लुटेरा समूहद्वारा दुईको हत्या

पाँचथर : सराङडाँडामा सोमबार राति लुटपाट गर्न आएको डाँकासमूहले दुई जनाको हत्या गरेको छ । डाँकाको आक्रमणबाट भक्तप्रसाद आङदेम्बे र यमुना योङहाङको मृत्यु भएको हो । १० जनाको लुटेरासमूहले घरेलु हतियार प्रहार गर्दा आङदेम्बे र योङहाङको ज्यान गएको हो ।
सराङडाडा १ का ६३ वर्षीय भक्तप्रसाद र अटलप्रसाद आङदेम्बेको घरमा राति १०:३० बजे नकाव लगाएर आएको समूहले गरेको प्रहारबाट उनीहरूको ज्यान गएको स्थानीयले बताए । लुटेराले खुकुरी, भाला र छुरीसहित घरमा छिरेर परिवारका सदस्यलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद सिलवालले जानकारी दिए ।
सिलवालका अनुसार लुटेरासमूहले अटलप्रसादको घरबाट साढे १२ लाख र भक्तप्रसादको घरबाट २ लाख ५० हजार रुपियाँ नगदसहित दुवै घरबाट २५ तोलाबराबर सुनचाँदी लुटेर लगेको छ । लुटेरासमूहको आक्रमणमा परी भक्तप्रसादकी पत्नी भक्तमाया, बुहारी इन्द्रकुमारी र एकवर्षीया नातिनी दीपशिखा तथा अटलबहादुर, पत्नी देवीमाया, २५ वर्षीया छोरी इन्द्रमाया, आठवर्षीया नाति सन्दीप घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले नवमीडाँडा–४ का ४० वर्षीय लछु पेमेहाङ, संखुवासभा जलजले–१ का इन्द्र लिम्बूलाई दमकमा पक्राउ गरेको छ । यस्तै, नागिन–२ की प्रेममाया फेवाको घरमा पनि सोमबार राति लुटपाट भएको छ । स्थानीय सुभाष आङवो फेवाको घरको ढोका तोडफोड गरी २५ हजार रुपियाँबरावरको सुनका गहना लुट्नुका साथै फेवालाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया