“भागेर पौडी खेल्न पुग्थेँ”


भाइबहिनी हो, म तिमीहरूको भुवन केसी दाजु हुँ । तिमीहरूले चलचित्रमा मेरो अभिनय त देखेका हौला तर मेरो बाल्यकालका कुरा भने पक्कै थाहा नहोला । ल म भन्छु, तिमीहरू सुन है त † मेरो जन्म २०१५ साल असोज १ गते काठमाडौंको सिनामंगलमा भएको हो । एक बहिनी र तीन भाइमध्ये म जेठो हुँ । बुबा अवकाशप्राप्त मेजर हुनुहुन्छ । हामी ठिनामिना हुँदाको सिनामंगलमा अहिलेको जस्तो मानिसको हुल, मोटरगाडीको ताँती अनि यतिविघ्न असरल्ल घरहरू पनि बनेका थिएनन् । त्यति बेला चारैतिर खालीखाली रहेका फाँटमा धान फल्थे । घर पनि फाट्टफुट्ट थिए । हामी एयरपोर्टको रनवेमा फुटबल र स्केटिङ खेल्थ्यौँ । त्यति बेला एक–दुई दिन बिराएर ढड्डा खालको डकोटा प्लेन आउँथ्यो । प्लेन ओर्लिने बेला भएपछि ‘प्लेन आउँदै छ’ भनेर माइकिङ हुन्थ्यो र साइरन बज्थ्यो । हामी साथीहरू फटाफट स्केटिङ खोलेर प्लेन रनवेमा गुड्न थालेपछि तँछामछाड गर्दै त्यसका पछिपछि विनापखेटा कावा खाँदै प्लेनको हावा खान बित्तातोडले दौडन्थ्यौँ । एयरपोर्टका मेनेजेर बेन्चमान हामीलाई गाडीमा लखेट्थे । हामी घरतिर टाप ठोक्थ्यौँ ।
आमाले सिलोटमा कखरा लेख्न र चिन्न सिकाउनुभयो । न्यु इंग्लिस स्कुल बानेश्वरमा केजीमा भर्ना भएर दुई कक्षासम्म पढेँ । त्यस स्कुलमा हामीलाई केही अघिकी सिएनएन हिरो अनुराधा कोइरालाले पढाउनुहुन्थ्यो । हामी उहाँलाई गुरुङ मिस भन्थ्यौँ । अझै भेट हुँदा म उहाँलाई मिस नै भन्छु । तीनदेखि पाँच कक्षासम्म लेबरोटरी स्कुलमा पढेँ । ६ कक्षादेखि चाहिँ डिएमपिएस स्कुल सानोठिमीमा पढेँ ।
म सानोमा चन्चले हा..हु गर्नुपर्ने दुब्लो, पातलो र छरितो बच्चा थिएँ । स्कुलका हरेक गतिविधिमा भाग लिन्थेँ । पढाइमा तेज खालकै थिएँ । सकेसम्म ड्रेस लगाएर स्कुल जान नपरोस् भन्ठान्थेँ । खुट्टामा छालाको कालो जुत्ता, तल नीलो कट्टु, माथि हल्का नीलो सर्ट अनि काँधमा भिर्ने झोला हुन्थ्यो । झोलाभित्र किताबकापी, सिसाकलम, इन्स्ट्रुमेन्ट बक्स हालेर, कपालमा चिटिक्क तेल पनि लगाई झिल्के केटो भएर बसमा स्कुल जान्थेँ ।
साथीभाइ बिगार गर्थे, नामचाहिँ मेरो लगाउँथे । उनीहरूको कुरा सुनेर सत्यतथ्य पत्ता नलगाई बुबाले तेलमा डुबाएर चिल्लो बनाएको सैनिक छडीले पिटेर आफ्नो बिहे अर्थात् बाउको बिहे नै देखाइदिनुहुन्थ्यो । फिल्ममा जतिसुकै लामो डाइलग बोले पनि बुबाका सामुन्ने मेरो अहिले पनि बोली नै फुट्दैन भाइबहिनी हो, के भएको हो कुन्नि †
म सानोमा आमासँग असाध्यै मिल्थेँ । एकपटक म र आमा फिल्म हेर्न गएका थियौँ । मैले १०–११ वर्षको उमेरमा विश्वज्योति हलमा हेरेको त्यो पहिलो फिल्म हो– बेटाबेटी । हामी हलमा बसेर हेर्न थाल्यौँ । पर्दापछाडि कलाकारहरूको घर हुन्छ, त्यहीँबाट फुत्तफुत्त निस्केर बोल्छन् जस्तो मलाई लाग्थ्यो । मरेको दृश्य आउँदा कठैबरा मरेछ भनेर दु:ख मनाउ पनि गर्थें । फाइट हँुदा यति ठूला भएर पनि मान्छेहरू किन झगडा गरेका होलान् भन्ने ठान्थेँ । हिन्दी नबुझ्ने भएकाले सबभन्दा गाह्रोचाहिँ हँसाउने दृश्यमा हुन्थ्यो । वरिपरिका दर्शक मरीमरी जोडजोडले हाँस्थे, मचाहिँ गम्भीर भएर आमालाई सोध्थेँ– आमा, मानिसहरू किन हाँसेका ? उहाँलाई पनि हिन्दी नआउने भएकाले चुप लागेर बस्नुहुन्थ्यो । फिल्म हेर्ने मानिस फेरि हाँस्न थाल्थे । म पनि हाँस्नुपर्ने रहेछ भन्ठान्दै हाहाहा..गर्दै खित्का छोड्न थाल्थेँ, कुरै नबुझीकन ।
हामीलाई स्कुलले नै महिनावारी र ठेक्कामा खाजा दिन्थ्यो । कहिले लालमोहन र फुरनदाना, कहिले हलुवापुरी र तरकारी, कहिले जेरीस्वारी । त्यो खाजा सम्झँदा अहिले पनि मुख रसाएर आउँछ । कहिलेकाहीँ शारदा दिदीलाई झुक्याएर त्यो काइदाको खाजा दुईचोटि खाइदिएर म फाइदा पनि लुट्थेँ । हतारहतार खाजा खाएर मनहरामा ज्यापूको बारीमा साथीहरूसँग पसेर डुकु टिपी कुपुकुुपु खान्थ्यौँ । ज्यापूले लखेटेपछि भागाभाग हुन्थ्यो । सानो बेलामा खेलमा मैले झेल गर्नै पर्दैनथ्यो, हरेक खेलमा सिपालु र अब्बल थिएँ । ब्याडमिन्टन, टेबुलटेनिस, भलिबल, गुच्चा त बच्चा बेलामा हामी फुच्चाहरूको श्रीसम्पत्ति नै थियो । स्कुलबाट भागेर भक्तपुर फिल्म हेर्न पुग्थेँ । भोलिपल्ट होमवर्क पूरा हुँदैनथ्यो । सरले घडी हेर्दै हातमा छडीको डाम बसाइदिनुहुन्थ्यो । स्कुल गयल भए पनि सरमिसले एकचोटि पढाएको सुनेपछि याद भइहाल्थ्यो । उहाँहरूले सोध्दा म नअकमकिई ठाँटले पाठ सुनाउँथेँ । सानोमा ओछ्यान गिलो बनाएको सम्झना छैन तर गणित विषयमा चाहिँ सुसु आउला–आउला जस्तो हुन्थ्यो । जहाँका र जुनसुकै पनि कुकुर मेरा साथी हुन्थे तर सर्प र भूतसँगचाहिँ साह्रै डर लाग्थ्यो । गाउँले काकादाजुहरू चियापसलमा बसेर कुरा गर्थे– ‘भीमसेनगोलामा राँको बाल्ने राँके भूत छ, पुरानो बानेश्वरमा फुच्चे छौँडाछौँडी छन् अरे † घट्टेकुलोमा उल्टो खुट्टा भएकी सुन्दर किचकन्या, सिनामंगलमा त टाउको नभएको मुर्कट्टा नै छ अरे ।’ सिनामंगलमा बसे पनि मेरो प्राय: थातवास मामाघर बानेश्वरमा नै हुन्थ्यो । म सुत्न मात्र बेलुका घर जान्थेँ । भीमसेनगोला पुगेपछि राँके भूत सम्झेर म सिनामंगलतिर जाने मान्छे कुरेर बस्थेँ । कहिले त मान्छे नभेट्टाएर एक–दुई घन्टा नै कुर्नुपथ्र्यो ।
कहिलेकाहीँ स्कुलबस छाडेर साझा बस चढेर बालाजु पौडी खेल्न पुग्थेँ । बुबाको सैनिक छडी याद आएपछि हतारहतार स्कुलको समय मिलाएर घर पुगिहाल्थेँ । स्कुलको लामो बिदामा हामी साथीहरू बिहान चियापसलमा भेला भएर गुह्येश्वरी, पशुपति पनि पुग्थ्यौँ । मन्दिर घुमेर आएपछि गाउँकै सार्वजनिक डोलधारामा हिरोझैँ नुहाउन थाल्थ्यौँ । लाम लागेर पहिला जिउ भिजायो, अनि अर्कालाई पालो दियो, जिउ भिजाउनेले हातमुखमा मज्जाले साबुन दल्यो । त्यही बेला गाउँले दिदी–काकीहरू गाग्रोमा पानी भर्न थाल्थे । पखाल्ने पालो पाइँदैनथ्यो । हामी हातगोडा फाल्दै ऐया, आत्था, मरेँ बाबा भन्दै उफ्रन थाल्थ्यौँ । हाम्रो हिरोपन साबुनको पिरोले क्षणमै जिरो हुन्थ्यो ।
दशैँका बेला बुबासँग बाइकमा पछाडि बसेर खसी च्यापेर ल्याउँदा मलाई बडो आनन्द आउँथ्यो । त्यो खसीलाई म आफैँ चराउन पनि लान्थेँ । १४ वर्षको उमेरमा बाइक र मोटर पनि चलाउन सिकिसकेको थिएँ । म सानोमा गल्फ पनि खेल्थेँ । फुच्चे बेलामा हामीसँग स्टिक हुँदैनथ्यो र त्यो किन्ने पैसा पनि । बकैनाको हाँगा काटेर स्टिक बनाउँथ्यौँ र सरासर गल्फ कोर्समा पुगेर यस्तो सट उडाउँथेँ, त्यो देखेर त्यहाँ खेल्न धुइरेका कुइरे गल्फरहरू पनि जिल खान्थे ।
सानैदेखि नै मेरो हिरो बन्ने सपना पूरा भएकामा म साह्रै खुसी छु । भाइबहिनी हो † डिएमपिएस स्कुलबाट मैले एसएलसी परीक्षा उत्तीर्ण गरेँ । त्यसपछि मेरो स्कुल जीवन सदाका लागि सकियो ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया