कतारमा बर्सेनि डेढ लाख नेपाली कामदार

काठमाडौं, ३ भदौ । वैदेशिक रोजगारीका लागि बर्सेनि एक लाख ५० हजार नेपाली कामदार कतार जाने गरेका छन् । पछिल्लो वर्ष नेपाली कामदारको प्रमुख श्रम गन्तव्य बनेको कतार अहिले नेपाली कामदार लिने पहिलो मुलुकसमेत भएको छ ।
एकपछि अर्को गर्दै रोजगारीका अवसर सिर्जना गरिरहेको कतारले नेपाललगायत अन्य मुलुकबाट समेत उत्तिकै कामदार लिने गर्छ । तर, काममा मिहिनेती र विश्वासिलो भएकै कारण बर्सेनि एक लाख ५० हजारको हाराहारीमा नेपाली कामदार त्यहाँ जाने गरेका हुन् । रोजगारदाताले अन्य मुलुकका कामदारभन्दा नेपालीलाई नै बढी रुचाउने भएकाले मागसमेत बढी आउने गरेको व्यवसायी बताउँछन् ।
खासगरी निर्माण क्षेत्रको काममा बढी कामदार लैजाने गरेको कतारले त्यसबाहेक होटल, सुपरमार्केट, पेट्रोलपम्पलगायत काममा पनि नेपाली कामदार लैजाने गरेको छ । कामअनुसारको पारिश्रमिकसमेत पाउने भएकाले बढी कामदार कतार जाने गरेका हुन् । यसले विगतमा बढी कामदार लिने मुलुकमध्ये पहिलो नम्बरमा पर्दै आएको मलेसियासमेत पछि परेको छ ।
गत आर्थिक वर्षमा मात्र एक लाख ४६ हजार ७ सय ३८ पुरुष र एक हजार दुई सय १८ जना महिला कामदार कतार गएको वैदेशिक रोजगार विभागले जनाएको छ । कम लागत र कामअनुसार पारिश्रमिक हुने भएकाले पछिल्लो वर्ष नेपाली कामदार कतार बढी जाने गरेको वैदेशिक रोजगार व्यवसायीको भनाइ छ । वैदेशिक रोजगार व्यवसायी संघकी सचिव सुवर्णा श्रेष्ठ कतारको लागत खर्च कम हुनुका साथै पछिल्ला वर्ष रोजगारीको अवसरसमेत बढेकाले कामदार बढी जाने गेको बताउँछिन् । त्यसो त सरकारले तोकेभन्दा बढी रकम तिरेर कामदार कतार जाने गरेको सरकारी अधिकारी बताउँछन् । सरकारले अहिले कतारका लागि २० हजारको हाराहारीमा मात्र लागत खर्च हुने जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई कतारमा अधिकाशं फ्री भिसा र टिकट हुने भएकाले व्यवसायीले भनेजति तिर्नु नपर्ने तर्क राख्छन् । तर, व्यवसायीले भने ५० हजारभन्दा माथि एक लाख रुपियाँसम्म उठाउँदै आएका छन् । उनीहरूले लागत खर्च सरकारले भनेजस्तो नहुने जनाउँदै आएका छन् ।
यता, कामदार बढेसँगै कतारस्थित नेपाली दूतावासले उनीहरूको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । दूतावासले कामदारको न्यूनतम तलब ५० प्रतिशत वृद्धि गर्ने निर्णय गरी लागू गराउन श्रम मन्त्रालयलाई सिफारिस गरेको जनाएको छ । दूतावासले न्यूनतम तलब ९ सय र खानाबापत ३ सय गरी १२ सय रियाल तोक्न सिफारिस गरेको छ । सरकारले करिब तीन वर्षअघि पहिलोपटक कतारका लागि छुट्टै तलब तोकेको थियो । दूतावासले उच्च दक्ष कामदारका हकमा १० प्रतिशत बढाउन सिफारिस गरेको मन्त्रालयले जनाएको छ । कतारमा नेपाली कामदारले अहिले ६ सय रियाल न्यूनतम पारिश्रमिक पाउने गरेका छन् । दूतावासले गरेको सिफारिस श्रममन्त्रीस्तरबाट निर्णय गरेपछि मात्रै कार्यान्वयनमा आउने जनाइएको छ । कतारमा महँगी निकै बढेकाले कामदारले बचत गर्न नसक्ने अवस्था आएपछि पारिश्रमिक वृद्धिका लागि सिफारिस गरिएको जनाइएको छ ।

प्रतिक्रिया