वर्षाले कुहिन थाल्यो स्याउ

कैलाली, ५ भदौ । बाजुरामा लगातारक झरीका कारण घाम नपाएर फलेका स्याउ बोटमै कुहिन थालेका छन् । लटरम्म फलेका स्याउ बोटमै कुहिन थालेपछि किसान चिन्तित भएका छन् । अत्यधिक मात्रामा फलेका स्याउ लगातार झरीले घाम नपाएर नपाक्दै बोटमै कुहिन थालेको जुकोटका स्याउ कृषक कपुर साहीले बताए ।

जिल्लाको जुकोट, कोल्टी, पान्डुुसैन, साप्पाटा, बाईलगायत गाविसमा स्याउ खेती गरिन्छ । यो वर्ष अत्यधिक मात्रामा स्याउ फलेको भए पनि नपाक्दै बोटमा कुहिएर लाखौँ क्षति व्यहोर्नु परेको पीडित किसानको भनाइ छ ।
यो वर्ष एकै बोटबाट हजारांैँ आम्दानी हुने आशामा रहेका थियौँ साहीले भने । तर, साउन सुरु भएदेखिको अविरल वर्षाका कारण घाम नपाएर स्याउ बोटमै कुहिएर लाखौँको क्षति भएको छ ।
स्याउ बेचेर गुजारा गर्ने किसानलाई झरीका कारण बोटमै दिन प्रतिदिन स्याउ कुहिन थालेपछि ठूलो पीडा भएको छ । व्यावसायिक रूपमा गरिएको स्याउ खेतीबाटै लाखौँको आम्दानी गरेर घरपरिवार पाल्दै आएका किसान स्याउ बोटमै कुहिन थालेपछि घरपरिवार पाल्ने र छोराछोरी पढाइ खर्चको जोहो गर्ने भन्ने चिन्ताले सताउन थालेको अर्का स्याउ कृषक सुजन साहीले बताए । जिल्लामा उत्पादन हुने स्याउ अधिकांश बजार अभावमा गाई–भैँसीलाई दिनुपर्ने बाध्यता रहेको छ । स्याउ उत्पादन हुने सो क्षेत्रमा एक रुपियाँको एक दाना स्याउ पाइन्छ भने सदरमुकाम मार्तडीलगायत स्थानीय बजारमा एक दानाको पाँच रुपियाँसम्म बिक्री हुने गरेको साहीले बताए । उत्पादित स्याउले यातायातको असुविधा र उचित भण्डारण गर्ने सुविधा नहुँदा वर्षेनी कुहिएर खेर जाने गरेको किसानले बताएका छन् ।
वर्षा भइरहेका बेला विषादी छर्न नमिल्ने भएका कारण घाम नलाग्दासम्म केही गर्न नसकिने जिल्ला कृषि विकास कार्यालयका कृषि विकास अधिकृत रामशरण यादव बताउँछन् । उनले जिल्लाको उत्तरी क्षेत्रमा व्यावसायिक रूपमा गरिँदै आएको स्याउ खेतीबाट कृषकलाई कसरी बढी फाइदा दिन सकिन्छ भनेर कार्यालयले योजना बनाउन लागेको जानकारी दिए ।

प्रतिक्रिया