नेपाली टोली भिन्न संरचनामा

काठमाडौ, ५ भदौ । यसपटकको नेहरूकप फुटबल प्रतियोगितामा नेपाली फुटबल टोली फरक संरचनामा देखिने भएको छ । भारतको दिल्लीमा ७ भदौदेखि हुने प्रतियोगिता सहायक प्रशिक्षक हरि खड्का, रूपेश केसी र बायाँ रक्षक सर्विन्द्र श्रेष्ठका लागि आफ्नो क्षमता पुष्टि गर्ने महत्त्वपूर्ण अवसरसमेत हुनेछ । प्रतियोगितामा नेपालका समानस्तरका भारत र माल्दिभ्स तथा माथिल्लोस्तरका सिरिया र क्यामरुन समावेश छन् ।
नेपाली टोलीले भारत र माल्दिभ्ससँग ४–४–२ को नीति अपनाउनेछ भने सिरियासँगको नीति दिल्लीमै उसको खेल हेरेपछि मात्र तय हुनेछ । क्यामरुनसँग नेपालले रक्षात्मक खेल खेल्नेछ । नेपाली फुटबलका एक सर्वकालीन उत्कृष्ट स्टार खड्का एएफसी बी साइसेन्स कोर्ष गरिसकेपछि पहिलोपटक राष्ट्रिय टोलीमा आबद्ध भएका छन् । ‘केही सिक्दै छु । प्रशिक्षणमै रमाइरहेको छु । सकेसम्म राम्रो गर्ने प्रयास गर्छु,’ आफ्नो र विपक्षी टोलीको खेल सही अध्ययन गर्न सक्ने क्षमताकै कारण खेलाडीको रूपमा पनि अन्यभन्दा पृथक रहेका खड्काले भने ।
यसपटकको नेपाली टोलीमा केही फरकपन देखिनेछ । भरपर्दा बायाँ रक्षक रविन श्रेष्ठ घाइते भएका कारण उनको स्थानमा टोलीमा परेका सर्विन्द्र श्रेष्ठलाई आफ्नो औचित्य पुष्टि गर्ने राम्रो अवसरको रूपमा यो प्रतियोगिता रहेको छ । यसैगरी रक्षात्मक खेलमा उत्कृष्ट मानिएका रूपेश केसीका लागि पनि आफूभन्दा बलियो टोली प्रतिद्वन्द्वी भएका कारण यो प्रतियोगिता क्षमता पुष्टि गर्ने महत्त्वपूर्ण अवसर बन्न सक्छ ।
अन्तिम रक्षकको रूपमा रोहित चन्दमाथि नेपाली टोली निर्भर रहन सक्छ भने उनको साथमा सागर थापा या सन्दीप राईमध्ये को रहने भन्ने निर्णय पनि प्रतियोगितास्थलमा नै हुनेछ । गोलीगाँठाको सामान्य चोटको समस्यामा रहेका सन्दीप ठीक भएमा मिडफिल्डमा पनि रहन सक्नेछन् । यदि यसो भएमा नेपालले एक्लो फरवार्ड खेलाएर रूपेश, राजु र सन्दीपलाई एकै साथमा खेलाउन सक्नेछ ।
प्रतिभाशाली हुनुका बाबजुद अस्थिर प्रदर्शन गर्ने विजय गुरुङ पुरानै फर्ममा रहेको दाबी नेपाली टोलीको छ । यदि यसो भएमा उनी नै टोलीका नियमित खेलाडी हुनेछन् । ग्राहम रोबर्ट्सले मिडफिल्डमा उपयोग गर्दा पनि अन्य फरवार्डले भन्दा धेरै गोल गरेका भरत खवास यसपटक फरवार्डकै भूमिकामा रहनेछन् ।
लामो समय कमजोर प्रदर्शन गरेको नेपाली टोलीका लागि साख गिर्ने क्रमलाई रेक्नु नै चुनौती बनेको छ । परम्परागत ढर्राको प्रशिक्षकभन्दा फरक सोचका खड्काको उपस्थिति यो प्रतियोगितामा सार्थक पनि हुन सक्नेछ । साथमा रूपेश र सर्विन्द्रका लागि औचित्य पुष्टि गर्ने राम्रो अवसर पनि ।

प्रतिक्रिया