डिएसपी क्वार्टरमै फिलामेन्ट

जाजरकोट : सदरमुकाम खलंगामा फिलामेन्ट बल्बको प्रयोगमा रोक लगाइए पनि डिएसपी क्वार्टरमै प्रयोग भइरहेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख ईश्वर कार्कीको निवासको बाहिरपट्टि पूर्व, दक्षिण र पश्चिम तीन ठाउँमा देखिने गरी बल्ब प्रयोग भइरहेको छ । डिएसपी क्वार्टरबाहेक प्रहरीका अन्य कर्मचारी बस्ने घरमा समेत यसको प्रयोग भएको छ ।
सदरमुकाममा खलंगाका विभिन्न वडामा विद्युत् सेवा पुर्‍याउँदै आएको साङ्ट–रिसाङ लघु जलविद्युत् आयोजनाले उत्पादन मेसिनमा समस्या देखिएको बताउँदै पटकपटक सार्वजनिक रूपमा सूचना जारी गरी बढी विद्युत् खपत हुने फिलामेन्ट बल्ब, फ्रिज, राइसकुकरलगायतका उपकरणको प्रयोगमा रोक लगाएको छ । तर, आयोजनाको मापदण्डविपरीत प्रहरी कार्यालयमा नै फिलामेन्ट बल्बको प्रयोग भइरहेको छ  । सर्वसाधारणको घरमा पुगेर फिलामेन्ट बल्ब निकाल्ने आयोजनाका कर्मचारी प्रहरीको क्वार्टरमा प्रयोग भएको बल्ब नदेखेझैँ गरेका छन् । डिएसपी क्वार्टरनजिकैका एक स्थानीयले भने, ‘हामी गरिब निमुखाको घरबाट फिलामेन्ट तानेर सिएफएल प्रयोग गर्न बाध्य बनाउने आयोजना प्रशासनिक निकायबाटै दुरुपयोग हुँदा मौन छ ।’
आयोजनाका प्रबन्धक भोजेन्द्र मल्लले भने, ‘फिलामेन्ट प्रयोग नगर्न पटकपटक सार्वजनिक र मौखिक जानकारी गराएका हौँ, सुरक्षा निकायभित्र गएर हामीले आफैँ फाल्न मिल्दैन ।’ उनले भने, ‘यस विषयमा फेरि एकपटक लिखित आग्रह गरिनेछ ।’ आयोजनाले यसअघि मापदण्डविपरीत कार्य गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय, महिला तथा बालबालिका लगायतका कार्यालयको विद्युत्लाइन काटिएको थियो । सेनाको वीर दल गणले पनि मापदण्डविपरीत कार्य गरेको भन्दै दुईवटा लाइन जोडिएकामा एउटा मात्र राख्ने तयारी भइरहेको आयोजनाका अध्यक्ष लीलाबहादुर शाहले जानकारी दिए । त्यसपछि पनि गणले फिलामेन्ट बल्ब नहटाए आयोजना विद्युत्लाइन दिन बाध्य नहुने अध्यक्ष शाहको भनाइ छ । अध्यक्ष शाहले भने, ‘सुरक्षा निकायबाटै नियमको उल्लंघन भएको छ । हामी अन्तिमपटक आग्रह गर्छाैं ।’
डिएसपी कार्कीले आयोजनाले फिलामेन्ट बल्ब हटाउने अभियान थाल्नेबित्तिकै आफूहरूले पनि हटाइसकेको दाबी गरे । तर, उनको क्वार्टरबाहिरपट्टि नै तीनवटा फिलामेन्ट बल्ब प्रयोग भइरहेको विषयमा भने उनी अनभिज्ञ रहेको बताउँदै पन्छिन खोजे । (सौस)

प्रतिक्रिया