कोचिला राज्यमा दाहाल आलोचित

विराटनगर, ३ भदौ । एमाओवादी कोचिला राज्य समितिका पदाधिकारीले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्टि जनाएका छन् । शुक्रबार राज्य समितिले गरेको प्रशिक्षणमा सहभागी हुन आएका अध्यक्ष दाहाललाई पदाधिकारीलाई फकाउन हम्मे–हम्मे परेको थियो ।

पदाधिकारीले हालै गरिएको केन्द्रीय कमिटी विस्तारमा असन्तुष्टि जनाएका थिए । महाधिवेशन सम्पन्न गर्न गठन गरिएको केन्द्रीय कमिटीमा कोचिलाबाट वरिष्ठभन्दा कनिष्ठलाई स्थान दिइएको भन्दै असन्तुष्टि जनाउँदै आएकाले दाहालसँग निर्णय पुन:विचार गर्नसमेत माग गरेका थिए । उनीहरूले मनोनयनमा परेकाबाट मात्र पार्टीका गतिविधि सञ्चालन गर्न गाह्रो हुने चेतावनीसमेत दिएका थिए ।
प्रशिक्षणमा दाहाललाई केन्द्रीय समितिले पुराना कार्यकर्तालाई उचित सम्मान र स्थान दिन नसकेकामा ध्यानाकर्षण गराएको राज्य समिति सचिवालय सदस्य प्रकाश पौडेलले जानकारी दिए । ‘केन्द्रीय कमिटीको निर्णयका साथै केही सैद्धान्तिक विषयमा समेत हामीले अनौपचारिक रूपमा अध्यक्षको ध्यानाकर्षण गरायाँै,’ पौडेलले भने, ‘अध्यक्षले यस विषयमा पुन:विचार गर्ने आश्वासन दिनुभएको छ ।’ उनले केन्द्रीय कमिटीमा को व्यक्ति परे भन्ने विषयमा आफूहरूको विरोध केन्द्रित नभएको पनि प्रस्ट पारे । निर्णय पुन:विचार नगरिए पार्टीमा संघर्ष चलाउने पौडेलको भनाइ छ ।
प्रशिक्षण कार्यक्रममा यस विषयमा खासै चर्चा नभए पनि अनौपचारिक रूपमा उनीहरूले अध्यक्षसँग केन्द्रीय कमिटी विस्तार र कोचिला राज्यका विषयमा प्रस्ट धारणा सार्वजनिक गर्न माग गरेपछि अध्यक्ष दाहालले आफू सकारात्मक रहेको बताएका थिए । उनले केन्द्रीय कमिटी विस्तारपछि बैठक नबसेकाले थप निर्णय गर्न नसकेको स्पष्टीकरण दिएका थिए । केही साथीलाई समेट्ने भन्नेबारे पुनर्विचार गर्ने भनिसकेको भन्दै अध्यक्ष दाहाल प्रशिक्षणमा झर्केका थिए । दाहालको भनाइ उद्धृत गर्दै उनले भने, ‘यस विषयलाई पटक–पटक नउठाउनुहोस्, केही साथी बनिबनाउ र सजिसजाउ कुरा गरेर पार्टीको मूल स्पिरिटलाई बिर्संदै हुनुहुन्छ ।’ अध्यक्ष दाहालले चित्त नबुझे काठमाडौं आउन वा उपाध्यक्षसहित आफू कोचिला राज्य समितिकै बैठकमा सहभागी भएर छलफल गर्न तयार रहेको भनेर असन्तुष्टहरूलाई सम्झाएका थिए ।
कोचिला राज्य समिति सदस्य डम्बर सुवेदीले प्रशिक्षणमा मनोनयनबारे कुरा नउठे पनि अध्यक्ष दाहालसँग अनौपचारिक रूपमा छलफल भएको बताए । उनले भने, ‘हामी निरन्तर छलफलमा छौँ । पार्टीले यसलाई पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो माग हो, माग पूरा नभएसम्म निरन्तर छलफल गरिरहन्छौँ ।’
मोरङबाट लक्ष्मी पौडेल, टंक गिरी, सुनसरीका डम्बर सुवेदी, झापाका झलक दर्लामीलगायत पुराना कार्यकर्तालाई केन्द्रीय कमिटीमा मनोनयन नगरी नयाँ र पार्टीमा कम योगदान दिएलाई केन्द्रीय कमिटीमा चयन गरिएको भन्दै उनीहरूले केन्द्रीय कमिटीको निर्णयको विरोध गर्दै आएका छन् । उनीहरूले त्यसअघि कोचिला राज्य समिति इन्चार्ज गोपाल किराती र पूर्वाञ्चल ब्युरो प्रमुख गिरिराजमणि पोखरेलसँग पनि असन्तुष्टि पोखेका थिए ।
केन्द्रीय कमिटीमा मनोनीत मोरङ इन्चार्ज शिवकुमार मण्डलले भने आफूले पहिल्यैदेखि केन्द्रीय कमिटीको सदस्यको जिम्मेवारी सम्हालिसकेको बताए । पार्टीले उत्पीडित वर्ग, जाति समूह, महिला र मधेसीलाई वरिष्ठताका आधारमा समेट्ने भन्ने पार्टीको मूल स्पिरिट भएको भन्दै अध्यक्ष दाहालले सोहीअनुसार कुरा गरेको उनले बताए । उनले नसमेटिएकाबाट पनि पार्टी चल्ने ग्यारेन्टी नभएको बताए । मण्डलले भने, ‘पार्टीभित्र विश्वासको संकट पैदा भएको हो, उपेक्षित, वर्ग जाति समुदायको नेतृत्व स्वीकार गर्न नसकेको हो ।’ पार्टीको निर्णयप्रति उपेक्षित, वर्ग, जाति, समुदायको पूर्ण समर्थन रहेको उनको भनाइ थियो ।
दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी गठनलगत्तै एकीकृत माओवादी मोरङका सह–इन्चार्ज गणेश उप्रेतीलगायतले सुनसरीको इटहरीमा छुट्टै भेला गरेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलसमेत गरेका थिए । गोप्य भनिएको बैठकमा केन्द्रीय कमिटीमा मनोनयनमा परेकाहरू भने सहभागी थिएनन् । उनीहरूले त्यसपछि काठमाडौं पुगेर पनि अध्यक्ष दाहालको ध्यानाकर्षण गराइसकेका थिए । कोचिला राज्य समितिबाट शिवकुमार मण्डल, धर्मशीला चापागार्इं, गोपी अछामी, मुकेश मेयाङ्बो, रोजिना चौधरी, गणेश नेपाली, पूर्णसिंह राजवंशी, गोपाल किराती र कुमार पौडेलसमेत नौ केन्द्रीय कमिटीमा समेटिएका छन् ।
सरकार अनन्तकालसम्म : दाहाल
राजविराज : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानविरोधी शक्तिका हातमा कुनै पनि हालतमा सरकारको नेतृत्व नदिने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ सिरहाले शनिबार लहानमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले राजनीतिक दलमा सहमतिको विकल्प नभएको बताउँदै सहमतिविना चुनाव हुन नसक्ने उल्लेख गरे । सहमति पनि नबन्ने र चुनाव पनि हुन नसक्ने अवस्था कायमै रहे कामचलाउ सरकारले अनन्तकालसम्म सरकारको नेतृत्व लिने दाहालले दाबी गरे ।
सेना समायोजनमा देखाएको लचकताबाट डराएका अदूरदर्शी केही पार्टीले शान्ति र संविधानसमेत एमाओवादीको नेतृत्वमा सम्पन्न भए वर्षौंसम्म राजनीतिमा आफ्नो वर्चस्व कायम गर्न नसकिने सोचले उनीहरूकै षड्यन्त्रका कारण संविधानसभा भंग भएको दाहालले बताए । मधेसी, दलित, जनजाति, पछाडि पारिएका नेपाली जनमतको पक्षमा बन्न लागेको संघीय संविधान बन्न नदिने शक्तिलाई सरकारको जिम्मा दिए देशमा ०१७ साल दोहोरिने उनको तर्क छ ।
‘सेना समायोजनबाट माओवादी जनता र अन्तर्राष्ट्रिय समुदायको नजरमा प्रसिद्ध भयो, संविधान पनि बने दाहाल बाँचुन्जेल छुन सकिँदैन भनेर केपी ओली र सुशील कोइरालाबीच सल्लाह भएरै संविधान नबनेको हो,’ दाहालले भने, ‘मलाई यो कुरा अशोक राईले सुनाएका थिए ।’ १४ जेठमा म्याद थप्ने कुरामा सबै दल सहमत देखिए पनि कोइरालाले भाँडेको उनको तर्क थियो । कोइरालाप्रति आक्रामक रूपमा प्रस्तुत भएका दाहालले अहिलेसम्म पनि उनैले भाँडभैलो मच्चाइराखेको आरोप लगाए ।
दलहरू सहमति गर्न तयार नभएकै कारण आºनो नेतृत्वमा लोकतान्त्रिक, गणतान्त्रिक मोर्चा गठन गरी सहमतिको प्रयासमा लागेको दाहालले दाबी गरे । मोर्चासँग डराएर तिल्मिलाएका कांग्रेस तथा एमालेका नेता बर्बराउन थालेको आरोप उनले लगाए । (सौस)

प्रतिक्रिया