विमानस्थल गौचरनमा परिणत

राजविराज, ५ भदौ । बजेट छुटयाइएअनुसार काम नहुँदा देशकै पुरानो राजविराज विमानस्थल स्थानीयको गौचरण र खेतमा परिणत भएको छ ।

कच्ची धावनमार्ग भएका कारण पटकपटक सञ्चालन र अवरुद्ध हुँदै आएको विमानस्थल पछिल्लोपटक ०६७ असारदेखि सञ्चालनमा आउन सकेको छैन । विमानस्थलमा स्थानीयले गाई चराउने गरेका छन् । यस्तै केहीले खनजोत गरी धान पनि रोपेका छन् । ०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले उद्घाटन गरेको विमानस्थलबाट राजविराज–काठमाडांै र राजविराज–लामिडाँडा दुईतर्फी हवाई सेवा सञ्चालन हुँदै आएको थियो ।
धावनमार्ग भरपर्दो नभएपछि विमान कम्पनीहरूले ०६७ जेठको पहिलो साताबाट सेवा स्थगन गरेका थिए । विमानस्थल पुन: सञ्चालनको आवश्यकता महसुस गरेर जिल्ला विकास समिति सप्तरी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच चार करोड रुपियाँको लागतमा विमानस्थलको स्तरोन्नति गर्ने सम्झौता भएको थियो । तत्कालीन एलडिओ विश्वराज डोटेल र प्राधिकरणका निर्देशक केशवराज खनालबीच १७ वैशाख ०६७ मा भएको सम्झौतामा जिविसले दुई करोड र प्राधिकरणले दुई करोड रुपियाँ लगानी गर्ने उल्लेख छ ।
प्राधिकरणको दुई करोड रुपियाँ धावनमार्ग ग्राभेलका लागि र जिविसको दुई करोड रुपियाँ एक्सेस रोड सुधार, एयरपोर्ट फिनिसिङका लागि खर्च गर्ने सम्झौता भएको थियो । विमानस्थलको एक हजार पाँच सय सय मिटर धावनमार्गमध्ये नौ सय मिटर धावनमार्गको ग्राभेल कार्य सुरु भए पनि सात सय मिटर ग्राभेलको काम नभएको प्राधिकरणका तत्कालीन साइट इन्चार्ज इन्जिनियर मणिगोविन्द श्रेष्ठले बताए । जिल्ला विकास समितिले गर्नुपर्ने काममध्ये तारबारलगायतका काम अधुरै रहेपछि विमानस्थल क्षेत्रभित्र अतिक्रमण बढेको हो ।
विमान पनि नआउने र तारबार पनि नभएका कारण विमानस्थलमा बिहानैदेखि स्थानीयले गाईवस्तु चराउने गरेको चौकीदार दिलिप रायले बताए । अहिले त चौकीदार राय आफैले विमानस्थलभित्रै गाईपालन सुरु गरेका छन् । विमान सञ्चालन हुने छाँटकाँट नदेखेपछि उनले करिब दुई बिघा जग्गासमेत अतिक्रमण गरेर धान रोपेका छन् । ‘त्यसै बस्नुभन्दा पेट पाल्ने मेसो मिलाउन छेउबाट खेती सुरु गरेको छु,’ उनले भने ।
१४ वैशाख ०६८ सम्ममा काम सम्पन्न भइसक्नुपर्नेमा हालसम्म अधुरै रहेकोले करोडौँको लगानी खेर जानुका साथै महत्त्वपूर्ण पूर्वाधारको सदुपयोगसमेत नभएको इटहरी विष्णुपुर गाविसका निवर्तमान अध्यक्ष नीलाम्बर यादवले बताए । धावनमार्गको स्तरोन्नतिका लागि काम सुरु हुनुपूर्व विमानस्थल पुगेका तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरत्सिंह भण्डारीले ग्राभेलको काम सकिएलगत्तै धावनमार्ग कालोपत्रे गर्ने बताएका थिए तर हालसम्म ग्राभेलकै काम अधुरो रहेको विमानस्थलका जग्गादाता परिवारका सदस्य महामायाप्रसाद सिंहले बताए । विमानस्थलका लागि इटहरी विष्णुपुरस्थित उनका पिता रुद्रनारायण सिंहले ५० बिघा जग्गा उपलब्ध गराएका थिए ।
सगरमाथा अञ्चलको सदरमुकाम राजविराजलाई पहाडी जिल्लासँग जोड्न र नजिकै रहेको भारतीय सीमावर्ती क्षेत्रका जनतालाई समेत नेपालप्रति आकर्षित गर्न विमानस्थल सञ्चालनको पहल भएको हो । तर हाल सरोकारवालाको बेवास्ताका कारण अलपत्र परेको उद्योग–वाणिज्य संघ सप्तरीका महासचिव सुरेशप्रसाद सिंह बताउँछन् । अधुरो रहेको काम पूरा गरी विमानस्थल सुचारु गर्न सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया