आठ केजी चाँदीसहित दुई पक्राउ

वीरगन्ज, ६ भदौ । प्रहरीले वीरगन्जमा मंगलबार ठूलो परिमाणमा चाँदीसहित दुईलाई पक्राउ गरेको छ । वीरगन्ज–११ माईस्थानबाट प्रहरीले आठ किलो दुई सय ग्रामका चाँदीका पाउजुसहित सुनचाँदी व्यापारी हरिओम सर्राफ र उनका कामदार सन्तोष साहलाई पक्राउ गरेको हो । भारतको रक्सौलबाट मोटरसाइकलमा ल्याइएको चाँदीका पाउजु प्रहरीले बरामद गरेको हो ।

सुराकीका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट सादा पोसाकमा खटिएका प्रहरीले हरिओम र सन्तोषलाई र मोटरसाइक र पाउजुलसहित नियन्त्रणमा लिएका हुन् । बरामद गरिएको चाँदीका पाउजुको बजारमूल्य सात लाख १३ हजार रुपियाँ रहेको वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर सुजनराज जोशीले बताए ।
बाराको इटियाही–७ घर भएका हरिओमले माईस्थानमा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए । भारतबाट चाँदीका गहना अवैधरूपमा नेपाल भित्रिइरहेको सूचनाका आधारमा प्रहरीले केही दिनयता माईस्थान क्षेत्रमा निगरानी बढाएको थियो । मंगलबार बिहान माईस्थानस्थित डिपिएस ज्वेलरी नामक सुनचाँदी पसलअगाडि रोकेर राखिएको ना १६ प ३५४६ नम्बरको सिबिजेड मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको पाउजु प्रहरीले बरामद गरेको हो । पाउजु लुकाएर राखिएको मोटरसाइकल हरिओमका कामदार सन्तोषले सार्ने क्रममा सादा पोसाकमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । मोटरसाइकल सुमन सर्राफको नाममा दर्ता छ ।
चाँदी तस्करीमा पक्राउ परेका सन्तोषलाई प्रहरीले मंगलबार साँझ छाडेको छ । सन्तोष, हरिओमको कामदार भएको र उनी निर्दोष पाइएकाले रिहा गरिएको इन्स्पेक्टर जोशीले बताए । साहु हरिओमलाई भने बरामद चाँदी र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि मंगलबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैबीच ३८ हजार पाँच सय भारतीय रुपियाँसहित पक्राउ परेका भारतीय नागरिकलाई पर्सा प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत कारबाही प्रक्रिया सुरु गरेको छ । पाँच सय दरका भारतीय नोटसहित पक्राउ परेका उत्तर प्रदेश राज्यको गादीपुरको पखनपुराका ४२ वर्षीय विद्याञ्चलप्रसाद यादवलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेर सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत कारबाही चलाएको हो ।

प्रतिक्रिया