलाई अस्पताल लैजान छुट्टै सवारीसाधनको व्यवस्था गरिनुपर्नेलगायतका १७ बुँदे मागसहित उनीहरू अनशनमा बसेका हुन् ।

प्रतिक्रिया