डिन नियुक्तिपछि टिचिङको आन्दोलन स्थगित

काठमाडौं, ३ भदौ । वरिष्ठता र कार्यक्षमताका आधारमा डिन नियुक्तिको माग राखी अनशनमा बसेका डा. गोविन्द केसीको माग सरकारले पूरा गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा त्रिभुवन विश्वविद्यालयले डा. प्रकाश सायमीलाई नियुक्त गरेपछि शनिबार डा. केसीले अनशन तोडेका हुन् ।

राजनीतिक भागबन्डामा डिनलगायत पदाधिकारी नियुक्ति हुने प्रवृत्तिका कारण संस्थान र अस्पताल धराशयी बन्दै गएकाले योग्यता र क्षमताका आधारमा डिन नियुक्ति हुनुपर्ने मागसहित डा. केसी २९ साउनदेखि अस्पतालमा अनशनमा बसेका थिए ।
डा. केसीको मागलाई सम्बोधन गर्दै सरकारले डिन नियुक्त गरेको हो ।
दुईजना बिरामीबाट जुस खाएर हाडजोर्नी विशेषज्ञ डा. केसीले अनशन तोडे । केसीले शनिबार अपराह्न ४ बजे इन्द्र चेपाङ र पृथ्वी विकले जुस खुवाएर अनशन तोडाएका हुन् । अनशन तोडाउन शिक्षामन्त्री दीनानाथ शर्मा त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
वरिष्ठताका आधारमा त्रिवि कार्यकारी परिषद्ले डा. प्रकाश सायमीलाई डिन नियुक्त गर्नु समग्रमा संस्थाको जित भएको प्रतिक्रिया डा. केसीले दिए । ‘यो नैतिकताको लडाइँमा संस्थानको जित भएको छ,’ उनले भने, ‘अब देशभरका संस्थानमा दलीय आधारमा नभई वरिष्ठता, योग्यता र दक्षताका आधारमै पदाधिकारी नियुक्ति गर्नुपर्छ ।’ अनशनमा डा. केसीको स्वास्थ्यस्थिति नाजुक हँुदै गएपछि प्रधानमन्त्रीको निर्देशनमा सायमी डिन नियुक्त भएका हुन् । डा. सायमी टिचिङमा काडिर्यो थेरापिस्टका रूपमा कार्यरत छन् । डा. केसीले उपलब्ध गराएको १२ जना वरिष्ठ र योग्य चिकित्सकको सूचीमा सायमी पाँचौँ वरीयतामा थिए ।
डा. सायमीले बाध्यतामा संस्थानको डिन हुनुपरेको प्रतिक्रिया दिए । उनले संस्थान र अस्पतालमा वरिष्ठता, योग्यता र क्षमताका आधारमा सिस्टम बसाउनेतर्फ आफू लागिपर्ने बताए । संस्थामा विगतमा राजनीतीकरण अधिक भएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा संस्थाको गुणस्तरलाई दक्षिण एसिया तहको बनाउन कोसिस गर्ने बताए । करिब ३० वर्षदेखि संस्थानमा कार्यरत डा. सायमी १० वर्षअघि संस्थानमा प्राध्यापक भएका हुन् ।
माग पूरा भएलगत्तै टिचिङमा उपलब्ध चिकित्सक तथा डा.केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउने संस्थाका प्रतिनिधिले नैतिकताको जित भएको भन्दै खुसियाली मनाएका थिए ।
अस्पताल बन्द फिर्ता
डा. केसीको मागमा समर्थन गर्दै र उनको जीवनरक्षाका लागि ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक संघले आह्वान गरेको देशभरका अस्पताल बन्द कार्यक्रम फिर्ता भएको छ । नयाँ डिनको नियुक्तिलगत्तै संघले देशभरका स्वास्थ्य संस्था बन्दको कार्यक्रम फिर्ता लिएको हो । ‘नैतिकताको माग राखी अनशनमा बसेका डा. केसीको मागलाई समर्थन गर्दै र उनको ज्यान बचाउनका लागि गरिएको स्वास्थ्य संस्था बन्दको कार्यक्रम फिर्ता भएको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया